
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह आजदेखि आफू तारिखमा रहेका जानकारी दिनु भएको छ । सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त भएपछि मेयर साहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारिखमा रहेको असार २४ गते उल्लेख गर्नु भएको हो ।
मेयर बालेनले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै प्रधानमन्त्रीले छुट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।’
पाटन उच्च अदालतले ‘आदिपुरुष’ फिल्म चलाउन आदेश दिएपछि असार ७ गते साहले अदालतको आदेश नमान्ने भन्दै दिनु भएको अभिव्यक्तिका आधारमा उहाँलाई तारेखमा राखिएको हो । उहाँले प्रधानमन्त्रीले भारतले देशको प्रधानमन्त्री बनायो भन्दा छुट पाएको भन्दै आक्रोश समेत पोख्नु भएको छ ।
मेयर साहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिनु भएपछि अधिवक्ता द्वय कीर्तिनाथ शर्मा पौडेल र वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराउनु भएको हो ।
मेयर साहलाई सर्वोच्च अदालतले असार १२ गते सात दिनभित्र लिखित जवाफ लिएर आफैँ अदालतमा हाजिर हुन आदेश दिएको छ ।
मेयर बालेनले बलिउड फिल्म ‘आदिपुरुष’ समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गर्नु भएको थियो ।
मेयर साहको सो घोषणाका विरुद्धमा चलचित्र संघले उच्च अदालत पाटनमा दायर गरेको रिटमा अदालतले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
बालेन आज सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाउनु भएको हो ।
प्रकाशित मिति २०८० असार २४, आईतवार २१:३१ गते