रोकिएको वस गुडेर दुर्घटनामा परी घाइते २२ वर्षीया युवतीको उपचारको क्रममा निधन

रोकिएको वस गुडेर दुर्घटनामा परी घाइते २२ वर्षीया युवतीको उपचारको क्रममा निधन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १२ गते शुक्रबार ०९:१२

बेसीशहर नगरपालिका– ८ को शेरा फिल्महल चोकको बस टिकट काउन्टर नजिकै ओरालोमा रोकेर राखेको बस एक्कासी गुडेर दुर्घटना हुँदा मिष्मा गुरुङसहित ६ जना घाइते भएका थिए । अन्य ५ जनाको अवस्था सामान्य रहेकोमा सवै लमजुङ अस्पतालमा सामान्य उपचार गरी हिजै घर फर्केका थिए ।

भक्ति आदर्श बहुमुखी क्याम्पसको विएड चौथो वर्षमा अध्ययररत छात्रा थिइन् मृतक मिष्मा गुरुङ

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाममा रोकिएको वस गुडेर दुर्घटनामा परी घाइते युवतीको उपचारको क्रममा निधन भएको छ । बेसीशहर नगरपालिका– ८ शेरामा रोकी राखिएको बस गुडेर दुर्घटनामा परी गम्भीर घाइते २२ वर्षीया युवतीको उपचारको क्रममा साउन १२ गते दिउँसो मृत्यु भएको हो ।
मृतक लमजुङको राइनास नगरपालिका– ९, कुवापानी घर भइ हाल भोटेओडार बस्दै आएकी २२ वर्षीय मिष्मा गुरुङ गम्भीर घाइते भएकी थिइन् । बेसीशहरबाट डुम्रेतर्फ जानको लागि तयारी अवस्थामा रहेको ना ५ ख ४०८१ नम्वरको वस ओरालोबाट गुडेर भीरतर्फ खस्दा उनी घाइते भएकी थिइन् । लमजुङ अस्पतालमा प्राथमिक उपचार पछि हिजौ उनलाई चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको आज दिउँसो करिब २ बजे निधन हुन गएको प्रहरीले जनाएको छ ।
बेसीशहर नगरपालिका– ८ को शेरा फिल्महल चोकको बस टिकट काउन्टर नजिकै ओरालोमा रोकेर राखेको बस एक्कासी गुडेर दुर्घटना हुँदा मिष्मा गुरुङसहित ६ जना घाइते भएका थिए । अन्य ५ जनाको अवस्था सामान्य रहेकोमा सवै लमजुङ अस्पतालमा सामान्य उपचार गरी हिजै घर फर्केका थिए ।
मृतक मिष्मा गुरुङ भक्ति आदर्श बहुमुखी क्याम्पसको विएड चौथो वर्षमा अध्ययररत छात्रा थिइन् । उनी मिलनसार र अनुशासित विद्यार्थी भएको सो क्याम्पसका प्रमुख हुमबहादुर कार्कीले बताउनु भएको छ । उनको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना उहाँले व्यक्त गर्नु भएको छ ।
प्रहरीका अनुसार हिजो दिउँसो साँढे २ बजेतिर बस दुर्घटना भएको थियो । गुडेको बस पाखुरीको रुखमा अड्किएर १२ जना यात्रुको ज्यान जोगिएको थियो । फिल्महल तोकको बस काउन्टर रहेको ओरालो ठाउँमा बस रोकिएको र टायरमा कुनै ‘ओट’समेत नराखी चालक स्टेरिङ छोडेर निस्किएका कारणले बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
उक्त बसमा १२ जना यात्रु रहेको र गुडेर खसेपछि पाखुरीको रुखले रोकेको कारण बढी क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार बस चालक खोटाङ घर भई हाल तनहुँको भानु नगरपालिका ९ बाइसजाँगर बस्ने ३० वर्षीय हेमन्त तामाङलाई पक्राउ गरी सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति २०८० श्रावण १२, शुक्रबार २१:१२ गते
हजुरको प्रतिक्रिया