काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा जारी छ तर त्यो बैठक एजेन्डामा मात्रै केन्द्रित छैन । छलफल गर्न १० एजेन्डा छन्, तर केन्द्रीय सदस्यले प्रायः एजेन्डामा खासै टिप्पणी गरेको आज पनि पाइएन । जारी बैठकको साउन ५ गते चौथो दिन हो ।
बैठकको कांग्रेसको आधिकारिक फेसबुकबाट लाइभ गरिएको छ । त्यसमा कुनैकुनै बेला भने गरमागर बन्न पुग्छ ।
कतिले सभापति शेरबहादुर देउवाको प्रशंसामा समय खर्च गर्छन् त कोही महामन्त्री गगन थापाका अभिव्यक्तिमा रोष व्यक्त गर्दछन् । संसदीय दल नेता फेर्ने महामन्त्री थापाको अभिव्यक्तिलाई केन्द्रीय समितिमा प्राथमिकताका साथ उठाइएको छ ।
अहिलेको आवश्यकता संसदीय दल नेता फेर्ने होइन :
केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीले केन्द्रीय समितिमा प्रश्न गर्दै भन्नुभयो, ‘अहिलेको आवश्यकता संसदीय दल नेता फेर्ने हो ? सभापति फेर्ने हो ? अहिलेको आवश्यकता पार्टी मजबुद बनाउने, सुशासन र डेलिभरी दिने हो ।’ उहाँले थप भन्नुभयो, ‘के सभापति वा संसदीय दल नेता अहिले परिवर्तन गर्न सम्भव छ ?, यो उचित छ ? यो बाटो हिँडेर कांग्रेसलाई कहाँ पु¥याउन खोजिएको हो ?’
गत पुस ६ गते संसदीय दल नेता चयन गर्दा देउवा ६४ र गगनलाई जम्मा २५ मत आएको थियो । उक्त मत हेर्दा तत्काल संसदीय दल नेता परिवर्तन गर्न सम्भव नहुने कार्कीले उल्लेख गर्नु भयो ।
गण्डकीका मुख्यमन्त्रीसमेत रहनु भएका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पनि संसदीय दल नेता फेर्छु भन्दै भ्रम नछर्न आग्रह गर्दै विधानले संसदीय दल नेता छान्ने र हटाउने व्यवस्था गरेकोले सक्नेले संसदीय दल नेता बदलेर देखाउन चुनौती दिनुभयो ।
बैठकले सभापति र महामन्त्रीहरू बीच द्वन्द्व बढाउने काम गर्यो :
केन्द्रीय सदस्य बलबहादुर केसीले अहिलेको केन्द्रीय समिति बैठकले सभापति र महामन्त्रीहरू बीच द्वन्द्व बढाउने काम गरेको टिप्पणी गर्नु भएको छ । उहाँले केन्द्रीय सदस्यहरूले सभापति र महामन्त्रीका पक्षमा उभिएर धारणा राख्दा द्वन्द्व बढाउने काम भएको दावी गर्नु भएको छ ।
‘महाधिवेशनमा जुन समूहबाट लडे पनि निर्वाचित भएपछि शेरबहादुर देउवा सबैको सभापति हो, तर महामन्त्री एउटा र सभापति अर्को क्याम्पमा जस्तो गरी केन्द्रीय समितिमा बहस भइरहेका छन् । यसले सन्देश राम्रो गएको छैन उहाँले भन्नुभयो ।
खाँणको बचाउ गर्दै खाँणलाई थुनामा जान किन रोकिएन ? :
केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भुटानी शरणार्थी प्रकरणको पुर्पक्षका लागि थुनामा रहेका बालकृष्ण खाँणको बचाउ गर्दै खाँणलाई थुनामा जान किन रोकिएन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले पार्टीमा अनुशासन हुनुपर्नेमा पनि जोड दिए । ‘एउटा घर चलाउन पनि अनुसान चाहिन्छ । त्यस्तै पार्टीमा पनि अनुसान भएन भने भोलिको दिनमा गाह्रो हुन्छ । हामी एक आपसमा वाक युद्ध गरिरहेका छौँ । हामी प्रत्यक्ष प्रशारणमा छौँ बन्दकोठामा छैनौं एकले अर्कोलाई आक्षेप लगाएका छौँ ।’
श्रेष्ठले ०७४ मा किन खुम्चियौं भन्ने मूल्यांकन नभएको बताउँदै उहाँले चुनावमा ३३ प्रतिशत महिलालाई उमेदवार उठाउनुपर्ने बताउनु भयो ।
यसैगरी, प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टीभित्रको अन्तरकलह नै पार्टीका लागि खतरा भएको टिप्पणी गर्नु भएको छ । उहाँले कांग्रेसलाई नयाँ वा पुराना दलबाट भन्दा पनि कांग्रेसबाटै बढी खतरा भएको बताउनु भयो । उहाँले काम गर्न छोडेर हामी सक्कियौँ भनेर अब सक्कियौं, कमजोर भयौँ भनेर हिँड्ने होइन । यही अलमलमा भएकोजस्तो लाग्छ भन्नुभयो । बालकृष्ण खाँणको बचाउमा समेत लाग्नु भएका उहाँले अदालतले अभियोग प्रमाणित नगरेको अवस्थासम्म कसैले पनि कसैलाई दोषी भनेर फैसला सुनाउन नमिल्ने जिकिर गर्नु भयो । उहाँले प्रश्न गर्नु भयो, ‘कांग्रेस सर्वोच्च अदालत हो ?’
नारायण खड्काले पुस्ताको प्रश्न उठाएर कहिले छाड्ने भन्छन्, ‘सभापतिज्यू– राजीनामा दिऊँ त ?’ भन्नुभयो । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायतले पुस्तान्तरणको कुरा उठान गरिरहेको उहाँको भनाइ थियो । उहाँले पुस्तान्तरणको प्रश्नले खारिएका नेताहरूले केही गर्न सक्दैनन् भन्ने भाष्य बनिरहेकोतर्फ पनि ध्यान दिन आग्रह गर्नु भयो ।
कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेताहरूले युवालाई पुरानो भाषण सुनाएर संगठन विस्तार नहुने तर्क गर्नु भयो । उहाँले भन्नुभयो, ‘एक सयपटक तपाईंहरूको भाषण सुनाएर, मेरो भाषण सुनाएर संगठन विस्तार हुँदैन, हाम्रो संगठनको लक्ष्य क्षेत्र युवा विद्यार्थी हुनुपर्छ । अहिले ८ कक्षामा पढ्ने विद्यार्थी चार वर्षमा १२ मा पुग्छ । उसका लागि योजना बनाऔँ ।’
यसैगरी, कांग्रेसकी नेतृ तथा पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन राजनीतिक र समाज बदल्न योजना नभेटिएको बताउनु भयो ।
कांग्रेसको एजेण्डा सेट गर्ने पार्टी भएको भन्दै त्यस अनुरुपको प्रतिवेदन महामन्त्रीबाट नआएको उहाँको भनाइ थियो । उहाँले देशका सरकारहरूको अवस्था र कांग्रेसको घोषणापत्रको तुलना गरेर त्यसको सामन्जस्यता केन्द्रीय समितिबाट खोजिनुपर्ने बताइन् ।
आरजुले भन्नुभयो, ‘महिला महिलाबीच लडाउनुस् न त एकतिहाइ सिट । हामीले भनेपछि अरु पार्टी पनि लाइनमा आउँछन् ।’ दलितका लागि र अन्य समावेशी समूहका लागि पनि त्यसरी नै सिट आरक्षित गरे प्रत्यक्ष निर्वाचित व्यवस्थामै जान पनि सकिने उहाँको तर्क थियो ।
