
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । रास्वपा महामन्त्री मुकुल ढकालले खड्कालाई निलम्बन गरिएको साउन ९ गते बताउनु भएको हो ।
रास्वपा बझाङ संयोजकसमेत रहेका होटल होलिडे इनका सञ्चालक खड्काको निर्देशनमा खप्तड आवाज रेडियोका पत्रकार सुनिल मण्डेललाई साउन ८ गते निवासबाटै अपहरण गरी बन्दी बनाएर आक्रमण गरेको आरोप थियो ।
रास्वपा महामन्त्री ढकालले बताउनु भयो, ‘पत्रकारमाथि हातपात गरेको भनी आएका बझाङका सम्बन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ, अनुसन्धान समितिले थप अनुसन्धान गर्दै छ । अनुसन्धान अनुसार पछि आवश्यक कारबाही गरिनेछ ।’
पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति निकालेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो ।
रास्वपाका निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काविरूद्ध प्रहरीमा उजुरी परेको छ । पत्रकारमाथि हातपात गरेको आरोपमा निलम्बनमा परेका खड्काविरूद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको हो ।
खड्काले आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले कानुन बमोजिम कारबाही गरिपाउँ भनेर पीडित पक्षले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पत्रकार सुनिल मण्डेलले खड्काले आफूलाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेको दावी गर्दै उजुरी दिनु भएको हो ।
बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एंगल अनलाइनमा कार्यरत पत्रकार मण्डेललाई सोमबार घरबाटै अपहरण गरेर होटल होली डे इनमा लगेर कुटपिट गरेको दाबी छ।
खड्कालाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश, बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले विज्ञप्ति जारी गरेका छन् ।
प्रकाशित मिति २०८० श्रावण १०, बुधबार ०६:४९ गते