बेसीशहर– नेपाल पब्लिक क्याम्पस संघको गण्डकी प्रदेशस्तरीय दोस्रो अधिवेशनबाट लमजुङका विष्णुकमारश्रेष्ठ कोषाध्यक्ष चयन हुनुभएको छ । मातृभूमि बहुमुखी क्याम्पस, सुन्दरबजारको व्यवस्थापन समितिका अध्यक्ष एवम् लमजुङको पहिलो पत्रिका अन्तरङ्गको व्यूरोप्रमुख, सामाजिक व्यक्तित्व श्रेष्ठ साउन १३ गते कोषाध्यक्ष चयन हुनुभएको हो ।
अधिवेशनले १९ सदस्यीय समिति चयन गरेको छ । मर्स्याङदी बहुमुखी क्याम्पस बेसीशहरका प्रमुख हरिबाबु थापा संयोजक रहनु भएको निर्वाचन समितिले निर्वाचन गराएको हो । समितिको अध्यक्षमा ऋषिराम बुढाथोकी कास्की, उपाध्यक्ष प्रथम महेन्द्रप्रसाद पोखरेल नवलपुर, दोस्रो– गोखबहादुर जिसी म्याग्दी, तेस्रो– मुनादेवी लम्साल नवलपुर चयन हुनुभएको छ ।
यसैगरी, सचिवमा दिपेन्द्र पौडेल नवलपुर, कोषाध्यक्ष विष्णकुमार श्रेष्ठ लमजुङ र विजय शर्मा सहसचिव कास्की चयन हुनु भएको निर्वाचन समितिका संयोजक थापाले बताउनु भयो ।
उहाँका अनुसार सो समितिको सदस्यहरूमा देवीप्रसाद सुवेदी नवलपुर, युवराज पाठक स्याङ्जा, हरिप्रसाद सुवेदी तनहूँ, निराजनप्रसाद चौधरी नवलपुर, एकनारायण भट्टराई पर्वत, झमनबहादुर थापा वाग्लुङ, सोही जिल्लाकी फूलकुरमारी शर्मा, मञ्जु पनेरु स्याङ्जा र महेन्द्रराज अधिकारी कास्की हुनुहुन्छ । रिक्त एकपदमा कार्य समिति बैठकबाट मनोनित गरिने बताइएको छ ।
दुई दिने सो अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उदघाटन गर्नु भएको थियो । सो अवसरमा क्रियाशील क्याम्पस प्रमुखका रुपमा मर्स्याङदी बहुमुखी क्याम्पस बेसीशहरका प्रमुख हरिबाबु थापालाई सम्मान गरिएको थियो ।
सो अधिवेशनमा गण्डकी प्रदेशका ८३ वटा क्याम्पसका प्रतिनिधिहरूले भाग लिएका थिए ।
प्रकाशित मिति २०८० श्रावण १४, आईतवार ०८:२० गते