गणतन्त्रपछि उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्छ :
नेता प्रदीप पौडेलले गणतन्त्रपछि उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने र त्यो प्रक्रियाको नेतृत्व कांग्रेसले लिनुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘गणतन्त्रपछि जति पनि भ्रष्टचारका घटना छन्, तिनको छानबिन कांगेसको नेतृत्वमा हुनुपर्दछ । गणतन्त्र पछि उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गर्ने र त्यो प्रक्रियाको नेतृत्व कांग्रेसले गर्नुपर्दछ ।’
पौडेलले सभापति चुन्न पार्टीका सबै क्रियाशील सदस्यले मत दिने व्यवस्था गर्न प्रस्ताव गर्नु भएको छ । उहाँले प्राइमरी इलेक्सन गरेर उम्मेदवारहरू छनौट गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न समयमा भएका घटनाले पार्टी संकटमा पुगेको, त्यो संकट पार लगाउन सिटामोलले नपुग्ने, सर्जरी नै गर्नुपर्ने स्थिति छ भन्नुभयो ।
रूपान्तरणको जिम्मा पार्टी सभापतिले लिनु पर्छ :
अर्का केन्द्रीय सदस्य अमृत अर्यालले रूपान्तरणको जिम्मा पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘विपीले किसुनजीलाई कार्यवाहक बनाउनुभयो । विपीको कार्यवाहक बन्न पाउनु गौरवको कुरा हो भनेर किसुनजीले भन्नुभयो । किसुनजीबाट गिरिजाबाबुमा नेतृत्व गयो, त्यसपछि ‘आरएसएस’ जन्मिएको स्रमण गर्दै अर्यालले भन्नुभयो, ‘आरएसएसमा रामचन्द्र पौडेल, शैलजा आचार्य र स्वयम् सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो । त्यसको लक्ष्य पनि रूपान्तरण र पुस्तान्तरण नै थियो ।’ त्यसपछि कांग्रेसमा ‘एकेजीवी’ जन्मिएको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘एकेजीवी समूहमा अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छदार हुनुहुन्थ्यो । त्यसको लक्ष्य पनि पुस्तान्तरण र रूपान्तरण नै थियो ।’ अर्यालले नेताहरू देशभर हिँडेर अभियान चलाइरहँदा वा शालीन रूपमा प्रस्तुत भएर नेतृत्वको दाबी गर्नु दुवै स्वाभाविक भएको बताउनु भयो ।
सभापतिलाई गाली गरेर पार्टी रुपान्तरण हुन्न :
अर्का केन्द्रीय सदस्य राजीव ढुंगानाले सभापतिलाई गाली गरेर पार्टी रुपान्तरण नहुने बताउँदै उहाँले भन्नुभयो, ‘कार्यकर्तामा आएको संशय यो केन्द्रीय समिति बैठकले चिर्नुपर्दैन र ? नयाँ पार्टी नयाँ नाराका साथ उदाएका हुन् त ? के हाम्रो अकर्मण्यताका कारण हो ? कि हाम्रो प्रवृत्ति पनि जिम्मेवार छ । गम्भिर रुपमा खोतल्नुपर्ने बेला आएको छ ।’ उहाँले थप भन्नुभयो, ‘अहिले हामी खुइल्याउने प्रतिस्पर्धामा छौं, सभापतिलाई खुइल्याउन पाए सबैभन्दा ठूलो कांग्रेस हुन पाइन्छ भनेझैं गरी खुइल्याउँछौं, पदाधिकारी र महामन्त्रीलाई खुइल्याउन व्यस्त छौं । ए महामन्त्रीहरू तिमीहरू अर्काको आलोचना गरेर स्थापित हुने भनेर खुइल्याउन लागेका छौं ।’
