बेसीशहर– गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले जुनकुनै पनि क्षेत्रमा उपलब्धीमूलक परिणामका लागि हामी सबै कर्तव्यपरायण हुनुपर्छ भन्नेमा जोड दिनु भएको छ । लमजुङ अस्पतालमा इएमआर र ल्याब सेवा उदघाटन गर्दै उहाँले साउन ६ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले लमजुङ अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउने प्रयास गरिएको जानकारी दिदै त्यसका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनु भयो । उहाँले प्रदेशका ११ जिल्लामध्ये अन्य जिल्लामा इएमआर सेवा नभएको बताउँदै यसबाट पनि लमजुङ अस्पताल प्रदेशमा नमूना बन्न सक्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य सेवा संवेदनशील छ, त्यसैले यसका लागि हामी जिम्मेवार तहमा बसेका सबै व्यक्तिहरू कर्तव्यपरायण हुन आवश्यक छ ।’ हामीले कास्की, गोरखा, तनहूँका साथीहरूलाई अब उपचार गर्न लमजुङ अस्पतालमा जानु होसु भन्ने सक्ने वातावरण बनाउनका लागि यहाँहरू लाग्नु हुने विश्वासका साथ आज एकै पटक दुई सेवा इएमआर र ल्याबको उदघाटन गरिएको हो उहाँले उल्लेख गर्नु भयो । उहाँले विरामीका लागि ५० प्रतिशत अस्पतालको वातावरणले प्रभाव पार्ने र २५ प्रतिशत यहाँको डाक्टर, नर्सहरूले विरामीप्रति गर्ने व्यवहारमा निर्भर गर्ने बताउँदै यसको गुणस्तरीय सेवा र परिणामले मात्र हाम्रा प्रयासहरू सार्थक हुने छन् त्यसैले हामी कर्तव्यनिष्ठ हुन आवश्यक छ उहाँले जोड दिनुभयो । उहाँले प्रदेशबाट हुन सक्ने सहयोगका लागि आफू सदैव सकारात्मक रहेको भन्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सो अवसरमा गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालका महानिर्देशन खिमबहादुर खड्काले लमजुङ अस्पताललाई पाइलट प्रोजेक्टका रुपमा प्रदेशले लिएको बताउनु भयो । नेपालीहरूको एण्टीबायोटिक बढी सेवन गर्ने बानी रहेको स्मरण गर्दै त्यो सेवन गर्न हुने नहुने थाहा पाउन काठमाडौं नै जानु पर्ने बाध्यता थियो, अब त्यो रहेन उहाँले उल्लेख गर्नुभयो । उहाँले हाम्रो उद्देश्य सेवाग्राहीको सन्तुष्टि हो, त्यसैले त्यसका लागि थप राम्रो गर्न आवश्यक रहेको औंल्याउनु भयो । उहाँले डिजिटलका क्षेत्रमा केही गरेर देखाउने उद्देश्य छ, अब त्यो काम आउँदोवर्षदेखि लमजुङ अस्पतालले गर्ने छ भन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लमजुङ अस्पतालका कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिदै प्रदेश सरकारबाट हुने सहयोग उपलब्धीपूर्ण हुने विश्वास व्यक्त गर्दै सहयोग निरन्तर रहने छ भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
प्रजिअ रामकृष्ण अधिकारीले मन्त्रीलाई स्वागत गर्दै अस्पतालको वस्तुस्थिति बुझ्न, निर्देशन दिन र लामोसमयदेखि अस्पतालको वस्तुस्थितिका बारेमा जानकारी लिन समय दिनुभएकोमा स्वास्थ्यमन्त्री सिम्खडाप्रति कृतज्ञता समेत व्यक्त गर्नुहुँदै आवश्यक सहयोग हुनेमा विश्वस्थ रहेको बताउनु भयो ।
