वडाबासीको उजुरीमा सफाई दिन सुन्दरबजार नगरपालिकाको न्यायिक समितिमा धाउँदै वडाध्यक्ष थापा

वडाबासीको उजुरीमा सफाई दिन सुन्दरबजार नगरपालिकाको न्यायिक समितिमा धाउँदै वडाध्यक्ष थापा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १३ गते शनिवार ०९:१६

जम्मा छ बुँदा अर्थात विषय उल्लेख गरिएको उजुरी पत्रमा उजुरी गर्नेमा १६ जना स्थानीयको हस्ताक्षर रहेको छ । वडाध्यक्ष थापा र उजुरकर्ताहरूका बीचमा न्यायिक समितिमा पहिलो चरणको छलफल भइसकेको जानकारीमा आएको छ ।

वडानं– ८ का वडाध्यक्ष बिजेन्द्र थापा विरुद्ध १६ जना वडाबासीद्वारा छ बुँदे लिखित उजुरी दर्ता पछि न्यायिक समितिले वडाध्यक्ष थापालाई बोलाएको हो ।

भोटेओडार(लमजुङ)– वडाध्यक्षको पदमा निर्वाचित भएको छोटो अवधिमा नै काण्डैकाण्डका पर्याय बनेका सुन्दरबजार नगरपालिका– ८ का वडाध्यक्ष बिजेन्द्र थापाका विरुद्ध पछिल्लो पटक सुन्दरबजार नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता भएको छ । वडावासीलाई न्यायको प्रत्याभुति दिलाई पाउँ भन्ने विषय खोलेर उजुरी दर्ता भएको हो । स्थानीय वडाबासीहरूले नै वडाध्यक्ष थापका विरुद्धमा उक्त उजुरी दर्ता गराएका हुन् । सोही उजुरीका आधारमा न्यायिक समितिले वडाध्यक्ष थापालाई झिकाएर साउन १२ गते पहिलो छलफल गरेको हो ।
पीडितहरूले न्यायिक समितिका नगपालिकाले तोकेको शुल्क एक सय दश रुपैयाँ समेत तिरेर उजुरी दर्ता गराएको जानकारीमा आएको छ । जम्मा छ बुँदा अर्थात विषय उल्लेख गरिएको उजुरी पत्रमा उजुरी गर्नेमा १६ जना स्थानीयको हस्ताक्षर रहेको छ । वडाध्यक्ष थापा र उजुरकर्ताहरूका बीचमा न्यायिक समितिमा पहिलो चरणको छलफल भइसकेको जानकारीमा आएको छ ।
उजुरी पत्रको पहिलो बुँदामा वडाध्यक्ष थापाले राजश्व समेत नतिरी नीति र विधि बिपरित ढुंगा र बालुवा बितरणको काम गरेको बताइएको छ । दोस्रो बुँदामा ग्रामीण सडक सफा गर्ने काममा रकम भुक्तानी नदिएको दावी गरिएको छ । त्यस्तै, सोही वडामा रहेको अकला मन्दिरको रकम अपचलनको विषयसमेत उठाइएको छ । त्यसैगरी, वडाबाट आफूखुशी योजना छनौट गरी नगरापलिकामा पेश गरेको समेत स्थानीयको दावी छ ।
उजरीको पाँचौं नंबर बुँदामा वडामा विकासका योजनाका काम गर्दा उपभोक्ता समितिमार्फत गर्नु पर्नेमा सो समिति नै गठन नगरी नक्कली समिति खडा गरी आफ्नै श्रीमती, भाइ र आफन्त राखी आफू अनुकुलका निर्माण व्यावसायीलाई काम दिएर गुणस्तरहीन रुपमा निर्माणको काम गरिएको दावी गरिएको छ ।
उजुरीको अन्तिम नम्बर बुँदामा भोटेवडार कृषि तथा फलफूल केन्द्रमा वडा र सरोकारवालाको निर्णय बिना कार्यपालिकाको बैठकमा निर्णय स्वीकृत गराएर सार्बजनिक सम्पत्ति र पैसाको दोहन गर्ने गरेको विषय उल्लेख छ ।

उजुरकर्ताहरू सर्वसाधारण नागरिक नभई समाजमा विशेष पहिचान भएका, विभिन्न संस्थाहरूको जिम्मेवार पद लिइरहेका र त्यस्तो जिम्मेवारीमा रहेर काम गरेका अनुभवी व्यक्तिहरू रहनुभएको जानकारीमा आएकोछ । उजुरकर्ता एक जना त सो वडाको सदस्य समेत हुनुहुन्छ भने नेपाली काँग्रेसका वडा सभापति, राप्रपाका पदाधिकारी, मन्दिर व्यवस्थापन समिति तथा क्लब आदिका पदाधिकारी समेत भएबाट उजुरीमा उठाइएका विषय पेचिला भएको सहजै आंकल गर्न सकिने बताइएको छ ।
नगरपालिकाको विकासका योजनाको अनुगमन समितिको संयोजक पनि उपमेयर नै हुने हुँदा यो उजुरीले उपमेयर केसीको कार्यशैलीप्रति समेत प्रश्न उठेको आम बुझाई छ ।
यस विषयमा न्यायिक समितिका संयोजक रहनुभएकी सुन्दरबजार नगरपालिका उपमेयर भवानी केसीले उजुरी परेपछि दुबै पक्षलाई बोलाएर एकपटक छलफल भएको छ । दुबैतर्फबाट सकारात्मक रुपमा कुरा आएको उहाँको भनाइ छ ।
सो सम्बन्धमा वडाध्यक्ष थापासँग पटक पटक सम्पर्कको प्रयास गर्दा सफल हुन सकेन ।
यसअघि विभिन्न काण्ड मच्चाएर पैसा र पहुँचको आडमा उम्कदै आएका वडाध्यक्ष थापाका बारेमा योसँगै अन्य काण्डहरूका बारेमा पनि न्यायिक निकायहरूमा उजुरी पर्यो भने आश्चर्य हुनेछैन ।

प्रकाशित मिति २०८० श्रावण १३, शनिबार २१:१६ गते
हजुरको प्रतिक्रिया