काठमाडौं– सुन तस्करको आशंका गरिएका चिनियाँ नागरिकको राजधानीको बालुवाटारस्थित गोदाममा राजश्व अनुसन्धान विभागको टेलीले छापा मारेको छ । चिनियाँ नागरिक लिङ चुवानको बालुवाटारस्थित कार्यालयमा राजश्वको टोलीले साउन ४ गते छापा हानेको हो ।
३ गते साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट करिब १ क्विन्टल सुन बरामद भएको थियो । सुन राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न प्रक्रिया थालिएको छ । सोही क्रममा चिनियाँ नागरिक चुवानको गोदाम समेत भनिएको उक्त कार्यालयलाई शिलबन्दी गरेर अनुसन्धान सुरु गरिएको राजश्व कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार एक सय किलो सुन तस्करीमा चिनियाँ नागरिक लिङको संलग्नता आशंका गरिएको छ । चीन भाग्न लागेका चुवानलाई नै विमानस्थल अध्यागमनबाट पक्राउ गरिएको विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्वको पत्राचारका आधारमा उनी पक्राउ परेको बताउनु भयो । उहाँका अनुसार चिनियाँ नागरिकबारे शंका लागेको हुनाले नियन्त्रण गरिदिन आग्रह भएको थियो । महानिर्देशक अधिकारीले भन्नुभयो, ‘ती चिनियाँलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएका छौँ ।’
सुन तस्करीमा संलग्नहरुले सुनसहितको ‘ब्रेक सु’ राख्न भाडामा लिएको घरको बालुवाटारस्थित कोठामा सशस्त्र प्रहरी बलको सहयोग लिएर राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको विभाग उच्च स्रोतले बतायो । स्रोतका अनुसार सो क्रममा कोठामा ५÷६ वटा ठूला बाकस फेला परेका छन् । त्यसभित्र भएको वस्तुमा सुन भए÷नभएको जाँच हुन बाँकी रहेको तर अहिले ती बाकसलाई शील गरिएको छ ।
यर्सबीच, राजश्व अनुसन्धान विभागले साँखुबाट पक्राउ गरेका दिलीप भुजेल काठमाडौँमा घर बनाउने काममा खटिने दोलखाका दिलीप भुजेल नै अहिलेसम्मको अवस्थामा एक सय किलो सुनको मालिक देखिन आएका छन् । २१ वर्षीय उनको खास घर दोलखाको मेलुङ गाउँपालिका– १, पवटी गाउँमा पर्छ । दिलीपले कक्षा १२ सम्मको अध्ययन गरेका छन् ।
दिलीपले केही समय अगाडिसम्म घर बनाउने स्थानमा इँटा बोक्ने लगायतको साधारण काम गर्ने गरेको दिलीपका बुवा रामबहादुर भुजेलले बताउनु भयो । उहाँका अनुसार करिब २ महिना अगाडिबाट भने दिलीपले साँखुमा रहेको आफन्तको चाउमिन फ्याक्ट्रीमा चाउमिन तयार पार्ने र बजारमा लगी विक्री गर्ने काम गर्दै आएका थिए । उनै दिलीप यतिबेला अहिलेसम्मकै ठुलो भनी अनुमान गरिएको सुन तस्करीमा संलग्न भन्दै पक्राउ परेका हुन् । हाल साँखुमा रहेको ठुलीआमाको डेरामा बस्ने गरेका दिलिपकै नाममा रहेको ‘रेडी ट्रेड प्रालि’को नाममा आयात भएको ठूलो परिमाणको विभागले बरामद गरेको प्रहरी स्रोतको दावी छ । यति धेरै सुनको ‘मालिक’ एक साधारण कुल्ली भएको खुलासा भएको हो ।
विभागका अनुसन्धान अधिकृतले दिलीपसँग सिधैं सम्पर्क गरी कम्पनीको कुरा गर्दा दिलीप फरार हुनसक्ने डरले विभागको टोलीले युवतीको प्रयोग गरेर दिलीपसम्म पुगेको बताइन्छ । दिलीप र युवतीसँगको कुराकानी आफूले पनि सुनेको दिलीपका ती आफन्तले बताए । दिलीपको ठूलीआमाका अनुसार उनले २ र ३ गते दिनभर फ्याक्ट्रीमै काम गरेर साँझपख भने उनी चाउमिन डेलिभरी गर्न हिँडेका थिए ।
सुनको यकिन परिणाम आउन एकसाता लाग्न सक्छ : टक्सार महाशाखा
उता, राजश्व अनुसन्धान विभागले समातेको अवैध सुन नेपाल राष्ट्र बैंक मातहतको टक्सार महाशाखा पुगेको छ । महाशाखाका निर्देशक थानेश्वर आचार्यले विभागबाट सुन आइपुगेको र थप अनुसन्धान अघि बढेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘८ प्याकेट सुन आइसकेको छ । प्याकेटसहित जोख्दा कूल १५४ किलोग्राम भएको छ ।’ उहाँका अनुसार तर, यी प्याकेटमा कति परिणामको सुन छ भन्ने यकिन तथ्याङ्क आउन भने एक हप्तासम्म लाग्न सक्छ ।
चिनियाँ नागरिकसहित ६ जना आरोपीको १० दिन म्याद थप :
यसैबीच, उच्च अदालत पाटनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको छ । ती ६ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको सो अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८० श्रावण ५, शुक्रबार ०७:१४ गते