प्रजातान्त्रिक प्रक्रिया पूरा नगरे गुनासो ;
नेता प्रकाशमान सिंहले पार्टीले निर्णय गर्दा प्रजातान्त्रिक प्रक्रिया पूरा नगरे गुनासो बाँकी रहिरहने बताउनु भएको छ । सिंहले विधान नियमअनुसार चल्नुपर्नेमा आफूले १०औं महाधिवेशनदेखि गर्दै आएको सुनाउनु भयो । उहाँले नागरिकका पक्षमा पार्टीको प्रभावकारीता देखाउने र कार्यकर्तालाई चित्त बुझ्ने बनाउन विधानअनुसार चल्नुपर्ने बताउँदै ०४६ पछिको राजनीति सत्ता केन्द्रीत भएको स्मरण गर्नु भयो ।
नागरिकका मुद्दामाथि पनि छलफल हुनुपर्छ :
केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको गठबन्धनको स्थायित्वका लागि केन्द्रीय समिति बैठकले दृष्टिकोण बनाउनुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस तीनै तहको सरकारमा छ, संसदमा छ । यो ठूलो उपलब्धि हो, सभापतिको नेतृत्वमा गठबन्धन र ठूलो पार्टी बनेको छ। यो गठबन्धन र सरकारलाई कसरी जनतासँग जोड्ने दृष्टिकोण बनाउनुपर्छ ।’ मुलुक आर्थिक अवस्थाबारे बैठकमा छलफल हुनुपर्ने नेता लेखकको भनाइ थियो ।
बैठक पार्टीको आन्तरिक जीवनमा मात्र केन्द्रित भएको भन्दै नागरिकका मुद्दामाथि पनि छलफल हुनुपर्ने उहाँको जोड थियो । सुशासन, स्रोतको उचित परिचालन, रोजगारी सिर्जना, पूर्वाधारमा निजी क्षेत्रको लगानी बढाउन, सरकारी खर्च, विपन्नको संख्या घटाउन र मूल्यवृद्धि घटाउने सवालमा ठोस ढंगले छलफल गरेर जानुपर्छ उहाँले भन्नुभयो ।
संघीयताको विकल्प खोज्नुपर्छ :
यसैगरी, केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयताको विकल्प खोज्नुपर्ने भन्दै वर्तमान संविधानका तीन विषयमा आफ्नो असहमति रहेको बताउनु भयो ।
उहाँले धर्मनिरपेक्षताको विरुद्धमा आफ्नो धारणा यसअघि पनि राख्दै आएका स्मरण गर्दै योजनावद्ध किसिमले धर्मनिरपेक्षतालाई संविधानमा घुसाइएको दावी गर्नु भयो । भण्डारीले भन्नुभयो, ‘संघीयतामा राष्ट्रिय सुरक्षाका किसिमले समस्या देखियो । संघीयताको बारेमा अर्को विकल्प खोज्नुपर्दछ । निर्वाचन प्रणालीका बारेमा पुर्नविचार गर्नुपर्दछ ।’
पार्टीभित्र समस्या रहेको बताउँदै उनले एउटा साथीले अर्को साथीलाई देख्नै नपरे हुन्थ्यो जस्तो अवस्था आएको कटुसत्य समेत पस्किनु भएको थियो । ‘यसलाई पदाधिकारीहरुले कसरी विश्लेषण गर्नुभएको छ ? पार्टी निर्माणको यो समस्या हो कि होइन ?’ भन्ने प्रश्न गर्दै भण्डारीले भन्नुभयो, ‘नौ सय क्रियाशील सदस्य भएको ठाउँमा सय भोट आउँदैन । यो समीक्षा किन गरिरहेका छैनौं ? के यो राम्रो हो ?’
