राष्ट्रपतिले आफैँले व्यहोर्न भनिएको उपचार खर्च राज्यकोषबाट बेहोर गर्ने

राष्ट्रपतिले आफैँले व्यहोर्न भनिएको उपचार खर्च राज्यकोषबाट बेहोर गर्ने

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार २० गते बुधबार ०६:१८

राष्ट्रपतिको सचिवालयले आफैँ बेहोर्ने भने पनि राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरूको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ सरकारले बेहोर्ने निर्णय भएको छ ।

त्यो बेला राष्ट्रपतिले उपचार खर्च आफैले बेहोर गर्ने वक्तव्य जारी भएपछि आलोचना मत्थर भएको थियो ।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख ६ गतेदेखि १७ गतेसम्म भारतको दिल्लीमा उपचार गराएको खर्च उहाँ आफैँले व्यहोर्न चाहनु भएको भन्दै सार्वजनिक गरिए पनि उक्त रकम दिनका लागि अर्थ मन्त्रालयमा ताकेता गरिएको छ । सो उपचार खर्चबारेमा प्रश्न उठ्न थालेपछि राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले गत वैशाख १९ गते उपचार खर्च आफैँले व्यहोर्न चाहेको विज्ञप्तिमार्फत सार्वजनिक गर्नु भएको थियो ।
राष्ट्रपतिको सचिवालयले आफैँ बेहोर्ने भने पनि त्यस क्रममा भएको ५५ लाख खर्च निकास गर्न परराष्ट्र मन्त्रालयमार्फत अर्थमा तोकेता गरिएको छ र अर्थले पनि रकम स्वीकृत गरेको पाइएको छ । सो रकम राष्ट्रपति पौडेलको ११ दिनसम्म देश बाहिर बसेर गरिएको खर्च हो ।
त्यो बेलामा राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको थियो, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरूको सुझावअनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भएको सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा विदितै छ । उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्ले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’
राष्ट्रपतिले उपचार खर्च आफैले बेहोर गर्ने आसयको वक्तव्य जारी भएपछि राष्ट्रपतिका बारेमा हुँदै आएको सो सम्बन्धि आलोचना मत्थर भएको थियो । तर यतिबेला सरकारले नै उक्त रकम तिर्ने निर्णय गरेको खुल्न आएको छ ।
मन्त्रिपरिषदको असार १२ गते सम्पन्न बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो । राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरूको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ सरकारले बेहोर्ने निर्णय भएको खुलासा भएको छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यस अनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले बताउनु भयो ।
राष्ट्रपति पौडेललाई उपचार गर्न गत वैशाख ६ गतेदेखि १७ गतेसम्म श्री एयरलाईन्सको चार्टर एयर एम्बुलेन्सको उडान मार्फत भारतको नयाँ दिल्लीमा लगिएको थियो । राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार गरिएको थियो ।
राष्ट्रपति पौडेलको उपचारका लागि भएको कुल खर्चमध्येको ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँको विल भरपाई अर्थमा पेस गरिएको परराष्ट्रले जनाएको छ ।

प्रकाशित मिति २०८० असार २०, बुधबार ०६:१८ गते
हजुरको प्रतिक्रिया