कांग्रेस केन्द्रीय समिति बैठक जारी : खाँणको प्रतिरक्षादेखि के के हुँदैछ ?

कांग्रेस केन्द्रीय समिति बैठक जारी : खाँणको प्रतिरक्षादेखि के के हुँदैछ ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन ४ गते बिहिबार १०:४१

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज तेस्रो दिन पनि जारी रह्यो । बैठक थप दुई दिन चल्ने बताइएको छ । आज साउन ४ गतेको बैठकमा के के भयो ? संक्षेपमा चित्रणको प्रयास गरिएको छ । पार्टी कार्यालय सानेपामा तेस्रो दिन जारी...

दुई दिन अघि सुरु भएको सो बैठक अझै दुई दिन चल्ने काँग्रेस स्रोतको भनाइ

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज तेस्रो दिन पनि जारी रह्यो । बैठक थप दुई दिन चल्ने बताइएको छ । आज साउन ४ गतेको बैठकमा के के भयो ? संक्षेपमा चित्रणको प्रयास गरिएको छ ।
पार्टी कार्यालय सानेपामा तेस्रो दिन जारी बैठकमा विभिन्न १० वटा एजेन्डामा ३५ जना सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको पार्टीका १० एजेन्डा र अर्का महामन्त्री गगन थापाले पेस गरेको वार्षिक कार्य योजनाका साथै विभिन्न समितिहरूका तर्फबाट पेस भएका प्रतिवेदनहरूमाथि बैठकमा छलफल भइरहेको छ ।
बैठकमा समसामयिक राजनीतिक, आर्थिक, सामाजिक विषयका साथै विभिन्न समितिहरूका तर्फबाट पेस भएका प्रतिवेदनहरूमाथि धारणा राख्दै केन्द्रीय सदस्यहरूले पार्टीभित्र वादविवाद गर्नुभन्दा पनि पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनु पर्नेमा जोड दिएका थिए । मुलुकको परिवर्तनको नेतृत्व कांग्रेसले लिने गरी अघि बढ्नु पर्ने उनीहरूको जोड थियो ।
सो क्रममा केन्द्रीय सदस्य चन्द्रबहादुर केसी पूर्वगृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षामा उत्रिनु भयो । उहाँले मुद्दा किनारा नलाग्दै भैलो गाउँदै हिड्ने ? भन्दै पार्टीका नेताहरूलाई व्यङ्ग्य कस्नु भएको थियो ।
सर्वोच्चले दोषी ठहर गरेका रेशम चौधरीलाई आम माफी दिएको स्मरण गर्दै उहाँले किनारा नलागेको मुद्दामा आफ्नै नेताहरू न्यायालय र न्यायाधीश बनेको उहाँको दावी थियो । उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले दोषी ठहर गरेकालाई आम माफीले चोख्याउन मिल्ने ? अदालतमा विचाराधीन रहेका मुद्दाहरूलाई किनारा नलाग्दै आफैँ न्यायालय र न्यायाधीश बनेर भैलो गाउँदै हिड्ने ?’
महामन्त्री गगन थापालाई संकेत गर्दै संसदीय दलको नेता परिवर्तनको माग उठाएको समेत उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटा व्यक्तिलाई संसदीय दलको नेता चाहियो भन्दैमा समयको ख्याल नै नगरी बेमौसमको बाजा बजाउँदै हिँड्दा जन्ती पाइन्नन् कि !’ महामन्त्री थापाको वार्षिक कार्यतालिकालाई समेत व्यङ्ग्य गर्दै केसीले भन्नुभयो, ‘कार्यतालिकामा धेरै कुरा आउलान् रूख सिंगै बोकेर आउँछ कि भनेको, रूखबाट खसेका पात मात्रै टिपेर ल्याइएको छ ।’ केसीले सभापति देउवालाई पार्टीको वरिष्ठ नेतामा गोपालमान श्रेष्ठलाई मनोनित गर्न समेत आग्रह गर्नुभयो ।
डा. शेखरलाई वरिष्ठ नेता बनाउन माग  :
केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग गर्नु भएको हो । उहाँले भन्नुभयो ‘हाम्रो वरिष्ठ नेता राष्ट्रपति निर्वाचित हुनुभयो, डा. शेखर कोइरालालाई त्यसमा राखे पार्टीलाई बल पुग्छ । समझदारी सहकार्यकोे अवस्था हुन्छ कि भन्ने लाग्छ ।’
समानुपातिक प्रणाली खारेजीको माग :
यसैगरी, केन्द्रीय सदस्य राजेन्द्र केसीले समानुपातिक निर्वाचन प्रणाली स्थिर सरकारको बाधक भएको टिप्पणी गनुर्् भएको छ । ‘गठबन्धनबाट चुनावमा जाँदा देशलाई स्थिर सरकार दिन्छौँ भनेका थियौँ । त्यसको परिणाम राम्रै आयो । तर ४० प्रतिशत समानुपातिक सांसद हुने व्यवस्था स्थिर सरकारका लागि बाधक छ ।’ उहाँले भन्नुभयो । उहाँका अनुसार सरकार निर्माणको तागत ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीमा रहेको छ । ‘११० जना समानुपातिक सांसदलाई राष्ट्रिय सभामा व्यवस्थापन गर्न सकिन्छ । यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ ।’
उहाँले पार्टी सदस्यता थप्नेभन्दा पनि गुणस्तरीय बनाउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘८ लाख क्रियाशील सदस्यको घरबाट मात्र मत आउँदा हाम्रो समानुपातिकमा ३४ लाख मत आउनुपर्ने देखिन्छ, तर हामीले २७ लाख मात्र मत पायौँ । त्यसैले सदस्यता बढाएर मात्र भोट बढ्छ भन्ने भ्रमबाट मुक्त भई सदस्यता गुणस्तरीय बनाउनुपर्छ ।’
रूपान्तरणका एजेन्डामा के के छ ?
कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेस रूपान्तरण एजेन्डा केन्द्रीय समितिमा पेश गर्नु भएको छ । उहाँले पार्टीले कुनै गतिविधि नगर्दा आफूहरूले कांग्रेस रूपान्तरण अभियान गर्दै सातै प्रदेश भेला गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘१४ औं महाधिवेशनमा नारा थियो– ‘एकता, उत्साह र रूपान्तरण’ यसबीचमा उत्साहमा कमी आएको देखिएपछि र केन्द्रीय समिति तथा कुनै कार्यक्रम पनि नआएका बेला त्यसै किन बस्ने भनेर हामीले सातै प्रदेशमा गएर भेला ग¥यौं ।’
उहाँले रूपान्तरण अभियानबारे नेता÷कार्यकर्तासँग छलफल गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘समस्याका विषयमा धारणा बुझेको र टिपोर्ट गरेर पार्टीमा बुझाइएको छ । गहन सुझाव प्राप्त भएका छन्, मनन गर्न आग्रह छ ।’ उहाँले भ्रष्टाचारमुक्त कांग्रेस बनाउन अभियान गर्नुपर्नेमा जोडदिनु भएको थियो । भ्रष्टाचारमा जोडिएकालाई स्वतः निलम्बन गर्ने नीतिगत व्यवस्था गर्न माग उहाँको थियो ।
नेता आचार्यले भन्नुभयो, ‘बहुचर्चित काण्डको छानबिन गर्न सरकारलाई कांग्रेसले दबाब दिनुपर्छ । आवश्यक परे सडकमा उत्रिनुपर्छ, व्यक्ति होइन एजेन्डा हेर्छ पार्टीले भन्ने स्थापित गर्नुपर्छ । परम्पराका नाममा अल्झिन हुन्न ।’
उहाँले मापदण्ड तोकेर मात्र क्रियाशील सदस्यता दिइनुपर्ने बताउनु भयो । प्रदेश र केन्द्रमा सरकार भए पनि पार्टीसँग समन्वय नै नभएको उहाँको धारणा थियो ।
नेता आचार्यले पार्टी रुपान्तरणका लागि चारवटा एसी, बीसी, सीसी र डीसी कांग्रेसको प्रस्ताव गर्नु भएको छ ।
‘एसी कांग्रेस एजेण्डामा आधारित कांग्रेस हुनेछ । एजेण्डाको आधारमा पार्टी सञ्चालन भए गुट स्वतः समाप्त हुन्छ, बीसी कांग्रेस बेसको हो । जगलाई आधार बनाएर पार्टी गतिविधि तल्लो तहमुखी हुनुपर्छ ।’
त्यस्तै, ‘नेता र उम्मेदवार चुन्दा जगका सदस्यहरूको रायका आधारमा छान्नुपर्ने आचार्यको भनाइ छ । ‘सीसी कांग्रेस अन्तर्गत क्लिन कांग्रेस । भ्रष्टाचार मुक्त, सुशासनयुक्त कांग्रेस बनाउन भ्रष्टाचार विरोधी अभियान सुरु गर्नुपर्ने छ, भ्रष्टचार विरोधी आन्दोलन पहिले पनि कांग्रेसले गरेको हो । अहिले पनि कांग्रेस नै अग्रसर हुनुपर्दछ ।’ आचार्यको तर्क छ ।
काँग्रेसमा नेतृत्वको कार्यशैली सुधार गर्न भन्दै आचार्यसहित नेताहरूले गत जेठ महिनामा रूपान्तरण अभियान सञ्चालन गर्नु भएको थियो ।
प्रकाश स्नेहीले महामन्त्री बिचराहरूप्रति कटाक्ष गर्दै भन्नुभयो, ‘चरी जेलैमा’
केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ले महामन्त्रीहरूलाई विचरा बनाइएको टिप्पणी गर्नुभयो । सबै अधिकार सभापतिलाई रहेको स्मरण गर्दै भन्नुभयो, ‘महामन्त्रीहरु विचरा बबुरा चरी जेलैमा, सबै अधिकार सभापतिलाई हुने रहेछ, अनि केही हुँदैन, त्यही भएर सबै कुरा बाहिर आउँछ । सभापतिले पनि महामन्त्रीलाई सघाउनुपर्छ ।’
