केही बेरमा सुरु हुँदै काँग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवा झनै बलियो प्रतीत : सकसमा महामन्त्रीहरू

केही बेरमा सुरु हुँदै काँग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवा झनै बलियो प्रतीत : सकसमा महामन्त्रीहरू

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन ७ गते आईतबार ०९:२४

सहमहामन्त्री महेन्द्र यादव पनि सबैलाई समेटेर लैजान सक्ने नेता सभापति देउवा मात्र भएको बताउँछन् । यो बैठकमा पनि देउवामाथि प्रश्न नउठेको भन्दै उनले थपे, ‘बाहिर जति जे बोलेपनि शेरबहादुर मात्र यस्तो नेता हो, जसले कांग्रेसलाई अझ मजबुती र एकतावद्ध बनाएर अगाडि बढाउन सक्छ ।’

अलमलमा शेखर समूह : सकसमा महामन्त्रीहरू

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । हिजो विदाका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु हुँदैछ ।
केन्द्रीय सदस्यहरूले बैठकका लागि तय भएका १० एजेन्डा तय गरिएको छ । तर धारणा राख्ने सदस्यहरू भने त्यत्तिमा मात्र सीमित छैनन् । केन्द्रीय सदस्यहरूलाई ७ मिनेटभित्र आफ्नो विचार राख्न समय दिइएको छ । समय सुरु भएको छैटौं मिनेटमा जनाउ घण्टी बन्छ, सातौं मिनेटमा माइक काटिन्छ । समय सकिएपछि पनि बोलिरहे देउवा हातले बस्न इसारा गर्नु हुन्छ, अरु बेला सदस्यहरूका कुरा सुनिरहनु हुन्छ । केन्द्रीय कार्यसमिति बैठक सभापति देउवा आफैंले सञ्चालन गर्नु भएको छ ।
यस केन्द्रीय समितिको बैठकले काँग्रेसको विधान अधिवेसनको मिति तय गर्ने र कांग्रेसको बार्षिक क्यालेन्डर पारित गर्ने प्रमुख तालिका रहेको छ ।
केन्द्रीय कार्यसमिति १५६ सदस्यीय छ । तीमध्ये अहिलेसम्म ११४ जना केन्द्रीय सदस्यले आफ्नो विचार राखिसकेका छन् । केन्द्रीय समितिमा संस्थापन इतर समूहका नेताहरू २०÷२२ जना मात्र छन् । पार्टीलाई बलियो बनाउन विधानअनुसार पार्टी सञ्चालन नभएको, राष्ट्रिय मुद्दाहरूमा कांग्रेसको भूमिका नदेखिएको, नेतृत्वले पार्टीलाई एकमत बनाउने प्रयास नगरेका जस्ता कारण समेत बैठकमा खासै उठेको देखिदैन ।
तर पनि जारी बैठकमा नेताहरू स्पष्ट गुटगतरूपमै आरोप–प्रत्यारोपमा उत्रिएको प्रष्टै देखिन्छ ।
बोल्नेहरूको कित्ता स्पष्टै देखिन्छ– उनीहरू या त महामन्त्रीको पक्षमा, कि विपक्षमा खुल्छन् । संस्थापन पक्ष सभापति शेरबहादुर देउवालाई जोगाउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचनामा उत्रिने क्रम जारी छ । भलै संस्थापनइतर पक्ष सभापतिको कार्यशैलीमाथि प्रश्न उठाउने गरेका किन नहोस् ।
देउवा बाहिर जे भनिए पनि पार्टीमा आफूले गर्दै आएको कामकारबाहीमा अभूतपूर्व समर्थन छ भन्ने सन्देश दिन सफल भइसकेका छन् । यो बैठकले उहाँलाई झनै बलियो बनाउने देखिएको छ । संस्थापन पक्षको दुई तिहाई भन्दा बढी उपस्थिति रहेको बैठकमा सभापति देउवा निकै सहज अवस्थामा देखिनु भएको छ । बैठकको प्रत्यक्ष प्रशारणले पनि देउवाको साख बढाउन मद्दत गरेको आम बुझाइ छ । एक केन्द्रीय सदस्य भन्छन्, ‘कांग्रेसमा देउवा कमजोेर भए भन्ने बाहिर जुन इम्प्रेसन दिन खोजिएको थियो, त्यो गलत छ । कांग्रेसमा मलाई कुनै च्यालेन्ज छैन । अभूतपूर्व समर्थन छ भन्ने सन्देश दिन सफल हुनुभएको छ ।’
कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमिति बैठक हरेक २÷२ महिनामा बस्नुपर्ने उल्लेख छ । तर सभापति देउवाले एक वर्षसम्म बोलाउनु भएन । तर किन समयमा बैठक नबोलाएको ? भन्नेहरू निकै कम देखिएका छन् ।
बैठकमा सभापतिभन्दा महामन्त्रीमाथि बढी प्रश्न तेर्सिएको प्रष्टै देखिन्छ । संस्थापन इतर समूहका धेरै नेताहरूले बीचबीचमा बसेरै बोल्ने गरेका छन् ।
सभापति भएर पनि शेरबहादुर देउवा पछिल्लो एक वर्षमा मुश्किलले पार्टी कार्यालय, सानेपा पुग्ने गर्नु हुन्थ्यो । तर जारी बैठकको बेलामा भने विहान ११ बज्दा नबज्दै कार्यालय पुग्ने गर्नु भएको छ । देउवाले बैठक हलमा बसेर ढुक्कले केन्द्रीय सदस्यहरूको कुरा सुन्ने नयाँ परिपाटीको विकास गर्न खोजेको भान भएको छ ।
सहमहामन्त्री महेन्द्र यादव पनि सबैलाई समेटेर लैजान सक्ने नेता सभापति देउवा मात्र भएको बताउँछन् । यो बैठकमा पनि देउवामाथि प्रश्न नउठेको भन्दै उनले थपे, ‘बाहिर जति जे बोलेपनि शेरबहादुर मात्र यस्तो नेता हो, जसले कांग्रेसलाई अझ मजबुती र एकतावद्ध बनाएर अगाडि बढाउन सक्छ ।’
केन्द्रीय सदस्य अजयबाबु शिवकोटी बाहेक अरुले भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई निलम्बन गर्नुपर्ने प्रष्ट मत राखेनन् । प्रकाश स्नेहीले सभापतिले विधानअनुसार पार्टी सञ्चालन नगरेका कारण महामन्त्रीहरू ‘चरी जेलैमा’ भने जस्तो भएको बताउन भ्याउनु भएको थियो ।
यस बैठकले पार्टीमा नयाँ उर्जा दिने आशा गरेका शुभचिन्तकहरूलाई थप निराश बनाउने स्थिति उत्पन्न भएको संस्थापन इतर समूहको आंकलन छ ।

प्रकाशित मिति २०८० श्रावण ७, आईतवार ०९:२४ गते
हजुरको प्रतिक्रिया