काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आउँदो फागुनमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ । त्यसका लागि आउँदो मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने भएको छ । रास्वपाले मंसिरमा वडा अधिवेशन सुरु गरेर विभिन्न तहको अधिवेशन पुस भित्र सक्ने साउन १ गते बताएको हो ।
आउँदो मंसिरबाट महाधिवेशनको थालनी हुनेछ, सुरुमा हाम्रो वडा अधिवेशन र त्यसपछि पालिका अधिवेशन हुने भएको रास्वापाका सहमहामन्त्री एवम् संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले बताउनु भयो । उहाँका अनुसार पालिका अधिवेशनले प्रदेश र केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छान्ने छ । पालिका भित्रका साधारण सदस्यले महाधिवेशन प्रतिनिधि छनोट गर्ने विधानमा व्यवस्था रहेको उहाँको भनाइ छ ।
रास्वपाको विधान अनुसार गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन, महानगरपालिकाबाट चार जनाका दरले महाधिवेशन प्रतिनिधि छनोट हुने व्यवस्था छ । यस प्रकार ७५३ पालिकाबाट १ हजार ६९ जना महाधिवेशन प्रतिनिधि छानिने छन् ।
सो प्रवधान अनुसार ६ वटा महानगरपालिकाबाट २४ जना, ११ वटा उपमहानगरपालिकाबाट ३३ जना, २७६ वटा नगरपालिकाबाट ५५२ जना र ४६० गाउँपालिकाबाट ४६० जना प्रतिनिधिको छनोट हुनेछ ।
रास्वपाले केन्द्रीय सभापतिको चयन पार्टी सदस्यबाटै गर्ने बताउने गरेको छ । तर पहिलो महाधिवेशनमा प्रतिनिधिबाट चयन गर्ने सम्भावना रहेको जानकारी दिदै उहाँले भन्नुभयो, ‘अहिलेसम्म प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि छुट्याइएको छैन । महाधिवेशन प्रतिनिधिले नै सम्बन्धित प्रदेशको नेतृत्व चयन गर्नुहुन्छ ।’ उहाँका अनुसार साधारण सदस्यले पनि भोट हाल्ने व्यवस्थाका लागि डिजिटल सिस्टम त्यति राम्रो बनिसकेको छैन । पहिलो महाधिवेशन भएकाले रास्वपाले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने छ । उहाँले भन्नुभयो, ‘हाम्रो स्प्रिट साधारण सदस्यको मतदानबाट सभापति चयन गर्ने भन्ने हो । तर डकुमेन्टमा महाधिवेशन प्रतिनिधिले चयन गर्ने भन्ने छ, सोही अनुसार नै नेतृत्व चयन गर्ने गरी अगाडि बढेका छौँ ।’
अधिकांश ठाउँमा सहमतिको खोजी गरिने बुर्लाकोटीले बताउनु भएको छ । तर, केन्द्रीय वा प्रदेश नेतृत्वबाट टीका लगाउने अभ्यास हुँदैन, पालिका र वडा तहमै रहेका साथीहरू बीच सहमतिको प्रयास हुन्छ उहाँले प्रष्ट्याउनु भएको छ । अहिले पनि सोही नीति अनुसार नै वडा र पालिका कमिटी निर्माण भइरहेका छन् उहाँको भनाइ छ ।
वडा अधिवेशनका लागि एक महिना राखेर पालिका अधिवेशन प्रारम्भ गर्ने तयारी छ । त्यसपछि प्रदेश अधिवेशनमा जाने काम हुन्छ होला बुर्लाकोटी बताउनु हुन्छ । उहाँका अनुसार पहिला सबै पालिकाको एक नम्बर वडाको अधिवेशन गर्न सामान्य खाका बनेको छ । त्यसैगरी अन्य वडाको पनि अधिवेशन हुने उनले बताए । ‘यसरी अधिवेशन गर्दा हामीलाई केही समय लाग्छ ।
असोजसम्म देशभरका सबै वडा र पालिकामा कमिटी गठन गरिसक्ने रास्वपाको लक्ष्य छ । पालिकासम्मै विभिन्न विभाग पनि राखिएका छन् ।
वडादेखि प्रवाससम्मै संगठन :
