काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय उपर प्रश्नको वर्षा गरिएको छ । दुवैजना महामन्त्रीले भित्र एउटा निर्णय गर्ने र बाहिर सार्वजनिक खपतका लागि अरू नै बोल्ने गरेको वक्ताहरूको धारणा साउन ३ गते सार्वजनिक भयो ।
पहिलो दिनमा पार्टी सभापति शेरबहादुर देउवा प्रतिकुल जस्तो देखिएको बैठक दोस्रो दिनमा भने सभापति अनुकूल रहेको आंकलन गरिएको छ । त्यसो त महामन्त्रीको कार्यशैलीविरुद्ध असन्तुष्टि जनाउने अधिकांश संस्थापन निकट केन्द्रीय सदस्यहरू थिए । धेरैजसो केन्द्रीय सदस्यले देउवाविरुद्ध निरन्तर अभिव्यक्ति दिँदैआएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको कार्यशैलीमाथि प्रश्नै प्रश्न उठाए ।
आजको बैठकमा ४६ जना केन्द्रीय सदस्य धारणा रोखका छन् । यीमध्ये अधिंकाश केन्द्रीय सदस्यले पार्टी चलाउने जिम्मेवारी सभापति देउवामात्र नरहेको भन्दै उहाँको बचाउ गरेका थिए । उनीहरूले सभापतिको विकल्प खोजे आफूहरूले महामन्त्रीको पनि विकल्प खोज्ने चेतावनी दिइएको थियो ।
नेपाली कांग्रेस केन्द्रीय समितिको करिब आठ घण्टा चलेको बैठकमा आज बोल्ने विशेष गरेर मनोनीत केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वयविरुद्ध प्रश्न मात्र उठाएनन् विकल्प नै खोज्ने चेतावनी दिए ।
केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयलाई ‘तपाईंकै विकल्प खोज्नु नपरोस्’ भन्दै चेतावनी दिनु भयो । देउवाबाट मनोनीत भएपछि पहिलोपटक केन्द्रीय समिति बैठकमा भाग लिन पुग्नु भएकी खतिवडाले महामन्त्रीद्वयलाई दायरा फराकिलो बनाउन सुझाव दिइन् । उहाँले भन्नुभयो, ‘महामन्त्रीज्यूहरू कांग्रेसलाई सुधार्ने गरी अभियान चलाउनुहोला, दायरा फराकिलो बनाउनुहोला, सभापतिको विकल्प मात्र खोजी गर्दा तपाईंहरूकै विकल्प खोज्नु नपरोस् ।’
सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले महामन्त्रीको अनुशासनमाथि प्रश्न उठाउनु भयो । सिधै नाम नलिए पनि बलायरले ‘केन्द्रीय कार्यमितिमा बस्ने व्यक्तिहरूमा अनुशासन लागु हुन्छ कि हुँदैन ?’ भन्ने प्रश्न उठाउनु भयो । उहाँले भन्नुभयो, ‘तथानाम छ जे पायो त्यही गरिएको छ । अनुशासन विहीनताले कांग्रेसलाई अघि बढाउने अवस्थामा हामी छैनौँ ।’
पार्टी संसदीय दलको सचेतकसमेत रहेकी केन्द्रीय सदस्य सुशिला थिङ्ले महामन्त्रीले लोकतान्त्रिक प्रक्रिया नमानेको भन्दै आपत्ति जनाउनु भएको थियो । नामै किटान गरेर नबोले पनि थिङ्ले सभापति देउवालाई गाली गर्दैमा पार्टी बलियो नहुने भन्दै लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । ‘पार्टी सभापतिलाई गाली गर्दैमा पार्टी बलियो हुँदैन । लोकतान्त्रिक प्रक्रियाबाट आएको सिस्टमलाई स्वीकार गर्नुको विकल्प छैन’ उहाँको तर्क थियो ।
यसैगरी, अर्का केन्द्रीय सदस्य गुरु बरालले पनि महामन्त्रीले पद बाँड्दै हिँडेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले भन्नुभयो, ‘सुर्खेत पुगेर महामन्त्रीले राष्ट्रपति पद बाड्ने, प्रधानमन्त्री बाँड्दिने, कार्यबाहक सभापति बाँड्दिने अभिव्यक्ति दिँदा महामन्त्रीको ओज घटेको छ ।’
केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीका नेता शेखर कोइरालालाई धन्यवाद दिदै भन्नुभयो, ‘नेता कोइरालालाई चुनावपछि कोइरालाले संयम राजनीति गरेको, ‘गुटका कुरा होइन, पार्टी एकढिक्का बनाउँछु भनेर गर्नुभएको पहलप्रति म उहाँलाई बधाई र धन्यवाद दिन चाहन्छु ।’
बैठकमा बोलेका अर्का केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले पार्टी सभापतिलाई असफल बनाउने काम नगर्न अनुरोध गर्दै सभापति असफल भए सबै असफल हुने भएकाले यसमा जिम्मेवार बन्न आग्रह गर्नु भयो ।
केन्द्रीय सदस्य गोमाकुमारी भट्टराईको पार्टी विधान अनुसार चल्नुपर्ने र संगठन बलियो बनाउन पदाधिकारीहरूको एकै आवाज आउनुपर्नेमा जोड थियो ।
त्यस्तै, केन्द्रीय सदस्य नागिना यादवले पार्टीमा अनुशासन नभएको भन्दै मिडियाबाजी गरेर राम्रो म्यासेज नगएको उल्लेख गर्नु भयो ।
केन्द्रीय सदस्य सुशीला थिङले पार्टीका महत्वपूर्ण निर्णय केन्द्रीय समितिभन्दा बाहिरबाट हुने गरेको बताउँदै उहाँले भन्नुभयो ‘म केन्द्रीय सदस्य हुँ, मलाई सि क्लासको केन्द्रीय सदस्य हुँ कि जस्तो लाग्छ । किनकी महत्वपूर्ण निर्णय कार्यसम्पादन र पदाधिकारी बैठकबाट गरिन्छ ।’
त्यस्तै, केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले पार्टीमा नेताहरूले दोष जति सबै सभापतिलाई मात्रै थोपरेर टार्ने काम भइरहेको भन्दै आपत्ति व्यक्त गर्नु भएको थियो ।
केन्द्रीय सदस्यहरूले महामन्त्रीलाई ‘देशको मुहार फेर्ने कार्यक्रम खोइ’ भन्दै प्रश्न उठाए । केन्द्रीय सदस्य सीतादेवी देवकोटाले महामन्त्री लक्षित प्रश्न गर्दै बर्सेनि लाखौँ युवाहरू विदेसिने क्रम बढिरहेको भन्दै युवालाई देशमै रोक्ने योजना खै भन्दै प्रश्न गर्नु भयो । उहाँले महामन्त्रीले ल्याएको क्यालेन्डरले पार्टीको मुहारमात्र फेर्ने भन्दै देशको मुहार फेर्न कांग्रेसको योजना के छ भन्दै प्रश्न राख्नु भएको थियो ।
केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले पनि महामन्त्रीले गुट भनेर नहुने भन्दै महामन्त्रीबाट धेरै आशा गरेर बसेको उल्लेख गर्नुभयो ।
कांग्रेस केन्द्रीय समितिको बैठक आज बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा बस्ने तालिका छ ।
प्रकाशित मिति २०८० श्रावण ४, बिहीबार ०६:०८ गते