मनाङमा पनि छिर्यो लम्पी स्किन, जम्मा ११ चौपायामा संक्रमण पुष्टि, याक चौरी सुरक्षित

मनाङमा पनि छिर्यो लम्पी स्किन, जम्मा ११ चौपायामा संक्रमण पुष्टि, याक चौरी सुरक्षित

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन ७ गते आईतबार ०५:२३

यसअघि मेरै नामको हवाला दिएर याक चौरीमा समेत लम्पी स्किन देखिएको भन्ने समाचार भ्रामक हो, त्यसमा कुनै सत्यता छैन भेटेरिनरी अस्पतालका प्रमुख नारायण कुसुमले बताउनु भयो । उहाँका अनुसार यो रोगको उपचारका लागि औषधि खासै नभएको हुँदा जिल्लामा खोप अभियान सञ्चालन गरिएको छ ।

यो रोगको उपचारका लागि औषधि खासै नभएको हुँदा खोप अभियान सञ्चालन गरिएको छ ।

चामे(मनाङ)– हिमाल पारीको जिल्ला मनाङमा पनि पशुहरूमा लाग्ने रोग लम्पी स्किन संक्रमण देखिएको छ । साउन ७ गते यो समाचार तयार गर्दासम्म जम्मा ११ वटा चौपायामा सो रोगको संक्रमण पुष्टि भएको छ तर याक र चौरीहरू भने सुरक्षित रहेका छन् ।
हालसम्म मनाङमा लम्पी स्किनबाट संक्रमित पशुको संख्या जम्मा छ रहेको छ । तीमध्ये चामे गाउँपालिका– ३ मा एक गोरुमा संक्रमण र नासाें गाउँपालिका– २ मा २ गोरु र मनाङ ङिस्याङ गाउँपालिका– ३ को क्यूवेसी गाउँमा ६ गाई गरी ११ वटा वाहेक जिल्ला भित्र अरु कुनै पशुमा संक्रमण भएको पुष्टि नभएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मनाङका प्रमुख पशु चिकित्सक नारायण कुसुमले बताउनु भयो । उहाँका अनुसार सबै स्थानीय तहका भेटेरिनरी प्राविधिकहरूलाई पशुमा लम्पी स्किनको संक्रमण भएको पाइएमा तुरुन्त भेटेरिनरी अस्पताल मनाङमा जानकारी दिनु हुन भनिएको छ । उहाँले भन्नुभयो, ‘यो रोगको आधिकारिकता अस्पतालवाट पुष्टी भए पछिमात्र सार्वजनिक गर्न समेत भनिएको छ ।’ उहाँले थप भन्नुभयो ‘यसअघि मेरै नामको हवाला दिएर याक चौरीमा समेत लम्पी स्किन देखिएको भन्ने समाचार भ्रामक हो, त्यसमा कुनै सत्यता छैन ।’ यो रोगको उपचारका लागि औषधि खासै नभए संक्रमित पशुमा उपचारको वैकल्पिक विधि अबलम्न गरिएको छ । त्यस बाहेक स्वास्थ्य पशुमा खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पतालले जनाएको छ ।

रोग नियन्त्रणका लागि सक्दो प्रयास गरिएको छ । मनाङमा चार स्थानीय तह छन् । तीमध्ये तीन वटा पालिकामा संक्रमण देखिएको हुँदा खोप कार्यक्रम समेत सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मनाङका प्रमुख पशु चिकित्सक नारायण कुसुमले बताउनु हुन्छ । उहाँका अनुसार नासो गाउँपालिकामा १४ गाई, २१ गोरु, चौरी र याक ५० वटामा खोप लगाई सकिएको छ । त्यस्तै, चामे गाउँपालिकामा ६ गाई र ४० वटा गोरु, चौरी एकमा खोप लगाइएको छ । यसैगरी मनाङ ङिस्याङ गाउँपालिकामा ६९ गाई र ३५ वटा गोरुमा गरी कुल ८१ गाई, ९६ गोरु, चौरी र याक ५१ वटामा खोप लगाउने काम पुरा भएको कुसुमको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘पशुहरूमा लम्पी स्किन देखिना साथ संगोलमा रहेका पशुलाई छुट्याएर राख्न, बिरामी परेका पशुलाई स्याहारसुसार गर्न र सङ्क्रमण नभएका पशुको नजिक नजान भनिएको र सरसफाइ गरेर मात्र अन्य वस्तुको स्याहार सुसार गर्न सुझाव दिइएको छ । त्यस्तै, पशुलाई टोक्ने लामखुट्टे र झिङ्गाबाट जोगाउन पशुपालक किसानलाई सचेत गराउन लागिएको कुसुमले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति २०८० श्रावण ७, आईतवार १७:२३ गते
हजुरको प्रतिक्रिया