विधानमा नभएको वरिष्ठ नेता बनाउन देउवालाई दबाब :
केन्द्रीय सदस्य सीतादेवी देवकोटाले पार्टीमा दुःख गरेको नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउन केन्द्रीय समितिमै प्रस्ताव गर्नु भएको हो । उहाँले कोषाध्यक्ष पदमा महिलालाई अवसर दिन पनि सभापति देउवाको ध्यानाकर्षण गर्नुभयो ।
विधानमै नभएको वरिष्ठ नेता बनाउन देउवामाथि जारी केन्द्रीय समिति बैठकमा दबाब केन्द्रीय सदस्यहरूबाट दिइएको छ । वरिष्ठ नेतामा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र शेखर कोइरालालाई मनोनीत गर्न दबाब आएको हो । संस्थापन पक्षले श्रेष्ठ र संस्थापनइतर पक्षले कोइरालालाई वरिष्ठ नेता बनाउन भनेका छन् । कांग्रेसको वरीयतामा श्रेष्ठ १५ औं र कोइराला २५ औं स्थानमा हुनुहुन्छ । विधानमा भने १४ जना पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ ।
कांग्रेसले यसअघि पनि परम्परा देखाउँदै केही महाधिवेशनमा सभापति हारेकालाई वरिष्ठ नेता बनाउने गरेको थियो । विधानमा नभए पनि सोही परम्परा कायमै राख्नुपर्नेमा अहिले केही केन्द्रीय सदस्य लागिपरेका छन् ।
स्मरणीय छ, कांग्रेस प्रजातान्त्रिकमा श्रेष्ठ दुई वर्षसम्म कार्यवाहक सभापति भएर देउवालाई साथ दिनु भएको थियो । अर्थात देउवाले कांग्रेस प्रजातान्त्रिक गठन गर्दा श्रेष्ठ उपसभापति हुनुहुन्थ्यो भने तत्कालीन राजाले देउवालाई जेलमा राख्दा श्रेष्ठ कार्यवाहक सभापति समेत हुनु भएको थियो ।
विधान अनुसार केन्द्रीय सदस्य मध्ये एक जनालाई सभापतिले कोषाध्यक्ष मनोनीत गर्न सक्ने व्यवस्था छ । १४ औं महाधिवेशन भएको तीन महिनाभित्र कोषाध्यक्ष मनोनीत गर्नुपर्ने भए पनि १८ महिनासम्म देउवाले कोषाध्यक्ष मनोनीत गर्नु भएको छैन ।
यो बैठकमा नेता श्रेष्ठले आफू सभापति देउवापछि पार्टीमा वरिष्ठतम नेता भएकोले स्वभाविक रूपमा वरिष्ठ नेतामा दाबी रहने उल्लेख गर्नु भएको थियो ।
नेता कोइरालाले भने आफूले वरिष्ठ नेता पद कसैसँग माग नगरेको सार्वजनिक रूपमा बताइरहेका छन् । १४ औं महाधिवेशनपछि २०७८ पुस २१ मा बसेरा होटलमा भएको कोइराल पक्षको गुट भेलामा भने शेखरलाई वरिष्ठ नेता भनेर सम्बोधन गरिएको थियो ।
सभापतिमा पराजित भएका शेखरलाई केन्द्रीय कार्यालयमा बस्न बेग्लै कोठासमेत दिइएको छ ।
वरिष्ठ नेतालाई लिएर कांग्रेसभित्र ३ खालका धारणा छन्– विधान नभएकोले उक्त पदमा कसैलाई मनोनीत गर्न नहुने, २ जनालाई वरिष्ठ नेता बनाउन सकिने र परम्पराअनुसार महाधिवेशनमा सभापतिमा पराजितलाई वरिष्ठ नेता बनाउन सकिने ।
केन्द्रीय सदस्यहरूले १० एजेन्डामा रहेर ७ मिनेटभित्र आफ्नो धारणा राखी सक्नुपर्छ । केन्द्रीय समिति बैठक अझै केही दिनसम्म चल्ने संकेत देखिएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक अब साउन ७ गते बिहान ११ बजेदेखि बस्ने छ ।
प्रकाशित मिति २०८० श्रावण ५, शुक्रबार २०:४४ गते