बेसीशहर– लमजुङमा कोरा साइकल च्यालेन्ज दौड सम्पन्न भएको छ । लमजुङको सुन्दरबजार नगरपालिकाबाट शुरु भएको कोरा साईकल च्यालेन्ज जिल्ला सदरमुकाम बेसीशहरमा आएर समापन भएको हो । कोरा साइकल च्यालेन्ज दौड लमजुङ साइकल संघको व्यबस्थापन तथा सोसल टुर्स, साईकल सिटी नेटवर्क नेपाल, प्यानग्रो एन्ड ग्रीन वे नेपाल काठमाडौंको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो ।
सुन्दरबजार नगरपालिका– ६ को मिलनचोकबाट विहान ८ः३० बजे शुरु भएको कोरा साइकल च्यालेन्जको सो प्रतियोगिता जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ८ को भीमसेनस्थान चोकमा साँझ ५ बजे आएर समापन गरिएको आयोेजक च्यालेन्ज काठमाडौं लमजुङका संयोजक एवम् लमजुङ साईकल संघका सदस्य सञ्जित घिमिरेले बताउनु भयो । उहाँका अुनसार सो अवसरमा प्रतियोगिहरूलाई ३८ किलोमिटर दुरी पार गर्न लगाइएको थियो । उहाँले भन्नुभयो, ‘यो दौड पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण, नयाँ पुस्तालाई साइकल चढ्नु पर्छ भन्ने सन्देश दिदै सचेतना जागृत गर्न र लमजुङका धार्मिक स्थलको समेत प्रचारका लागि गरिएको हो ।’
सुन्दरबजारबाट सुरु भएको सो साइकल दौड सोही नगरपालिका– ८ को भोटेओडार हुँदै दोर्दी गाउँपालिका– १ को बेलाघारी, सोही पालिका– २ को अर्चलबोट, वडानं– ३ हुँदै दोर्दी गाउँपालिकाको केन्द्र नौथर सेरामा पुगेको थियो । सो टिमलाई सोही गाउँपालिकाले विहानको खानाको प्रवन्ध गरेको थियो । खाना पछि सो टोली त्यहाँबाट बेसीशहर नगरपालिका– ११ को रामचोक बेसी हुँदै सोही नगरपालिका– १ को उदीपुर कालिका, फलियाँ साँघु, वडानं– २ को तालबाराही हुँदै वडानं ३ को बोहराबेसी, रानी कुवा, मजुवा खोलाबाट सोही नगरपालिका– ८ को सेरा चोक हुँदै भीमसेन स्थानमा पुगेर समापन कार्यक्रममा सहभागी भएको कोरा च्यालेन्ज काठमाडौं लमजुङका संयोजक एवम् लमजुङ साईकल संघका सदस्य सञ्जित घिमिरेले बताउनु भयो । उहाँका अनुसार उक्त कार्यक्रममा सहभागी हुनका लागि रजिष्ट्रेशन गरेका ३३ जनाले भाग लिएका थिए ।
कोरा च्यालेन्जको यस वर्षको नारा ‘अब हाम्रो पालो’ भन्ने रहेको थियो सो दौडका संयोजक घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार केही मानिसहरू आफू खुशी पनि दौडमा सहभागी हुन आएका थिए । ‘दौडका सहभागीहरू सबै लमजुङमा मात्र हुन् ।’ उहाँले भन्नुभयो, ‘च्यालेञ्जमा रजिष्ट्रेशन हुने धावकहरूका लागि हिमालयन लाईफ इन्स्योरेन्सले चोटपटक लागेमा एक लाख बराबरको बीमा गरिदिएको थियो ।’ साईकल च्यालेञ्ज कुनै प्रतियोगिता नभएर एउटा निश्चित दुरीमा गरिने र तोकिएको निश्चित दुरी पार भइसकेपछि समापन कार्याक्रममा सहभागीहरूलाई प्रोत्साहनका लागि मेडल र प्रमाणपत्र वितरण गरिएको उहाँको भनाई छ । उहाँका अनुसार सो कार्यक्रममा तीन पालिकाहरू सुन्दरबजार, दोर्दी र बेसीशहरका साथै नमस्ते थकाली कचिन, लमजुङ जिल्ला अस्पताल, बरण्डा मेट्रो लगायतको सहयोग प्राप्त भएको थियो ।
कोरा भन्नाले तिब्बतीयन भाषामा कुनै पनि धार्मिक स्थलमा परिक्रमा गर्नु भनेर बुझिन्छ । सन २०११ मा पहिलोपटक ३५ जना साईकललिस्टहरू मिलेर ५० किलोमिटरको प्रति किलोमिटर एक सय रुपैयाँका दरले उठाएर सो रकम सामुदायिक कार्यमा सहयोग पुर्याएका थिए । त्यसपछि प्रत्येक बर्ष कुनै न कुनै नाराका साथ सञ्चालन हुँदै आएको संयोजक घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार यस्तो दौड प्रतियोगिता लमजुङ सहित मुलुकका १८ जिल्लामा सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो, ‘लमजुङका सहभागीहरू यही जिल्लाका मात्रै हुन् ।’
प्रकाशित मिति २०८० असार ३१, आईतवार २०:५५ गते