संस्कार, संस्कृतिको जर्गेना गर्दै सेवामा समर्पित आमा मिलन समूह

संस्कार, संस्कृतिको जर्गेना गर्दै सेवामा समर्पित आमा मिलन समूह

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १८ गते बिहिबार ०९:०१

भाटबेसी, मध्यनेपाल(लमजुङ)– स्थानीय आमा मिलन समूह आफ्नो परम्परागत संस्कार, संस्कृतिको जर्गेना गर्दै सेवाका काममा समेत समर्पित रहँदै आएको छ । लमजुङको मध्यनेपाल नगरपालिका– ७ को भाटबेसी गाउँमा रहेको सो समूहले त्यस्तो कार्य गर्ने...

भाटबेसी, मध्यनेपाल(लमजुङ)– स्थानीय आमा मिलन समूह आफ्नो परम्परागत संस्कार, संस्कृतिको जर्गेना गर्दै सेवाका काममा समेत समर्पित रहँदै आएको छ । लमजुङको मध्यनेपाल नगरपालिका– ७ को भाटबेसी गाउँमा रहेको सो समूहले त्यस्तो कार्य गर्ने गरी आएको साउन १४ गते खुसाला भएको हो ।
सो स्थानमा ऐतिहासिक बालुनको छायांकनको स्थानीय ईशानेश्वर बालुन समूहले आयोजना गरेको थियो । सो अवसरमा बहुचर्चित सांगीतिक कार्यक्रम ‘इन्द्रणी’ टोलीलाई विशेष आमन्त्रित थियो भने राष्ट्रिय लोक भजन, चुड्का संरक्षण समिति नेपाल र ठाडोभाका लोककला प्रतिष्ठान नेपालको टिम पनि आमन्त्रित थिए । ती सबैको खानपिन र बसोबासको प्रबन्ध आमा मिलन समूहले गरेको थियो । त्यस कार्यबाट सो समूहको सेवाको कार्य उजागर भएको हो ।
२०५२ सालमा स्थापना भई २०५६ सालदेखि वैधानिक रुपमा सञ्चालन हुँदै आएको उक्त समूहको अध्यक्ष बद्रीदेवी घिमिरे हुनु हुँदोरहेछ । उहाँका अनुसार सो समूहको संस्थापक अध्यक्ष सीता घिमिरे तथा निवर्तमान अध्यक्ष विष्णुमाया घिमिरे हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘यो समूह सञ्चालनको अवधि लामो भएता पनि अधिवेशन हुँदा दिदी बहिनीहरूको सहमतिमा २, ४ जना फेरिए पनि अध्यक्षमा भने खासै परिवर्तन हुने नगरेको हुँदा ऐलेसम्म तीन जनामात्र अध्यक्ष भयौं ।’ सो समूहको कार्यकाल चार वर्ष हुने विधानमा उल्लेख रहेको उहाँले बताउनु भयो ।
७९ जना(घर परिवारका) आमा, दिदी, बहिनीहरू आवद्ध रहेको सो समूहको कार्यसमितिले आजका दिनसम्म गरेका मुख्य कार्यमा समूहको भवन तथा सभाहल निर्माणका लागि जग्गा (आठ रोपनी क्षेत्रफल)को निःशुल्क जोगाड, खानेपानी योजना निर्माणमा श्रमदानबाट सहयोग, मन्दिर निर्माणमा सहयोग, असाध्य रोग क्यान्सर आदिबाट पीडितलाई उपचार खर्च वापतको सहयोग, गाउँघरमा आएका सानातिना विकासका योजनामा उपस्थिति र सहभागिता आमा मिलन समूहको विशेषता रहेको निवर्तमान अध्यक्ष विष्णुमाया घिमिरेले बताउनु भयो । उहाँका अनुसार उहाँले वर्तमान अध्यक्षलाई नेतृत्व हस्तान्तरण गर्नु भएको चार वर्षमात्र हुँदैछ । त्यसैले समूहको महत्वपूर्ण कार्य आफू अध्यक्ष भएको बेलामा सबैको सहयोगबाट सम्पन्न गर्न सकिएको हो उहाँले गर्वका साथ सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘यो सबै संरचना निर्माण गर्दा करिब १५ लाख रुपैयाँ खर्च भएको छ र त्यो सबै विभिन्न स्थानबाट दाता खोजेर र आफूहरूले विभिन्न नाचगान गरी संकलन गरेको रकमबाट सम्भव भएको हो ।’
त्यस्तै, समूहका लागि करिब डेढसय मानिसलाई विवाह ब्रतबन्धको बेलामा खाना पकाउने, खाने भाडाहरू सेटको खरिद, फर्निचरको प्रवन्ध आदि समेत हामी आफैले गरेका हौ अध्यक्ष बद्रीदेवी घिमिरेले बताउनु भयो । उहाँका अनुसार अब भाञ्सा घर तत्कालै बनाउनु पर्ने छ । उहाँले भन्नुभयो, ‘भवन सुरुमा स्थानीय युवा क्लबले बनाउन थालेको हुँदा यौटा कोठामा उनीहरूले कार्यालय सञ्चालन गरेका छन् । अरु सबै हामीले प्रयोग गरिआएका छौं ।’ क्लब र बाबाहरूको काम पर्दा हलको उपयोग गर्नु हुन्छ उहाँले जानकारी दिनुभयो ।
संस्कार संस्कृतिको संरक्षणका क्रममा उहाँहरूले भजनको राम्रो जगेर्ना गर्नु भएको रहेछ । त्यस्तै, तीजको बेलामा पनि समसामयिक गीतका साथ हरेक वर्ष प्रस्तुत हुने गरेको उहाँहरूको भनाई छ । साउन १५ गतेको उक्त कार्यक्रममा पनि उहाँहरूले स्वागत गीत र नृत्य प्रस्तुत गर्नु भएको थियो ।
उक्त आमा मिलन समूहलेझैंं हरेक गाउँका आमा, दिदी, बहिनीहरूले समूह गठन गरी आफ्नो परम्परागत संस्कार संस्कृति, भेषभुषाको जगेर्नाका साथमा सेवाका कार्य गर्न जरुरी देखिन्छ ।

प्रकाशित मिति २०८० श्रावण १८, बिहीबार २१:०१ गते
हजुरको प्रतिक्रिया