काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा छैटौँ दिन केन्द्रीय कार्यसमिति बैठक साउन ८ गते बस्न लागेको हो ।
सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यहरूले उठाएका विभिन्न मुद्दा एवम् जिज्ञासामा जवाफ दिने कार्यसूचि छ । असार २ गतेदेखि जारी बैठक आज अपराह्न ३ बजेदेखि सुरू हुनेछ ।
महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । ती एजेन्डाबारे आज या भोलि निर्णय हुन सक्ने आंकलन गरिएको छ ।
हिजोसम्मको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए । सहमहामन्त्रीहरूको समेत हिजै धारणा आइसकेको छ । हिजो डा. शेखर कोइराला सहित १५ केन्द्रीय सदस्य र ८ सहमहामन्त्रीले आफ्नो धारणा राख्नु भएको हो । दुई महामन्त्री सहित बाँकी पदाधिकारीले आजको बैठकमा बोल्नु हुनेछ ।
भोलि गृहकार्यका लागि बैठक रोकिन सक्ने बताइएको छ । सम्भवतः १० गतेका दिन १० बुँदे एजेण्डामा निर्णय गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।
केन्द्रीय सदस्यहरूको धारणा तथा सुझावको आज सभापति र महामन्त्रीहरूले जवाफ दिएपछि बोल्ने क्रम सकिनेछ ।
नेता शशांक कोइरालाले आफ्नो धारणा राख्दै महिलाहरूलाई नेतृत्व तहमा पु¥याउन पार्टीले सहयोग गर्नुपर्ने बताउनु भयो । संगठनमा महिलाहरूले गरेको योगदान र सहयोगले नै आफू लगातार चार पटक चुनाव जितेको शशांकले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘महिलाहरूलाई प्रोत्साहन गर्नुप¥यो । केन्द्रीय समितिमा पनि धेरै जना हुनुहुन्न, हरेक ठाउँमा महिलाहरूलाई अगाडि बढाउनु प¥यो, मेरो क्षेत्रमा हेर्नुस्, नेपालमा कति जनाले चार पटक जिते ? मेरो विचारमा एक जना शेरबहादुर देउवा हो । अरू कोही छन् ? दोस्रो म हो । लगातार जितेको भनेको । त्यसको कारण महिलाहरूको सहयोग हो ।’ महिलाहरूले परिवार मात्र नभई समाजको नेतृत्व गर्ने कोइरालाको धारणा छ । ‘महिलाहरूको नेतृत्व गर्ने भूमिका छ, प्रोत्साहन गर्नुपर्छ,’ उहाँको प्रष्टोक्ति थियो ।
कोइरालाले बोलेपछि सभापति शेरबहादुर देउवाले आफूले ७ पटक चुनाव जितेको जवाफ शशांकलाई दिनु भएको थियो । ‘म सात पटक जितेको हुँ ! सात पटक ! लगातार सात पटक चुनाव जितेको,’ देउवाले शशांकलाई जवाफ फर्काउनु भएको हो ।
बालकृष्ण खाँणलाई निलम्बन नगर्ने वतावरण बन्दै :
हिजोसम्मको प्रकृतिले कांग्रेसले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने सम्भावना छैन । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको आरोपमा अनुसन्धान गरेको प्रहरीले कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणलाई वैशाख २७ गते पक्राउ गरेको थियो । त्यहीबेला उनलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो । तर असार १ गते जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउँदा पनि कांग्रेसले निलम्बन गर्न जरुरी ठानेको छैन । झनै आश्चर्य त के छ भने बैठकमा उनलाई निलम्बन गर्नुपर्ने स्वर निकै सानो अर्थात कम व्यक्तिले मात्र निलम्बन गर्र्नुपर्छ भनेका छन् । खाँणको बचाउमा धेरै केन्द्रीय सदस्य मात्र होइन पदाधिकारी नै उत्रिएका छन् ।
सहमहामन्त्री महेन्द्र यादवले पार्टीका ‘जुझारू नेता खाँणलाई राज्यले फसाएको’ दाबी गर्न समेत पछि पर्नु भएन । यादवले भन्नुभयो, ‘उहाँप्रति राज्यले ठूलो अन्याय गरेको छ, न कुनै जाहेरी छ, न कसैले पोलेको छ, न कुनै प्रमाण भेटिएको छ ।’
२०६५ सालदेखि केन्द्रीय सदस्य रहेका खाँण व्यक्ति मात्र होइन, कांग्रेसको एक पावर सेन्टर नै मान्ने गरिन्छ । २०४४ देखि २०४८ सम्म नेपाल विद्यार्थी संघको नेतृत्व गरेका खाँणले आर्जन गरेको शक्तिको आधार, तरुण दलको अध्यक्ष हुनु हो । उहाँले अध्यक्ष हुनका लागि तरुण दल ब्यूताउनु भएको हो । २०१० सालमा स्थापना भए पनि २०१७ सालको ‘कु’पछि तरुण दल निष्क्रिय थियो । २०२७ सालमा नेपाल विद्यार्थी संघ स्थापना भएपछि तरुण दलको खासै खाँचो महसुस पनि भएको थिएन । २०५४ मा नेपालगञ्जमा भएको महासमिति भेलाले तरुण दल पुनर्गठनको निर्णय गर्दै खाँणलाई अध्यक्ष तोकिएको थियो । त्यसो त खाँण आफैं कुशल संगठनकर्ता पनि हुन् ।
