भारत : केही वर्ष भित्रै दोस्रो ठूलो अर्थतन्त्र बन्ने तयारीतर्फ उन्मुख

भारत : केही वर्ष भित्रै दोस्रो ठूलो अर्थतन्त्र बन्ने तयारीतर्फ उन्मुख

एजेन्सी

@antaranganews

२०८० असार २८ गते बिहिबार ०४:५७

भारतको आर्थिक वर्ष २०२२÷२३ को पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन ६.१ प्रतिशतले वृद्धि भएको छ । जसले रोयटर्सको ५ प्रतिशतको वृद्धिको अपेक्षालाई उछिनेको छ । आर्थिक वर्ष २०२१–२२ मा ९.१ प्रतिशतको वृद्धिदर रहेकोमा सन् २०२२÷२३ मा ७.२ प्रतिशत रहने अनुमान गरिएको छ ।

भारत यतिबेला जर्मनी, जापान, चीन र अमेरिकापछिको पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक

नयाँ दिल्ली– भारतको लगानीसम्बन्धी कम्पनी गोल्डम्यान स्याक्सले सन् २०७५ सम्ममा जापान र जर्मनीलाई मात्र नभई अमेरिकालाई पनि उछिन्ने आंकलन गरिएएको छ । गोल्डम्यान स्याक्सले अबको ५० वर्षपछि भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने बताएसँगै असार २७ गते त्यस्तो खुलासा भएको हो ।
एस एन्ड पी ग्लोबल मार्केट इन्टेलिजेन्स र मोर्गन स्टेनलीले पनि भारत सन् २०३० सम्ममा तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेका छन् । भारत यतिबेला जर्मनी, जापान, चीन र अमेरिकापछिको पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक हो ।
भारतको आर्थिक वर्ष २०२२÷२३ को पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन ६.१ प्रतिशतले वृद्धि भएको छ । जसले रोयटर्सको ५ प्रतिशतको वृद्धिको अपेक्षालाई उछिनेको छ । आर्थिक वर्ष २०२१–२२ मा ९.१ प्रतिशतको वृद्धिदर रहेकोमा सन् २०२२÷२३ मा ७.२ प्रतिशत रहने अनुमान गरिएको छ ।
आगामी दुई दशकमा भारतको निर्भरता अनुपात क्षेत्रीय अर्थतन्त्रहरूमध्ये सबैभन्दा कम हुने गोल्डम्यान साक्स रिसर्चका भारतीय अर्थशास्त्री सान्तनु सेन गुप्ताले बताएका छन् । उनका अनुसार कुनै पनि देशको परनिर्भरता अनुपात कुल कामकाजी उमेरको जनसंख्याको तुलनामा आश्रितहरूको संख्याबाट मापन गरिन्छ । कम निर्भरता अनुपातले संकेत गर्दछ कि त्यहाँ आनुपातिक रूपमा अधिक काम गर्ने उमेरका वयस्कहरू छन् जसले युवा र वृद्धहरूलाई समर्थन गर्न सक्षम छन् । सेन गुप्ताले भने, ‘भारतको द्रुत गतिमा बढ्दो जनसंख्याको क्षमतालाई मापन गर्ने आधार भनेको यसको श्रम शक्तिको सहभागिता बढाउनु हो ।’
विश्वमै बढ्दो जनसंख्या, नवीनता र प्रविधिमा देशको प्रगति, उच्च पुँजी लगानी र कामदारको बढ्दो उत्पादकत्वको पूर्वानुमानलाई मूल्यांकन गर्दा भारतको अर्थतन्त्र बलियो हुने उक्त लगानी बैंकले हालैको एक रिपोर्टमा उल्लेख गरेको छ ।
गोल्डम्यान स्याक्सको विचारमा निजी क्षेत्रले उत्पादन र सेवामा क्षमता अभिवृद्धि गर्न र थप रोजगारी सिर्जना गर्न र ठूलो श्रम शक्तिलाई अघि बढाउने यो उपयुक्त समय हो। भारतको आर्थिक प्रगतिको लेखाजोखा प्रविधि र नवप्रवर्तनमा भइरहेको विकासलाई हेरेर गर्न सकिने लगानी बैंकले जनाएको छ । भारतको गैरसरकारी व्यापार संघ नासकमका अनुसार सन् २०२३ को अन्त्यसम्ममा भारतको प्रविधि उद्योगको आम्दानी २४५ अर्ब डलरले बढ्ने अनुमान गरिएको छ । यो वृद्धि आईटी, बिजनेस प्रोसेस म्यानेजमेन्ट र सफ्टवेयर प्रडक्ट स्ट्रिमबाट हुने नासकमको रिपोर्टले देखाएको हो ।
सेन गुप्ताका अनुुसार आगामी २० वर्षमा भारत ठूला अर्थतन्त्रहरूमध्ये सबैभन्दा कम परनिर्भरता अनुपात हुने अनुमान छ । उनी भन्छन्, ‘भारत सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । विशेषगरी सडक र रेलमार्गको स्थापनामा लगानी बढाएको छ । भारतको चालू आर्थिक वर्षको बजेटले पूर्वाधारमा लगानीलाई बढावा दिनको लागि राज्य सरकारहरूलाई ५० वर्षको ब्याज मुक्त ऋण कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।’
गोल्डम्यानले भनेजसो श्रमशक्ति सहभागिता दर आगामी दिनमा बढ्ने प्रक्षेपणमा भने शंका गर्ने ठाउँ छ । किनभने विगत १५ वर्षमा भारतमा श्रमशक्तिको सहभागिता दरमा कमी आएको छ । श्रमशक्तिमा महिलाको सहभागिता दर पुरुषको तुलनामा निकै कम छ । भारतमा काम गर्ने उमेरका महिलामध्ये २० प्रतिशतमात्र रोजगारीमा छन्, लगानी बैंकले गत जुनमा जारी गरेको एक छुट्टै प्रतिवेदनमा उल्लेख गरिएको छ । भारतीय महिलाहरू प्रायः सानातिना काममा संलग्न हुने हुँदा ती कामको हिसाब औपचारिक रोजगारीमा राख्न नसकिने देखिन्छ ।
त्यसबाहेक, गोल्डम्यानले पुँजी लगानी भारतको विकासको अर्को महत्त्वपूर्ण चालक हुने प्रक्षेपण गरेको छ । गोल्डम्यानको रिपोर्टमा भनिएको छ, ‘भारतको बचत दर, घट्दो निर्भरता अनुपात, बढ्दो आय र बृहत् वित्तीय क्षेत्रको विकासको साथ बढ्ने सम्भावना छ, जसले थप लगानीलाई बढावा दिई पुँजीवृद्धि गराउने सम्भावना छ ।’
गोल्डम्यानका अनुसार कुल निर्यातले पनि भारतको आर्थिक वृद्धिमा असर पारेको छ, किनभने भारतमा चालू खाता घाटामा छ । यद्यपि, सेवा निर्यातले चालू खाताको सन्तुलनलाई मद्दत गरिरहेको उल्लेख गरेको छ । गोल्डम्यानको रिपोर्टअनुसार भारतको अर्थव्यवस्था घरेलु मागबाट सञ्चालित छ । भारतको आर्थिक वृद्धिको ६० प्रतिशत घरेलु खपत र लगानीबाट सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति २०८० असार २८, बिहीबार ०४:५७ गते
हजुरको प्रतिक्रिया