काठमाडौं– नेपाली कांग्रेसले नीति अधिवेशनको सट्टा आउँदो मंसिर ११, १२ र १३ गते महासमिति बैठक बोलाउने निर्णय केन्द्रीय समिति बैठकबाट गरेको छ । १४ औं महाधिवेशनका बेला २०७८ मंसिरमा नेतृत्व मात्रै चयन गरेर नीति अधिवेशन ६ महिनाभित्र गर्ने भन्दै गरिएको निर्णयले हावा खाएको साउन १० गते खुलासा गरिएको हो ।
पार्टी कार्यालय, सानेपामा ७ दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकको निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मंसिर महासमिति बैठक गर्ने प्रस्ताव पारित भएको बताउनु भयो । उहाँले नीति अधिवेशनमार्फत् गर्ने निर्दिष्ट गरिएका कार्य गर्ने गरी २०८० मंसिर ११, १२ र १३ गते महासमिति बैठक काठमाडौंमा बस्ने भएको जानकारी दिनुभएको हो ।
पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताउँदै बैठक लाइभ गरेका कारण कांग्रेसमा कोहीभन्दा कोही कम नभएको संसारले थाहा पाएको स्पष्ट्याउनु भयो । उहाँले धेरै विषयमा जीवन्त छलफल भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्णयमा छुटेका विषयहरू पदाधिकारी बैठकले टुंगो लगाउने छ ।’
महामन्त्री विश्वप्रकाश शर्माले बैठकको निर्णय सुनाउँदै सांगठनिक सुदृढीकरणका लागि ‘साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान र भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय भएको’ बताउनु भयो । यसका लागि ७७ जिल्ला र ७५३ स्थानीय तहमा प्रतिनिधि खटाइने छ । अभियानमा सदस्यता वितरण, तहगत समितिको क्रियाशीलता, यथार्थ विश्लेषण र संगठन सुदृढीकरण तथा सबलीकरणको काम हुने कांग्रेसले जनाएको छ ।
न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको कारण देखाउँदै मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन सरकारसँग माग गरिएको शर्माले बताउनु भयो । उहाँका अनुसार बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको छ । कांग्रेसले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने निर्णय गर्दै भ्रष्टाचारमा कोही दोषी नउम्किउन्, कोही निर्दोष नफसुन् भन्ने नीति लिएको छ ।
केन्द्रीय समिति बैठकले सुशासनबारेमा १५ बुँदे प्रस्ताव पारित गरेको बताएको छ । काँग्रेसले सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई अविलम्ब र कारबाही गर्न माग गरेको छ । तर भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको हकमा भने कांग्रेस मौन बसेको छ । त्यसैले, भ्रष्टाचारको जरा उखेलिन त के हल्लिक पनि कठिन हुने भएको आंकलन गरिएको छ । त्यसो त कांग्रेस बैठकमा खाँणको विपक्षमा भन्दा पक्षमै पैरवी गर्ने संख्या अधिक रहेको थियो ।
महामन्त्री गगन थापा ‘नोट अफ डिसेन्ट’ :
यसैबीच, कांग्रेसका अर्का महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारको आरोपमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पार्टी सदस्यबाटै निष्कासन गर्नुपर्ने र अनुसन्धानका लागि सघाउ पुर्याउनुपर्ने भन्दै पार्टीको केन्द्रीय समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराउनु भएको छ । बैठकमै खाँणलाई निलम्बन गर्नुपर्ने लिखित मत दर्ज गराउनु भएकोमा त्यसबारेमा कुनै निर्णय नभई बैठक टुंगिएपछि सो निर्णयमा फरक मत राख्दै फौजदारी कसुरको अभियोग लागेका जो कोहीलाई निलम्बन गर्नुपर्ने लिखित मत थापाले राख्नु भएको हो ।
बैठकपछि भएको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले आरोप लगाउँदैमा कोही दोषी नहुने भन्दै खाँणको बचाउ गर्नुभएको थियो ।
बैठकमा थुप्रै नेताहरूले खाँणको बचाउ गरेका थिए भने केही नेताहरूले भने उनलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए ।
विजेता वागीको कारवाही फुकुवा :
केन्द्रीय समिति बैठकले प्रदेश सांसद र मेयरसहित बागी विजेता एक दर्जन कांग्रेस नेताको कारबाही फुकुवा गरेको जानकारी दिइएको छ । कारबाही फुकुवा हुनेमा जुम्ला १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित देवेन्द्र शाही र सर्लाही २ को १ बाट निर्वाचित जंगीलाल रायलगायत रहनु भएको छ । अन्यको हकमा पछि निर्णय गर्ने बताइएको छ ।
अन्य निर्णयमा ‘जातीय विभेद, घरेलु हिंसा या अन्य सामाजिक विसंगतिहरूमा प्रमाणित वा कुनै पनि प्रकृतिका मागहरू अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्ने घटनामा आबद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज हुन्छ,’ महामन्त्री शर्माले जानकारी दिनुभयो । आगामी भदौदेखि अर्को वर्षको जेठ १५ मा कार्यक्रम घोषणा गरेको छ । जसमा साउन २७ गते युवा र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम केन्द्रदेखि सबै स्थानीय तहमा चल्ने बताइएको छ ।
महामन्त्री शर्माले केन्द्रीय समितिको निर्णय सुनाउँदै भ्रातृ संस्था दलित संघले अधिवेशन गर्न नसकेपछि भंग गरेर १५ भदौ भित्र तदर्थ समिति गठनको जिम्मा सभापतिलाई दिएको छ ।
विधान कार्यान्वयन गर्ने सभापतिको संकेत :
सभापति देउवाले अर्को केन्द्रीय कार्यसमिति बैठक भने आजै बोलाएर विधन कार्यान्वयनको संकेत देखाउनु भएको छ । बैठकमा उठेका प्रश्नको जवाफ सभापतिकोतर्फबाट उपसभापति खड्काले दिनु भएको थियो । त्यसपछि देउवाले ‘‘धेरै बोल्नु छैन’ भन्दै कुरा टुंग्याउनु भएको थियो ।
कांग्रेसको विधान अनुसार केन्द्रीय समितिको बैठक २ महिनामा एकपटक बस्नुपर्ने व्यवस्था छ । देउवाले अर्को बैठक मिति घोषणा गरेर विधानको कार्यान्वयन हुने संकेत गर्दै बैठक अन्त्य गर्नु भएको हो ।
पार्टीको सांगठनिक र समसामयिक विषयमा विभिन्न निर्णय लिँदै कांग्रेस बैठक समापन भएको हो । सो बैठक सात दिनसम्म चलेर समापन भएको हो । साउन २ गतेबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सात दिन चलेर सकिएको हो ।
प्रकाशित मिति २०८० श्रावण ११, बिहीबार ०९:४३ गते