मनाङ एयर दुर्घटना : मौसमका कारण दुर्घटनास्थल पुग्न सकेनन् शव लिन गएका हेलिकप्टर

मनाङ एयर दुर्घटना : मौसमका कारण दुर्घटनास्थल पुग्न सकेनन् शव लिन गएका हेलिकप्टर

एजेन्सी

@antaranganews

२०८० असार २६ गते मङ्गलबार ०५:२६

मनाङ एयरका पाइलट गुरूङ लमजुङमा जन्मिएका हुन् । उनी केही वर्षदेखि ललितपुरस्थित भैंसेपाटीमा बस्दै आएका थिए । उनको परिवारका सदस्यहरू बेलायतमा बस्छन् ।

५ जना विदेशीसहित ६ जनाकै मृत्यु

काठमाडौँ– मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छजनाकै मृत्यु भएको छ । बिहान १०ः०४ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको ‘नाइन एनए–एमभी’ हेलिकप्टर १०ः१२ बजेदेखि असार २६ गते सम्पर्क विहीन रहेको थियो ।
सो हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके– ५ लामाजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । हेलिकोप्टर दुर्घटना भएपछि स्थानीयले सोलु प्रहरीलाई खबर गरेका थिए ।
हेलिकोप्टरमा सवार मेक्सिकन नागरिक पाँचजना तथा एक नेपाली पाइलटको शव फेला परेको जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बले जनाएको छ । प्रशासन कार्यालयका अनुसार सम्पर्कविहीन रहेको हेलिकोप्टर ११ः२४ मिनेटमा लामजुरा पास नजिकै देउराली भञ्ज्याङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
हेलिकोप्टर पाइलट चेतबहादुर गुरुङले चलाएका थिए । उनी विदेशमा समेत हेलिकोप्टर चलाएर अनुभवी भएको बताइन्छ । उक्त हेली सधैं उड्ने रुटमा नै आएको र्याडरमा देखिएको बताइएको छ ।
पाइलट गुरूङ लमजुङमा जन्मिएका हुन् । उनी केही वर्षदेखि ललितपुरस्थित भैंसेपाटीमा बस्दै आएका थिए । उनको परिवारका सदस्यहरू बेलायतमा बस्दछन् ।
सो दुर्घटनामा परेका मेक्सिकन नागरिकहरू हुन्– १. स्माइल फर्नादो सिफुन्टेस गोन्जालेज, २.स्माइल सिफुन्टेस रिन्कोन, ३. लुज मारिया गोन्जालेज ओलासिओ, ४. मारिया जोस सिफुन्टेस गोन्जालेज र ५.अब्रिल अजेनेथ सिफुन्टेस गोन्जालेज ।
उनीहरू १५ दिनको भिजिट भिसा लिएर नेपाल आएको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार ती मृतकहरू सबै मेक्सिकोको एउटै परिवारका भएको बताइएको छ । उनीहरूमध्ये दुई जना आमा–बुवा र तीन जना छोराछोरी हुन् । जसमा तीन जना महिला र दुई पुरूष थिए ।
स्थानीय जीवन विकले हेलिकप्टर गुरासको बुट्टानमा ठोक्किएको देखेको सोही स्थानमा होटल व्यवसायीलाई फोन सम्पर्कमार्फत् बताएका थिए ।
पाइलट गुरूङ ५४ वर्षका थिए मनाङ हेलिकप्टरका सञ्चालक मुक्ति पाण्डेले बताउनु भयो । उहाँका अनुसार चेतबहादुर गुरूङ सिनियर पाइलट हुन् । गुरूङले हिजो मात्र काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ बजे पाँच जना मेक्सिकनलाई लुक्ला लिएर गएका थिए ।
ती मेक्सिकन ‘माउन्टेन फ्लाइट’का लागि गएका थिए । उनीहरू आज बिहान ६ बजे माउन्टेन फ्लाइटका लागि निस्केका थिए ।
मौसमका कारण दुर्घटनास्थल पुग्न सकेनन् शव लिन गएका हेलिकप्टर :
यसैबीच, मनाङ एयर हेलिकप्टर दुर्घटनामा परेकाहरूको शव लिन गएका दुई हेलिकप्टर दुर्घटनास्थलमा पुग्न नसकेका सोलु प्रशासनले जनाएको छ । प्रशासनका अनुसार खराब मौसमका कारण लिखुपिके गाउँपालिका– ५ लामजुरा डाँडास्थित दुर्घटनास्थलमा अल्टिच्युट एयरको दुईवटा हेलिकप्टर पुग्न नसकेको हो ।
‘उनीहरूको चार दिन अघि अर्थात असार २४ गते दिल्लीबाट एयर इन्डियाको जहाजमा काठमाडौं आएका र हिजो लुक्ला गएका थिए ।’ अध्यागमनका एक अधिकारीले भने ।
उनीहरू हिजै लुक्लाबाट माउन्टेन फ्लाइट गरेर काठमाडौं फर्किने योजनामा थिए तर मौसमले साथ दिएन ।
मेक्सिकनहरू भोलि २७ गते दिल्ली फर्किने योजनामा थिए ।
दुर्घटनाबारे दिल्लीस्थित मेक्सिकन राजदूतावासलाई रिपोर्टिङ गरिरहेको र समन्वय गरेर शव पठाउने तयारी गरिएको अध्यागमनका अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति २०८० असार २६, मंगलवार १७:२६ गते
हजुरको प्रतिक्रिया