बेसीशहर– जिल्ला अदालत लमजुङद्वारा ७० प्रतिशत मुद्दा फर्स्योट गरेको छ । जिल्ला अदालतले गत आव २०७९/८० को कुल अवधिमा सो प्रगति हासिल गरेको हो ।
जिल्ला अदालतमा अघिल्लो आवबाट जिम्मेवारी सरेका मुद्दाको संख्या २८१ रहेकोमा गत आवमा ६१८ वटा नयाँ मुद्दा दर्ता भई कुल ९९० मुद्दा पुगेका थिए । तीमध्ये ६२६ मुद्दा फस्र्योट भई ६९.६ प्रतिशत प्रगति हासिल भएको जिल्ला अदालतका नि. स्रेस्तेदार विश्वराज कुइँकेलले बताउनु भयो । उहाँका अनुसार कदैतर्फ ४८ प्रतिशत, जरिवाना ४८ प्रतिशत, फैसला कार्यान्वयनतर्फ ६१ प्रतिशत प्रगति हासिल भएको छ । उहाँले भन्नुभयो ‘कैदतर्फ कुल ६०४ वर्ष, सात महिना, तीन दिन कैद फर्स्योट गर्नु पर्ने थियो भने जरिवानातर्फ नौ करोड ९७ लाख, ८० हजार ८६२ रुपैयाँ फर्स्योट गर्नु पर्ने थियो ।’
कैदतर्फ २९१ वर्ष तीन महिना, २९ दिन फर्स्योट भएको छ । जरीवातातर्फ चार करोड ६२ लाख १३ हजार ५३८ रुपैयाँ फर्स्योट भएको छ । त्यसमध्येमा अदालत आफैले एक वर्ष एक महिना नौ दिन कैदतर्फ र जरिवानातर्फ पाँच लाख ९६ हजार २९९ रुपैयाँ फस्र्योट गरेको जिल्ला अदालतका नि. स्रेस्तेदार कुइँकेलले जानकारी दिनु भयो । उहाँका अनुसार अन्य कैद र जरिवाना प्रहरीमार्फत फर्स्योट गरिएको हो ।
त्यस्तै, जिल्ला अदालतमा दर्ता भएका निवेदनको हकमा अघिल्लो वर्ष जिम्मेवारी सकेका ३३ वटा, गत वर्षका नयाँ थप भएका ११२ गरी कुल १४५ मध्ये ४८ वटा फर्स्योट भएका थिए । विगो भराउनेतर्फ कुल ९४ मुद्दा रहेकोमा ५४ वटा फर्स्योट भई ४० वटा चालु आवका लागि सरेका छन् । क्षतिपूर्तितर्फ चार वटा मुद्दा रहेकोमा चारवटै फस्र्योट भएको नि.स्रेस्तेदार कुइँकेलको भनाइ छ । उहाँका अनुसार पीडितहरूलाई क्षतिपूर्ति रकम दुई तरिकाबाट भराउने निर्णय अदालतबाट हुने गरेको जानकारी दिदै एउटा पीडकबाट भराउने फैसला हुन्छ र अर्को राज्यको पीडित राहत कोषबाट भराउने आदेश हुन्छ । त्यस्तो रकम केही मुुद्दाका पीडितहरू अदालतको सम्पर्कमा नआएकोले भूक्तानी हुन बाँकी रहेको अदालतले जनाएको छ ।
पीडितहरूलाई राज्यको पीडित राहत कोषबाट भराउनु पर्ने क्षतिपूर्ति रकममा चारजना पीडितहरू अदालतको सम्पर्कमा नआएकोले सो भूक्तानी दिन बाँकी रहेको उहाँले उल्लेख गर्नु भयो । उहाँका अनुसार एक जना मियाले ७५ हजार, जबस्जस्ती करणी मुद्दामा एकमा दुई लाख ५० हजार र अर्कोमा ५० हजार, त्यस्ता एक बालहत्याको मुद्दामा व्यक्तिबाट ६० हजार र राहत कोषबाट ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय भएकोमा उल्लेखित मुद्दाका पीडितहरू सम्पर्कमा नआएका कराणले भुक्तानी हुन बाँकी रहेको छ । उहाँले भन्नुभयो, ‘राहत कोषको एक लाख रुपैयाँ जिल्ला अदालतकै खातामा रहेको हुन्छ । त्यो भन्दा बढी रकम पीडितले सम्पर्कमा आएर निवेदन दिनुभएपछि माग गरेर पठाउने र रकम प्राप्त भएपछि सम्बन्धित पीडितलाई भुक्तानी दिने कानुनी प्रावधान अनुसार गर्ने गरिएको छ ।’
उहाँका अनुसार केही व्यक्तिगत क्षतिपूर्तिको रमकसमेत जम्मा भएको तर पीडित पक्ष सम्पर्कमा नआएका कारणले भुक्तानी हुन सकेको छैन त्यस्ता चारवटा मुद्दा रहेको र एक चोरीको र अन्य सबै जबरजस्तीकरणी मुद्दाका रहेको उहाँको भनाइ छ । त्यस्तोमा क्षतिपूर्ति पाउने रकम सात हजारदेखि एक लाख ५० हजार सम्म रहेको छ । शिवराज चौधरी प्रतिवादी भएको मुद्दामा सात हजार क्षतिपूर्तिको निर्णय भएको छ । हजारी साहको सोरी मुद्दामा २३ हजार ६५२ रुपैयाँ, आइतबहादुर गैह्रे र साहसमेत प्रतिवादी रहेको मुद्दामा ५० हजार, भीमसेन आचार्यका बाबु छोरा संलग्न जबरजस्ती करणीको मुद्दामा एक लाख ५० हजार रुपैयाँ अदालतबाट क्षतिपूर्ति भराउने निर्णय भई रकम समेत प्राप्त भएको तर पीडित पक्ष सम्पर्कमा नआउएको नि. स्रेस्तेदार कुइँकेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८० श्रावण ९, मंगलवार ०७:२१ गते