
रुपन्देही– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले रास्वपाले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु हुँदैन कहिल्यै नभनेको र भन्ने बताउनु भएको छ । रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भैरहवामा सुरु भएको प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले असार २३ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले जनताका मुद्दालाई सदैव पहिलो प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु हुँदैन भनेर रास्वपाले कहिलै नभनेको दाहोर्याउनु भयो । के कुराका विरोध गर्ने र के कुरा विरोध नगर्ने भन्नेमा रास्वपा स्पष्ट रहेको समेत बताउँदै उहाँले रास्वपाले कुनै दलसँग गठबन्धन गर्न जरुरी नरहेको बताउनु भयो । उहाँले जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरु सधैँ तयार रहेको बताउँदै विगतको निर्वाचनमा भएभरका पार्टी एकजुट हुँदा पनि रास्वपाले एक्लै लडेर राम्रो नतिजा ल्याएको स्मरण गर्नु भयो । रास्वपा मिटरब्याज पीडितको पक्षमा रहेको र आगामी बैठकमा यसबारे आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
अर्को एक प्रसङ्गमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक– पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिबारे संसदमा जवाफ माग्ने बताउनु भयो । उहाँले नेपालका प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्ति अनुचित भएकाले जनतालाई प्रष्ट पार्नुपर्नेमा उहाँको जोड थियो ।
उहाँले भन्नुभयो, ‘नेपाली जनताले निर्वाचित गरेर पठाएको मान्छेलाई नेपाली जानताले भोट हालेको, नेपाली जनताले प्रधनमन्त्री बनाएको, हाम्रो हस्ताक्षर छ, भारतले प्रधानमन्त्री बनायो ? कोही एउटा भारतको मान्छे प्रधानमन्त्री बनाउन हिँड्यो भन्ने अभिव्यक्ति दिँदा हामीले प्रधानमन्त्रीको जवाफ माग्न सकिँदैन, हामी जवाफ माग्छौं ।’
उहाँले असार २० गतेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध भएपछि मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित हुन सकेन । त्यही कारण हाल उक्त अध्यादेश निष्क्रिय भएको छ ।
सरकारले नै अन्तिम दिनमात्र विधेयक ल्याएकाले मिटरब्याजसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक रोकिएको उहाँको दाबी छ । रविले सत्तारुढ दलका कयौं नेता र उनका आफन्त मिटरब्याजमा संलग्न भएको आशंका भइरहेका बेला सरकारले नै अन्तिम दिन विधेयक ल्याएर पारित नगर्ने जाल रचेको हुन सक्ने आशंका गर्नुभयो ।
रास्वपा अध्यक्ष रविले आफूहरूका कारण उक्त अध्यादेश निष्क्रिय भएको भन्न मिल्दैन भन्नुभयो । उहाँले सभामुखको भूमिका उचित नभएको टिप्पणी गर्दै प्रधानमन्त्रीको स्पष्टीकरणपछि संसद सञ्चालन हुने आशा व्यक्त गर्नु भयो ।
पूर्वगृहमन्त्रीसमेत रहेका रविले भन्नुभयो, ‘जुन दिन पास नभए त्यो जिरोमा जान्छ, त्यही दिन लगेर सरकारले गर्न खोजेको के हो ? यसमा प्रश्न खडा हुन सक्छ, ६० दिनको समयसीमा भएको यो विषयलाई सरकारले अन्तिम दिन, कुनै पनि विषय आउन सक्छ, कुनै दलले अवरुद्ध गराइदिन सक्छ, कुनै विपत्ति आउन सक्छ, तर त्यस्तो महत्वपूर्ण कुरा अन्तिम दिन लगेर सरकार आफैंले ‘।’
सभापति रविले अहिले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषयमा केही काम गरेको तर त्यो पर्याप्त नभएको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचारसम्बन्धी अहिले अनुसन्धान भएका र टुंगोमा नपुगेका वा कसैलाई उन्मुक्ति दिएका फाइल २०८४ मा रास्वपाले सरकारको नेतृत्व गरेपछि ठेगान लगाएरै छाड्ने दावी समेत गर्नु भयो ।
‘अहिले हामी संसद्मा दह्रो र खरो भएर उभिएका छौँ ।’ उहाँले भन्नुभयो, ‘नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौँ, जनताको आदेशअनुसार काम गर्छौँ ।’ विसं २०८४ मा हुने निर्वाचन हाम्रो पार्टीको अर्जुनदृष्टिमा रहेको छ’, त्यो निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै सभापति लामिछानेले निर्वाचनमा जित हासिल गर्न अहिलेदेखि नै लागिएको बताउनु भयो । उहाँले भष्टचारको अन्त्य गर्न खबरदारी गरिरहेकोे स्मरण गर्नुभयो ।
एमालेले विकल्प दिएर मात्र प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ : महामन्त्री ढकाल
रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले एमालेले विकल्प दिएर मात्र प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने बताउनु भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’को अभिव्यक्तिका आधारमा नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागे पनि रास्वपाले राजीनामा नमागेको स्पष्ट्याउँदै आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीले सहयोग गरेको भनेर दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री ‘प्रचण्ड’ले स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो ।
एमालेलाई काँग्रेससँग मिलेर सरकार बनाउन पनि सुझाव दिदै उहाँले यो कुरा एमालेले बुझ्नुपर्छ भन्नु भयो । प्रधानमन्त्री राजीनामा माग्दा विकल्प दिनुपर्छ नत्र राजीनामा माग्न हुँदैन भन्नुभयो । उहाँले २०७९ को निर्वाचनको जनमत र जनादेश पनि यही हो ।’ पुराना पार्टीहरूले सरकार चलाउनुपर्ने र रास्वपा प्रतिपक्षमा बस्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले काँग्रेस–एमाले मिल्दा पनि माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नभएको दाबी गरे । ढकालले भने, ‘माओवादी सरकारमा टाँसिरहन्छ । काँग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने हो भने रास्वपा प्रतिपक्षमा बस्छ ।’
प्रदेशप्रति रास्वपाको विमति नरहे पनि यति धेरै सांसद र मन्त्री स्वीकार्य नरहेको ढकालले स्पष्ट्याउँदै प्रदेश सरकार भनेको धेरै सांसद र मन्त्री मात्रै हुनु भन्ने नरहेको उल्लेख गर्नुभयो ।
केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले रास्वपालाई जनताले दिएको विश्वासलाई पूरा गर्न लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, पूर्वमन्त्री शिशिर खनालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई जनताले विजयी गराउने विश्वास व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति २०८० असार २४, आईतवार ०७:४० गते