रास्वपामा वडा तहदेखि क्रमशः स्थानीय तह, संघ÷प्रदेश निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म प्रतिनिधि चुनिने व्यवस्था गरिएको छ । वडा र पालिका दुवैको आकार ११ सदस्यीय छ । आजसम्म करिब १ हजार वडामा संगठन विस्तार भइसकेको रास्वपाको दाबी छ ।
७५३ मध्ये करिब २९० पालिकामा समिति बनाइएको बुर्लाकोटी बताउनु हुन्छ । जसमा सभापति, उपभापति, सचिव, कोषाध्यक्षसहित सदस्य रहने व्यवस्था छ । पार्टी सदस्यहरूको भेलाबाट वडा र पालिका कमिटी गठन गर्ने गरिएको छ ।
पार्टीका सदस्यको भेला हुन्छ । पार्टीको समसामयिक विषयमा छलफल हुन्छ । त्यसपछि कमिटीमा बस्न इच्छुक साथीहरूले आवेदन दिनुहुन्छ, आवेदन दिनेको संख्या निर्धारित पदभन्दा धेरै भयो भने छलफल गरेर टुङ्ग्याइन्छ उहाँले भन्नुभयो । उहाँका अनुसार छलफलबाट कसै टुङ्गिने अवस्था नभए मात्र मतदानमा जानु पर्ने हुन्छ ।
पार्टी समिति चुन्दा ३३ प्रतिशत महिला र ५१ प्रतिशत ४५ वर्षमुनिका युवा हुनुपर्ने प्रावधान छ ।
१६५ मध्ये १५४ निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र समिति गठन भइसकेको रास्वपाले जनाएको छ । मुलुकका ७७ मध्ये ७४ जिल्लामा जिल्ला समिति बनेका छन् । डोल्पा, हुम्ला र रुकुम पश्चिममा जिल्ला संयोजक र सहसंयोजक तोक्न बाँकी रहेको बुर्लाकोटीको भनाइ छ । रास्वपाको जिल्लामा अन्य पदाधिकारी रहने व्यवस्था छैन तर निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति रहने छ ।
कर्णालीमा ३०, बागमतीमा ८०, सुदूरपश्चिममा ४०, कोशीमा ५७, मधेशमा ७७, लुम्बिनीमा ३६ र गण्डकीमा ४६ सदस्यीय प्रदेश समिति बनेको बुर्लाकोटीले बताउनु भयो । उहाँका अनुसार प्रदेशस्तरमा ३३ विभाग गठनको प्रक्रिया पनि सुरु भएको छ ।
प्रदेशभित्र रहेको निर्वाचन क्षेत्रको संख्या अनुसार प्रदेश समितिको संख्या यकिन गरेको छ । प्रदेश निर्वाचन क्षेत्रबाट अनिवार्य रूपमा प्रतिनिधि चयन हुने गरी संघीय निर्वाचन क्षेत्र समिति बन्छ । त्यही समितिका आधारमा प्रदेश समिति बनाउने रास्वपामा व्यवस्था छ ।
रास्वपामा १२१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ तर हाल ३९ जना केन्द्रीय सदस्यमात्र छन् । आउँदो केन्द्रीय कार्यसमिति बैठकबाट केन्द्रीय सदस्य थप्ने रास्वपाको तयारी छ । केन्द्रमा ३६ विभागको गठन र जिम्मेवारी बाँडफाँट भने भइसकेको छ ।
केन्द्रमा लेखा, अनुशासन, विवाद समाधान र निर्वाचन आयोग रहने व्यवस्था छ । त्यस्तै रास्वपाले विदेशमा पनि संगठन विस्तार गरिरहेको छ । प्रवासी नेपाली समन्वय विभागका रूपमा विभिन्न देशमा कमिटी गठन भइरहेका छन् । बुर्लाकोटीका अनुसार अहिलेसम्म मलेसिया, दुबई, कतार, साउदी, जापान, कोरिया, युके र अमेरिकामा विभाग गठन भइसकेका छन् । बाँकी देशमा पनि गठन हुने क्रममा छ ।
विदेशमा रहेकाहरूले आफ्नो पासपोर्ट अपलोड गरेर अनलाइनबाटै सदस्यता लिन सक्ने व्यवस्था गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार विदेशमा रहेका पार्टी सदस्यले पनि संगठनको आन्तरिक निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।
अहिलेसम्म साढे ३५ हजारले रास्वपाको सदस्यता लिसकेका छन् । २७ हजार ४३६ जना रास्वपाको साधारण सदस्य बनिसकेका छन् । सदस्यताका लागि डेढ लाखले दिएको आवेदन रुजुको प्रक्रियामा रहेको रास्वपाले जनाएको छ ।
प्रकाशित मिति २०८० श्रावण १, सोमबार ०८:५० गते