भूमि आयोगद्वारा मध्यनेपाल– ६– १० मा निस्सा अर्थात अस्थायी लालपूर्जा बितरण

भूमि आयोगद्वारा मध्यनेपाल– ६– १० मा निस्सा अर्थात अस्थायी लालपूर्जा बितरण

विराट न्यौपाने/अन्तरङ्ग

@antaranganews

२०८० साउन २ गते मङ्गलबार ०६:११

जिल्लामा मध्यनेपाल नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि निस्सा अर्थात अस्थायी लालपूर्जा वितरण कार्यमा सबैभन्दा पछि परेको थियो । अब भने सो कार्यले गतिलिने स्थिति सिर्जित भएको छ विश्वास गरिएको छ ।

सो नगरपालिकाका मेयर रमेशकुमार पाण्डेद्वारा निस्सा वितरण गर्दै आउँदो हिउँदसम्ममा लालपूर्जा बितरण गरिसक्ने प्रतिवद्धता व्यक्त

भोर्लेटार(लमजुङ)– मध्यनेपाल नगरपालिका– ६– १० का भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा अस्थायी लालपूर्जा बितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङले उहाँ आयोजित एक कार्यक्रमका बीच साउन २ गते सो कार्यक्रम गरेको हो ।
सो नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले निस्सा वितरण गर्नु भएको हो । उहाँले यो राम्रो काम रहेकोले छिटो भूमिहिन र अव्यवस्थितको व्यवस्थापन गर्ने पालिकाको पनि जिम्मेबारि भएकाले वडा अध्यक्षहरूलाई आ– आफ्नो वडा बाट प्रकृया पुरा गरी पालिकामा सिफारिस गरी पठाउन अनुरोध गर्नु भयो । मेयर पाण्डेले प्रतिवद्धताका साथ भन्नुभयो, ‘आयोगलाई पर्ने आवश्यक सहयोग हर बखत गरेर आउँदो हिउँदसम्ममा लालपूर्जा बितरण गरिसक्ने छौं ।’
सो अवसरमा राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले आयोगको गठन प्रक्रियादेखि आयोगको काम, कर्तव्य र अधिकारका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले आयोगले जिल्लाका विभिन्न पालिकामा आजका मितिसम्म गरेका कामको समेत फेहरिस्त सुनाउनु हुँदै के कस्ता व्यक्तिलाई नेपालको कानुन तथा कार्यविधिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका रुपमा परिभाषित गरेको छ भन्ने समेत प्रष्ट्याउनु भएको थियो । उहाँले ढाँटछलबाट लालपूर्जा लिन सकिन्छ भन्ने नसोच्न र त्यस्तो कार्य सफल भएको खण्डमा सम्बन्धित व्यक्तिलाई तीन वर्ष कैद र एकलाख रुपैयाँ जरिवाना गर्ने कानुनी व्यवस्था रहेको जानकारी दिनु भयो । उहाँले त्यस्तो झुठा विवरणलाई पनि सत्य हो भन्दै सिफारिस गर्ने वडाध्यक्ष, वडाको सहजिकरण समिति तथा पालिकाका अध्यक्ष एवम् मेयरलाई २५ हजार रुपैयाँ जरिवाना हुने समेत जानकारी दिनु भयो ।
उहाँले थप भन्नुभयो, ‘आयोगको काम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी र सम्बन्धित पालिकाका बीचमा सहजीकरण गर्दै पुलको काम गर्ने मात्र हो, यो जिम्मेवारी सबै स्थानीय तहको हो, त्यसैले सम्बन्धित वडाध्यक्ष र पालिकाका मेयर तथा अध्यक्षहरूको चासो, चिन्ता र सक्रियताका आधारमा यो कामले गति लिने हुन्छ ।’ हामी त त्यही कामका लागि खटिएका छौं कामका लागि सधैं तयार छौं अध्यक्ष अधिकारीले उल्लेख गर्नुभयो । निस्सा पाउनु भनेको लालपुर्जा पाउनु होइन, यसका विभिन्न चरण छन् ती चरणहरू पारे गरे पछिमात्र लालपुर्जा पाइने हुन्छ भन्ने प्रष्ट्याउँदै उहाँले निस्सा पाउनु भनेको तपाईहरूको निवेदन राज्यसम्म पुगेको छ, अब समस्या समाधान हुन्छ भनेर ढुक्क हुने आधार तयार भएको हो ।
मध्यनेपाल नगरपालिका– ६ का अध्यक्ष बिष्णु भक्त पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले यस काममा कत्ति पनि ढिला हुन नदिने वडा र पालिकामा समेत बिशेष स्थान दिएर व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
मध्यनेपाल नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू गरी कुल ८२ जनालाई निस्सा अर्थात अस्थायी लालपूर्जा वितरणको काम भएको भूमिआयोग जिल्ला समितिका कम्प्युटर अप्रेटर विराट न्यौपानेले बताउनु भयो । उहाँका अनुसार १– ५ वडाका ३२ जनाई गत जेठ ११ गते र बाँकी ६–१० वडाका ५० जनालाई आज निस्सा वितरण गरिएको हो । सो पालिकाका वडा नं २ मा कसैले पनि कुनै पनि अनुसूचि नभरेका कारणले सो वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी नभएको पुष्टि हुन आएको न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामा कुल २४ जना भुमिहिन दलित १३ जना भुमिहिन सुकुम्बासी र ४५ जना अव्यवस्थित बसोबासी रहेका छन् ।
जिल्लामा मध्यनेपाल नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि निस्सा अर्थात अस्थायी लालपूर्जा वितरण कार्यमा सबैभन्दा पछि परेको थियो । अब भने सो कार्यले गतिलिने स्थिति सिर्जित भएको छ विश्वास गरिएको छ ।
कार्यक्रममा आयोगका बिज्ञ सदस्य ऋषिकेश घिमिरे, सदस्य रबिन्द्र अधिकारी, वडा न ६ देखि १० सम्मका वडाध्यक्ष, सचिवहरूको सहभागिता थियो । सो कार्यक्रम नगरपालिकाको सूचना प्रविधि शाखा प्रमुख विवेक घिमिरेले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० श्रावण २, मंगलवार १८:११ गते
हजुरको प्रतिक्रिया