
काठमाडौं– ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबका सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका छन् । सुवाललाई बालुवाटारबाट असार २१ गते साँझ पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको हो ।
एलओडीमा गएकी एक नाबालिगलाई ललितपुर लगेर बलात्कार गरेको प्रकरणलाई लिएर ललितपुर प्रहरीले उनलाई पक्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले जानकारी दिनु भयो । उहाँका अनुसार उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको र उक्त नाबालिगको बलात्कार भएपछि सुवाल पक्राउ परेका हुन् ।
एसएसपी शाहका अनुसार उनलाई काठमाडौं प्रहरीलाई बुझाउने तयारी गरिएको छ । उहाँले भन्नुभयो, ‘घटना काठमाडौंमै भएकाले भोलि उतै पठाउँछौँ ।’
यसअघि आजै नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा पोखरा घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला रहेको प्रहरी भनाइ छ ।
एलओडी क्लब गएकी १६ वर्षीया बालिकालाई ललितपुर लगेर बलात्कार गरेको घटना ३० जेठमा सार्वजनिक भएको थियो । शाहका अनुसार जेठ ३१ गते बिहान बागडोलस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कोइरालाले बयानमा भने पीडित नाबालिग नभई उमेर पुगेको युवती भएको दाबी गरेका छन् । १८ बर्षभन्दा तलको कसैलाई पनि क्लबमा प्रवेश नै नपाउने बताउँदै पीडित नाबालिग नरहेको उनले बयानमा बताएको प्रहरी स्रोतले बताएको छ ।
‘एलओडी’ विश्वको ४९ औं उत्कृष्ट क्लब ः
‘एलओडी’ क्लब चार वर्षअघि स्थापना भएको हो । क्लब ९ हजार ६ सय स्क्वायर फिटमा निर्माण भएको छ । एकसाथ २५ सय मानिस अट्न सक्ने क्लबको क्षमता छ । क्लबमा करिब डेढ सय कर्मचारी कार्यरत छन् ।
केही समय अघि क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औं स्थानमा परेको हो ।
‘एलओडी’ यसअघि सन् २०२२ का लागि सय क्लबले ५२ औं स्थानमा प्रवेश पाएको थियो ।
एलओडी डिजे म्याग टप १०० को छनौट भएर ४९औं स्थानमा पर्न सफल भएको क्लबका निर्देशक भुपेन शमशेर कुँवरले बताएका थिए । उनका अनुसार क्लबसँगै राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भएको छ । सो क्याम्पियनमा पाँच सय क्लब सहभागी भएका थिए ।
गुणस्तरीय सेवा सुविधाहरू साथै आधुनिक प्रविधि, जीवन्त वातावरण र गुणस्तरीय संगीतले आकर्षण गर्दै आएको एलओडी निरन्तर रूपमा क्लबिंग अनुभव रोमाञ्चक बनाउन अघि बढ्दै गएको पाईन्छ । रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई क्लबले आकर्षण गरेको छ ।
त्यही क्लबले यतिबेला भने बदनामी कमाएको छ ।
प्रकाशित मिति २०८० असार २१, बिहीबार २१:५४ गते