सो अवसरमा मर्स्याङदी बहुमुखी क्याम्पसको एक अध्ययन टिमले लमजुङ अस्पतालका सेवाग्राहीको सन्तुष्टिका पक्षमा गरेको अनुसन्धान प्रतिवेदन अनुसन्धान टिमका संयोजक एवम् उक्त क्याम्पसका सहप्राध्यापक विनोद न्यौपानेले सार्वजनिक गर्नु भएको थियो । उहाँले उक्त सर्वेक्षण स्वतन्त्र रुपमा बिना हस्क्षेप र दबाबमा गरिएको जानकारी दिदै सेवाग्राहीहरूले प्रशासनिक सेवामा ७२ प्रतिशत सन्तुष्ट देखिएको, ल्याव सेवामा ६७ प्रतिशत, फार्मेसी सेवामा ६३ प्रतिशत, सरसफाईमा ५० प्रतिशत भन्दा कमले सन्तुष्टि व्यक्त गरेको जानकारी दिनुभयो । यसैगरी, सो प्रतिवेदन अनुसार लमजुङ अस्पतालमा सेवा लिने ५१ प्रतिशत, जिल्ला बाहिरका चार प्रतिशत र बाँकी ४५ प्रतिशत जिल्लाकै अन्य पालिकाका भएको पाइएको न्यौपानेले जानकारी दिनुभयो ।
लमजुङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङले अस्पतालबाट उपलब्ध हुने कुनै पनि सेवामा कमी हुने वित्तिकै समितिको नाम जोडिने, बदनाम हुने तर कार्यकारी अधिकार भने केही नहुने हुँदा काम गर्न बाधा परेको बताउनु भयो । उहाँले सबैभन्दा बढी गुनासो निःशुल्क औषधि वितरणका बारेमा आउने गरेको बताउँदै जम्मा तीन लाख रुपैयाँले कति औषधि आउँछ ? उहाँले प्रश्न गर्नु भयो । सेवाग्राहीहरू ५१ प्रतिशत बेसीशहर नगरपालिकाको भएको देखियो । त्यसो भए पछि त्यसको जिम्मेवारी स्थानीय सरकारले लिनु पर्दैन ? नगरपाकिलाको कुनै दायित्व नै हुँदैन ? भन्ने प्रश्न गर्दै यसतर्फ नीतिगत प्रष्टता हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले जिल्लाबासीको सेवा र सहयोगका लागि आफू प्रायः अस्पतालमै रहने गरेको स्मरण गर्दै कर्मचारीको पदपूर्ति तथा भवन निर्माण लगायतका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गर्नु भएको थियो ।
सो अवसरमा लमजुङ अस्पतालका प्रमुख डा. रमेश आचार्यले स्वागत मन्तव्यका साथ अस्पतालको प्रगति सहितको समग्र वस्तुस्थिपतिका बारेमा प्रष्ट्याउने काम गर्नु भएको थियो । उहाँले अस्पताललाई प्रदेश सरकारले लिएपछि खत्तम हुन्छ भन्ने बजार हल्ला चिर्न आफूहरूको टिम सफल भएको बताउँदै विशेषज्ञ सेवामा यसअघि र ऐलेमा कुनै कमी नभएको तर बढाउनमा प्रयास जारी रहेको उल्लेख गर्नुभयो ।
अस्पतालबाट अव सुरक्षित गर्भ पतन सेवाको अनुमति समेत लिइसकेको जानकारी दिदै डिजिटल सेवामा पनि मुलुकभरकै १७÷१८ जिल्ला भित्र लमजुङ पर्ने उहाँले दावी गर्नुभयो । उहाँले गत आवको अवधिमा भौतिकतर्फ ९३ प्रतिशत र वित्तीय प्रगति ६४ प्रतिशत गरेको जानकारी दिनुभयो ।
इएमआर सेवा सुरु भएपछि अब लमजुङ अस्पतालबाट उपलब्ध हुने सेवा सबै डिजिटलमा देखिने हुन्छ । यो पेपर लेस पद्दति हो । टिकट काट्नेदेखि लिएर कुन, कुन डाक्टर उपलब्ध छन्, औषधि के कति छ, ल्यावको अवस्था, विरामीको चाप, बेड रिक्त छ छैन आदि सबै कागज रहित रुपमा अनलाइनबाट जानकारी हुने हुन्छ सो अस्पतालका प्रमुख डा. रमेश आचार्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८० श्रावण ६, शनिबार २१:०७ गते