पार्टीलाई बलियो बनाउन डा. शेखर कोइरालाले नेतृत्वलाई निरन्तर साथ दिइरहेको समेत उहाँले स्मरण गर्नु भयो । ११ महिनासम्म बैठक राख्न नसक्ने पार्टीले जनताका मुद्दा सम्बोधन गर्न नसक्ने उहाँको तर्क थियो । उहाँले भन्नुभयो, ‘हामी केन्द्रीय सदस्य कहिले बैठक बस्ला भनेर टुलुटुलु हेरेर कुर्न बाध्य भएका छौँ ।’
उहाँले कांग्रेसभित्रको चरम गुटबन्दीले पार्टी झन् संकटमा पर्ने ठोकुवा गर्दै भन्नुभयो, ‘पार्टीभित्र चरम गुटबन्दी छ, ८ लाख ६६ हजार कार्यकर्ताका लागि मात्रै राजनीति गरिरहेका छौँ कि अरु जनताबारेमा पनि सोचेका छौ ? अमेरिका बस्ने र दुबईमा बस्ने युवाले हाम्रोबारे सामाजिक सञ्जालमा के कमेन्ट गरेका छन् हेरेका छौँ हामीले ?’
अहिले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले कामको कुनै प्रगति देखाउन नसकेको तर्कसहित भन्नुभयो, ‘संघका मन्त्रीहरूले एक÷एक महिना मैले के काम गरेँ भन्नुपर्दैन ? स्थानीय तहमा आधाआधीभन्दा नेतृत्व छ तर तिनीहरुको मूल्यांकन कसले गर्ने ?’
उहाँले २०६२–६३ को जनआन्दोलनमा जन्मिएको बच्चा बालिग भएर युरोप र अमेरिका जान्छु भन्दा तिनका लागि दलहरुले कुनै योजना ल्याउन नसकेको तीतो पोख्नु भएको थियो ।
कांग्रेसले जनताका एजेन्डा नै भुलेर रूमल्लिरहेको उहाँले सम्बोधनका क्रममा कांग्रेसले भ्रष्टाचार भन्ने बित्तिकै मुख थुन्छ, कानमा रुवा हाल्छ भन्ने धारणा जनतामाझ बनेको समेत सुनाउनु् भयो ।
‘नेपाली कांग्रेस ३० वर्षयता सत्तामा छ । बीपीसँग समय थियो, सत्ता थिएन भन्नुहुन्छ महामन्त्रीजीले’, उनले भने, ‘महामन्त्रीले यो बैठकमा कार्ययोजना प्रस्तुत गर्नुभएको छ। तर त्यसमा सामाजिक न्याय र महिला हिंसा किन समेटिएको छैन ? दलितलाई पनि बेवास्ता गरिरहेका छौँ अनि कसरी पार्टी जीवन्त हुन्छ ?’
सो अवसरमा आफ्नो धारणा राख्नेहरूमा सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला(पौडेल), टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतमलगायत हुनुहुन्थ्यो ।
देउवाले खुवाउनु भयो, गगनलाई जन्मदिनमा केक :
कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई जन्मदिनमा केक खुवाउनु भएको छ । केन्द्रीय समिति बैठक स्थगित भएसँगै सभापति देउवाले महामन्त्री थापालाई केक खुवाउनु भएको हो ।
महामन्त्री थापाको जन्मदिनमा सानेपामा आयोजित कार्यक्रमलाई कांग्रेसले आधिकारिक फेसबुकबाट लाइभसमेत गरेको थियो ।
पदाधिकारीसहित केन्द्रीय सदस्यहरूले थापालाई खादा लगाएर शुभकामना प्रदान गरेका थिए । आजको बैठक सकिएलगत्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापाको जन्मदिन मनाउने कार्यक्रम रहेको जानकारी दिनुभएको थियो । जन्मदिन मनाउने क्रममा ‘ह्याप्पी बर्थ डे टु यु’ गीत बजाइएको थियो ।
बैठक भोलि बिहान ११ बजे पुन बस्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति २०८० श्रावण ४, बिहीबार २२:४१ गते
हजुरको प्रतिक्रिया