शान्ति मा.वि.मा सार्वजनिक अडिट पछि अलपत्र ऋण उठ्ने संकेत

शान्ति मा.वि.मा सार्वजनिक अडिट पछि अलपत्र ऋण उठ्ने संकेत

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १६ गते मङ्गलबार ०३:२८

कुन्छा(लमजुङ)– शान्ति मा.वि. सोसल अडिटका गतिविधि सार्बजनिक भए पछि विद्यालयको ऋण उठ्ने संकेत देखिएको छ । सुन्दरबजार नगरपालिका– १ स्थित शान्ति मा.वि.मा सार्वजनिक अडिट पछि लामो अवधिसम्म नउठेको ऋण उठ्ने संकेत देखिएको हो । सो विद्यालयबाट...

कुन्छा(लमजुङ)– शान्ति मा.वि. सोसल अडिटका गतिविधि सार्बजनिक भए पछि विद्यालयको ऋण उठ्ने संकेत देखिएको छ । सुन्दरबजार नगरपालिका– १ स्थित शान्ति मा.वि.मा सार्वजनिक अडिट पछि लामो अवधिसम्म नउठेको ऋण उठ्ने संकेत देखिएको हो ।
सो विद्यालयबाट सुन्दरबजार नगरपालिकाका पूर्वमेयर जनकराज मिश्रले आफू विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनुहुँदा लिनु भएको ऋणको सावा रकम पुरै एक लाख ५० हजार फिर्ता गर्नु भएको छ । उहाँले एक लाख व्याजसहित सो रकम फिर्ता गर्नु भएको हो । ‘व्याज रकम नपुग भए हिसाव गरेर भन्नु म बुझाउछु’ विद्यालयका प्रधानाध्यापक उत्तम बसेललाई आफूले भनेको मिश्रले बताउनु भयो । उहाँका अनुसार यो बहिर ल्याएर मिडियावाजी गर्नु पर्ने विषय होइन/थिएन । पैसा चाहियो भनेको भए म तिरिदिन्थे । उहाँले भन्नुभयो, ‘सो रकम मैले चेकमार्फत लिएको र बैंक स्टेटमेन्टमा समेत देखिने हुँदा त्यो गलत नियतले लिएको होइन भन्ने सिद्ध हुन्छ, समाचारमा बदनाम गर्ने नियत लुकेको देखिन्छ ।’ ०६२ सालमा लिएको भनिएको १८ हजार रुपैयाँ ऋण होइन, केही साथीले स्कूललाई दिने भनेको चन्दा मलाई दिन्छु भनेको र लामोसमय बाँकी रहेको हुँदा मैले तमसुक बनाई दिएको हुँ मिश्रले भन्नुभयो । उहाँले थप भन्नुभयो, ‘त्यो विद्यालयमा मेरो हजुरबाकै पालादेखि ठूलो लगानी छ, विद्यालय बनाउनमा । त्यस्तो योगदान गर्ने परिवार हो हाम्रो र अझै पनि आवश्यक पर्दा सहयोगका लागि तयार छौं भने विद्यालयको कुभलो चिताउने वा अहित हुने काम गर्ने भन्ने नै हुँदैन ।’
यसबारेमा अघिल्लो कार्यकालमा समेत व्यवस्थापन समितिको सदस्य रहनु भएकी सन्तोषी गौलीसँग सम्पर्क गर्दा उहाँले सुरुमा त ‘म बोल्दिन’ भन्नुभयो । तपाई दुई कार्यकाल व्यवस्थापन समितिमा बसिसक्नु भएको अनुभवी व्यक्ति विद्यालयको बारेमा बोल्न चाहनु हुन्न भने को बोल्छ ? भन्ने जिज्ञासामा ‘मेरो भ्वाइँस रेकर्ड त गर्नु भएको छैन नि ?’ भन्नुभयो । छैन, भनेपछि सो कुरा सोसल अडिटका क्रममा खुलासा भएको हो तर बाहिर कसरी आयो भन्ने बारेमा भने म आफू पनि अनविज्ञ छु उहाँले भन्नुभयो । उहाँका अनुसार स्थायी शिक्षक बाहेकलाई ऋण लगानी गर्दा उठाउन कठिन हुन थाल्यो र बाहिर लगानी नगर्ने निर्णय भएको हो । पहिले ऋण लिने एक जनाको एक लाख रुपैयाँ अझै उठाउन बाँकी छ त्यो त प्रक्रिया अनुसार भएको हुँदा उहाँको नाम सार्वजनिक नभएको होला उहाँले भन्नुभयो । उहाँको नाम र ऋण लिएको मिति भन्न मिल्दैन ? भन्ने जिज्ञासामा यो त प्रधानाध्यापकलाई सोध्नु पर्छ भन्नुभयो ।
यसबारेमा सो विद्यालयका प्रधानाध्यापक उत्तम बसेलसँग सम्पर्क गर्दा म त नयाँ मान्छे हुँ तपाईलाई थाहा छ, सबै कुरा बुझन् पनि बाँकी छ । भोलि सञ्चालक समितिको बैठक छ, त्यो भन्दा अघि केही नबोल्ने भन्ने सहमति भएको छ ‘म बोल्दिन’ उहाँले भन्नुभयो । विद्यालयका बारेमा प्रअले बोल्न नहुने ? कहाँको नियम हो ? भन्ने जिज्ञासामा ‘थप कुरा भोलि मात्रै गरौंला’ भन्नुभयो ।
त्यसपछि हामीले सो विद्यालयका लेखापाल मिखमाया गुरुङसँग सम्पर्क गर्यौं । उहाँले पुरानो ऋणीसँग एक लाख साँवा रहेको छ, व्याज रकम विद्यालयको काम उहाँलाई गर्न दिएर हिसाव मिलाएको हो भन्नुभयो । विद्यालयसँग स्वार्थ गाँसिएका मान्छेलाई विद्यालयको काम(ठेक्का) गर्न दिन हुन्छ त ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, त्यो त मैले दिएको हैन भन्नुभयो । ऋण कहिले लग्नु भएको हो ? फिर्ता गर्ने अवधि पुगेको छैन ? उहाँको नाम के हो नि ? भन्ने जिज्ञासामा उहाँलाई पटक पटक पत्र लेखेर ऋण फिर्ता गर्न भनेको छौं । उहाँले २०६३/६४ मा ऋण लग्नु भएको जस्तो लाग्छ म विद्यालय बाहिर, आज बिदामा छु उहाँले भन्नुभयो भने ऋणीको नाम भन्न लेखापाल गुरुङले चाहनु भएन ।
२०६३/६४ मा ऋण लिएर आजसम्म चुक्ता नगर्ने व्यक्ति आत्माराम अधिकारी भएको विद्यालयको गोप्य स्रोतबाट खुल्न आएको छ ।
शान्ति मावि मात्र हैन, यस जिल्लामा यस्ता धेरै विद्यालय भएको स्रोतको दावी छ । केही वर्ष अघि लमजुङकै एक विद्यालयका प्रधानाध्यापकले विद्यालयको रकम आफूले वार्षिक एक प्रतिशत व्याजमा लिएर सोही रकम गाउँमा मासिक पाँच प्रतिशत व्याजमा लगाएको खुल्न आएको थियो– यस्ता, अत्यन्त न्यून संख्याका विद्यालयको मात्र समाचार बन्ने गरेका छन् ।
विद्याको मन्दिरका रुपमा परिचित विद्यालयको ‘आन्तरिक कोष’ रकमको अवस्था कुन कुन विद्यालयमा के कस्तो छ ? र कहाँ कहाँ दुरुपयोग भएको छ ? त्यस्ता विद्यालय खोजीको अविरल यात्रामा हामी रहेको सम्बन्धित सबैमा जानकारी गर्दछौं ।

प्रकाशित मिति २०८० श्रावण १६, मंगलवार १५:२८ गते
हजुरको प्रतिक्रिया