चुनाव खर्च नबुझाउनेको सूचीमा नाम परेपछि सोबिता गौतमको आपत्ति

चुनाव खर्च नबुझाउनेको सूचीमा नाम परेपछि सोबिता गौतमको आपत्ति

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १० गते बुधबार ०६:२३

उहाँले भन्नुभएको छ, ‘निर्वाचन आयोगले कारबाही गर्न उल्लेख गरेको निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ दफा ३१ (४) बमोजिम मेरो नाम पर्नुपर्ने कुनै कानुनी आधार देखिदैन ।

सोबिताद्वारा ०७९ मंसिर २८ गते नै जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा निर्वाचन खर्च विवरण पेस गरेको दावी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले आफूले निर्वाचन आयोगले तोकेकै समयभित्र चुनाव खर्च बुझाएको बताउनु भएको छ । उहाँले ०७९ मंसिर २८ गते नै जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा निर्वाचन खर्च विवरण पेस गरेको साउन ९ गते बताउनु भएको हो ।
आयोगले कानुनको गलत व्याख्या गरी बिना कानुनी आधार आफ्नो नामको दुरुपयोग गरेर चुनाव खर्च नबुझाउनेहरूको सूचीमा राखेको भन्दै ध्यानाकर्षण गराउनु भएको हो । उहाँले भन्नुभएको छ, ‘निर्वाचन आयोगले कारबाही गर्न उल्लेख गरेको निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ दफा ३१ (४) बमोजिम मेरो नाम पर्नुपर्ने कुनै कानुनी आधार देखिदैन । निर्वाचन आयोगले कानुनको गलत व्याख्या गरी, बिना कानुनी आधार मेरो नाम दुरुपयोग गरेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उहाँले निर्वाचनमा तीन लाख ७१ हजार खर्च भएको विवरण पेश गरेको बताउनु भएको छ । 
आयोगले जारी गरेको विज्ञप्तिमार्फत चुनावको खर्च विवरण सार्वजनिक नगर्नेको सूचीमा सोविताको समेत नाम समावेश गरी १५ हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने साउन ९ गते उल्लेख गरेको थियो ।
स्मरणीय छ, आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै सजाय तोकिनेमा प्रतिनिधि सभातर्फका एक हजार ३७ जना र प्रदेश सभातर्फका एक हजार ३९८ गरी कुल दुई हजार ४३५ जना उम्मेदवारहरूलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको उल्लेख गर्नु भएको थियो, जसमा सोविताको समेत नाम थियो ।

प्रकाशित मिति २०८० श्रावण १०, बुधबार ०६:२३ गते
हजुरको प्रतिक्रिया