काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले खोटाङको रावा बेसी गाउँपालिका– १ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई असार २६ गते बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बार्गेनिङ पछि फिरौती लिन आएको अवस्थामा गुरुङलाई २६ गते पक्राउ गरेको हो । प्रसाईले प्रहरीमा दिएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा अभियुक्तसम्म पुग्न सफल भएको हो । काठमाडौँको चुनदेबीमा बस्ने गुरुङलाई महाराजगन्जबाट सीआईबीको टोलीले पक्राउ गरेको हो ।
ती व्यक्तिले प्रसाईंसँग चन्दा भन्दै ३० करोड रुपैयाँ माग गरेको सीआईबी स्रोतले जनाएको छ । सो स्रोतका अनुसार प्रसाईंले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए ।
यसरी आएको थियो दुर्गालाई हत्या गर्ने धम्की ः
यसैबीच, ‘तपाईंको नाम २ नम्बरमा छ । ३० करोड नदिए अपहरण गरी हत्या गरिदिन्छु’, खोटाङ राहबेशी गाउँपालिका– १ राहबेशी स्थायी घर भएका रमेशकुमार गुरुङले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई यसरी पटक पटक धम्क्याएका थिए ।
यतिमात्रै होइन गुरूङले प्रसाईँको हत्या गर्नका लागि योजना बनिसकेको हुँदा ज्यान बचाउने भए मागेको जति रकम दिन समेत दबाब दिइरहे ।
प्रसाईलाई धम्क्याउने क्रममा गुरुङले असार १३ गते साँझ ६ बजेर १२ मिनेटदेखि प्रवेश लामाको नामबाट पटक पटक फोन गरिरहे । फोन तथा पटक पटक एसएमएस समेत गरी गुरुङले ३० करोड रकम माग गरेको प्रहरीले जनाएको छ । धम्क्याउने क्रममा ‘हत्या गर्नको लागि योजना बनिसकेको छ । यदि सुरक्षित हुन चाहनु हुन्छ भने रकम दिनुपर्ने हुन्छ, डिमाण्डको रकम उपलब्ध गर्नु भयो भने तपाईंको जीवन बच्न सक्छ ।’
पक्राउ परेका गुरुङलाई आवश्यक अनुसन्धान कारवाहीको लागिप्रहरी वृत्त महाराजगन्ज पठाइएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक संजय सिंह थापाले बताउनु भयो । उहाँका अनुसार अभियुक्त विरुद्ध अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति २०८० असार २६, मंगलवार १७:५५ गते