काठमाडौँ– सत्ताको साझेदार र संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रमुख विपक्ष एमाले आक्रामक रहेको ठहर गरेको छ । पार्टी कार्यालय, सानेपामा सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा संसदमा कांग्रेसको भूमिकाबारे प्रतिवेदन पेश गर्दै नेता लेखकले साउन २ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले कानुन बनाउने सन्दर्भमा समेत यथेष्ट ध्यान पुर्याउनु पर्ने आवश्यकता रहेको औंल्याउँदै संसदमा सबैभन्दा ठूलो दलको हैसियतले गठबन्धनको सरकारलाई स्थिर र स्थायी बनाउन सदनभित्र सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको बताउनु भएको छ । उहाँले संसदभित्र प्रभावकारी भूमिका निर्वाहका साथै सदन सुसञ्चालनका लागि पनि कांग्रेसको जिम्मेवारीमा पर्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धन परिवर्तन भयो, त्यसले प्रमुख विपक्षी दल एमाले आक्रामक छ । आक्रमक मात्रै होइन परिपक्व पनि छ तर कहिलेकाहीँ अधैर्य देखिन्छ, त्यस्तै अन्य दल अधैर्य छन् । त्यसो भएको सत्ता गठबन्धन मात्र होइन कि प्रतिपक्षसँग पनि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने स्थिति छ ।’
कांग्रेसले पाँच वटा जिम्मेवारी संसदमा निर्वाह गर्नुपर्नेमा जोड दिदै उहाँले कानुन निर्माण र सरकारलाई जनताप्रति उत्तरदायी बाउनुपर्ने, संसदभित्र सभापतिहरूको चयन, केही महत्त्वपूर्ण विधेयक पारित गर्नेतर्फ ध्यान दिनुपर्ने र कांग्रेस संसदीय दलको कार्यसमिति समेत बनाउनु पर्ने भएकाले कतिपय नीतिगत रुपमा गठबन्धनभित्र उत्पन्न हुने विचारमा पनि समन्वयकारी भूमिका कांग्रेसको जिम्मेवारीमा रहेको उल्लेख गर्नुभयो ।
यसैगरी, नेपाली कांग्रेसले २२ नयाँ विभाग थप्ने भएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले आजैदेखि सुरु केन्द्रीय कार्यसमितिको बैठकमा त्यस्तो प्रस्ताव पेस गर्नु भएको हो ।
कांग्रेसको विधानअनुसार यसअघि ४८ विभाग छन् । त्यसमा २२ थप गरी ७० विभाग पु¥याउने भएको हो ।
प्रस्तावित थप विभागहरूमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक– सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग छन् ।
प्रस्तावित अन्य विभागमा, विपद् व्यवस्थापन विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणी सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग रहेको कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।
काँग्रेसको विधान अनुसार २÷२ महिनामा बस्नु पर्नेमा झण्डै एक वर्षको अन्तरमा सुरु भएको बैठक भोलि पनि बस्ने भएको छ । सो बैठकले पार्टीलाई जीवन दिने आशा गरिएको बताइन्छ ।
७ लाख सदस्य थप्ने :
नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । महामन्त्री थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राख्नु भएको हो । उहाँले भन्नुभयो, ‘कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिने छ ।’ उहाँका अनुसार नयाँ सदस्यका लागि कांग्रेसले अनलाइन प्रणाली सुरु गरेको छ । यसलाई अझ प्रभावकारी बनाउने महामन्त्री थापाले बताउँदै सदस्यता साउनभित्र उपलब्ध गराउने, भदौ, असोज र कार्तिकमा जिल्ला कमिटीहरूले नवीकरण गर्नेछन् ।
मंसिर– पुस २०७८ मा भएको १४ औं महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य पुर्याएको थियो ।
प्रकाशित मिति २०८० श्रावण २, मंगलवार २०:०१ गते