शाही शासन र जनआन्दोलनको बेलासम्म उनै अध्यक्ष भएका कारण उनलाई पकड अझ बलियो बनाउन बल मिल्यो । कांग्रेस प्रजातान्त्रिकतिर लागेका बेला बनेका अध्यक्ष विनोद कायस्थ बाहेक सबै अध्यक्ष खाँण निकटकै थिए ।
यसैगरी, सहमहामन्त्री महालक्ष्मी डिनाले त पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई निलम्बन गर्नुपर्छ भन्ने नेताहरूमाथि नै प्रश्न उठाउन भ्याउनु भयो । उहाँले भन्नुभयो, ‘अदालतमा विचाराधीन मुद्दालाई कांग्रेसका केही साथीहरूले दबाब दिएर प्रभावित पार्न खोज्नुभएको छ । पार्टी सभापतिजीलाई आग्रह गर्न चाहन्छु, यसमा छानबिन होस् ।’
परराष्ट्रमन्त्री समेत रहनु भएका एनपी साउदले खाँणको बारेमा अदालतको निर्णय पर्खिनुपर्ने बताउनु भयो । सहमहामन्त्री बद्री पाण्डेले खाँणको नाम नलिई सरकारले थालेको कारबाहीको स्वामित्व लिनुपर्ने, यती र ओम्नी जस्ता भ्रष्टाचार काण्डको फाइल खोल्नुपर्ने बताउँदै भन्नुभयो, ‘यो नारायणकाजीले गरे वा माओवादीले गर्यो होइन । हामीले बनाएको प्रधानमन्त्री प्रचण्ड, प्रचण्डले बनाएको गृहमन्त्री नारायणकाजी । नेपाली कांग्रेसले यसको स्वामित्व लिनुपर्छ ।’
नेता शेखर कोइरालाले भ्रष्टाचार र भ्रष्टाचारीलाई कांग्रेसले संरक्षण गर्दैन भन्ने वातावरण निर्माण नगरे जनताको घरदैलोमा गएर भोट माग्न सक्ने अवस्था नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यस विषयमा हलुका टिप्पणी गरेर पन्छिन सक्ने अवस्था छैन । यो प्रकरणले अन्तर्राष्ट्रिय तहमै नेपालको छवि धमिलिएको छ, यसमा हामी सचेत बन्न आवश्यक छ ।’
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले मात्र खाँणलाई निलम्बन गर्नुपर्ने प्रष्ट मत राख्नु भएको थियो । प्रदीप पौडेलले ललितानिवास, भुटानी शरणार्थी प्रकरणहरू अनुसन्धानमा रहेकाहरूलाई पार्टीले जिम्मेवारीबाट मुक्त गर्नुपर्ने धारणा राख्नु भयो ।
खाँणलाई निलम्बन गर्नुपर्छ भन्दा देउवा निकै दबाबमा पर्नु भएका उहाँ अहिले केन्द्रीय कार्यसमितिलाई देखाएर निलम्बन गर्नुपर्ने मागलाई अस्वीकार गर्न सक्ने अवस्था टड्कारो बनेको छ । यसले पनि काँग्रेसले भन्ने ‘सुशासन’को खिल्ली उडेको आम बुझाइ छ ।
२०६९ साउन ३० गते सर्वोच्च अदालतले पूर्वगृहमन्त्री खड्कालाई डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १२२ रुपैयाँ बिगो र त्यति नै जरिवानाको फैसला सुनायो । राजनीतिक दल सम्बन्धी ऐनअनुसार खड्का कुनै पनि राजनीतिक दलको सदस्य हुन अयोग्य थिए । तर कांग्रेसले त्यो बेलामा पनि केन्द्रीय सदस्यबाट निलम्बन गरेन । जेलबाट छुटेपछि २०७२ मा भएको १३औं महाधिवेशनमा उनलाई उम्मेदवार बन्न दिइयो र लोकप्रिय मतका साथ केन्द्रीय सदस्य चुनिन सफल भए ।
उपसभापति गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धन आयोगले ललितानिवास जग्गा प्रकरणमा २०७६ माघ २२ गते भ्रष्टाचारको मुद्दा चलायो । तर कांग्रेसले गच्छदारलाई निलम्बन गर्न आवश्यक ठानेन । किनकि १४औं महाधिवेशन नजिकिएको थियो र फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराएका उनीसँग भएका महाधिवेशन प्रतिनिधिलाई कसैले पनि बिच्काउन चाहेनन् ।
नेतृत्वमा बस्नेहरूले पार्टी महाधिवेशनमा हुने घाटा–नाफा हेरेर निलम्बन नगरे पनि उनीहरूको पार्टीको राजनीतिक साख फर्किन सकेको छैन, बरु उल्टै साख गिर्ने काम भएको छ ।
कांग्रेसमा रूपान्तरण अभियान चलाइरहेका नेता भुपेन्द्रजंग शाही जनताको अपेक्षा अनुसार निर्णय गर्नुपर्ने बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘सबभन्दा ‘भ्रष्ट कांग्रेस’ भन्ने सन्देश जाने निर्णय गर्न हुँदैन ।’
यसबारेमा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले निलम्बन गर्ने, नगर्ने कांग्रेसको आन्तरिक विषय भएको बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘विगतमा प्रतिरक्षा गरेको उदाहरण समेत रहेका छन्, अहिले पनि अदालती प्रक्रिया चलिरहेका कारण पर्खिन खोजेको होला । पार्टीको सुदृढीकरणका लागि अदालतको अन्तिम फैसला अनुसार हुने गरी निलम्बन वा स्थगित गरेको भए राम्रो हुन्थ्यो ।’
प्रकाशित मिति २०८० श्रावण ८, सोमबार ०९:०१ गते