सर्वोदयमा ‘मेरो ममता’ छात्रवृत्ति वितरण

सर्वोदयमा ‘मेरो ममता’ छात्रवृत्ति वितरण

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन २१ गते आईतबार ०६:३७

११ वटा विद्यालयका २२ जना गरिब तथा जेहन्दार छात्र छात्रालाई सो छात्रवृत्ति विगत १० वर्षदेखि बितरण गर्दै आएको कार्यलाई यो वर्ष पनि निरन्तरता दिइएको हो ।

विकास गर्दा प्रकृति, संस्कृति र मौलिकता हटाउन नहुने जापानी नागरिक तोमोको यामातोको धारणा

पाउँदी(लमजुङ)– सर्वोदय सेवाश्रममा आयोजित एक कार्यक्रमका बीच ‘मेरो ममता’ छात्रवृत्ति वितरण गरिएको छ । नेपाल जापान नेचर एण्ड पिस फाउन्डेसनको सहयोग र सर्वोदय सेवाश्रमको समन्वयमा बिगत १० बर्षदेखि नियमित बितरण गर्दै आएको सो छात्रवृत्ति यस वर्ष पनि निरन्तरता दिदै साउन २० गते वितरण गरिएको हो ।
उक्त संस्थाका संस्थापक द्वय पर्मेश्वर कार्की र तोमोको यामातो (चमेली)बाट सर्वोदय सेवाश्रममा एक कार्यक्रमका बीच सम्बन्धित विद्यार्थी र उनीहरूका अभिभावकलाई छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो । सो कार्यक्रम अन्तरगत यस बर्ष पनि ११ वटा विद्यालयका २२ जना गरिब तथा जेहन्दार छात्र छात्रालाई बितरण कार्य गरिएको आश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनु भयो ।
उहाँका अनुसार प्रत्येक विद्यार्थीलाई बार्षिक पाँचहजार रुपैयाँका दरले स्टेशनरी र पोशाकमा सहयोग पुगोस र पढ्न उत्प्रेरणा मिलोस भन्ने उद्देश्यले जापानी नागरिकहरूले व्यक्तिगत रुपमा यो सहयोग संस्थामार्फत पठाएका हुन् ।
सो अवसरमा जापानी नागरिक तोमोको यामातोले छात्रवृत्ति रकम वितरण गरेपछि यहाँका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एक एक जना जापानीले सौजन्य गरेको जानकारी दिनुभयो । उहाँले नेपालको प्रकृती, संस्कृति र मौलिकता नेपालका सम्पती हुन्, त्यही कुराहरूले विदेशीलाई आकर्षित गरेका हुन्, नेपालले ती कुरा बचाउन सक्नु पर्छ भन्नुभयो । यी कुरा हरायो भने फेरि बनाउन सकिन्न तर विकास त पछि पनि गर्न सकिन्छ उहाँको धारणा थियो । विकास गर्दा प्रकृति, संस्कृति र मौलिकता हटाउनु हुँदैन तोमोको यामातोको भनाइ छ ।
१० बर्ष अगाडिदेखि ‘मेरो ममता’ छात्रवृत्तिका साथै ‘माया ममताका साथ शिक्षा’ बिषयमा शिक्षक र अभिभावकलाई तालिम, राइनासकोट पुनःनिर्माणमा आर्थिक तथा बस्तुगत सहयोग, सर्वोदय सेवाश्रमबाट सञ्चालित जेष्ठनागरिक आश्रममा बस्तुगत सहयोग र लमजुङको ग्रामीण पर्यटन प्रबद्र्धनमा उत्प्रेरणा प्रचार जस्ता शैक्षिक, मानवीय र राहत सहयोगमा नेपाल जापान नेचर एण्ड पिस फाउन्डेसनले सर्वोदय सेवाश्रमसंग सहकार्य गर्दै आएको छ ।
जापानको हिरोशिमा निवासी तोमोको यामातो र जाजरकोट जन्मघर भएर बिगत ३२ बर्षदेखि जापानमा बस्नुहुने कम्प्युटर सिस्टम ईन्जिनियर पर्मेश्वर कार्की– जो यो संस्थाका संस्थापकसमेत हुनुहुन्छ । उहाँले १० महिना जापानमा काम गरेर २ महिना नेपालमा सामाजिक काम र पर्यटनका लागि उहाँहरू हरेक बर्ष आउने गर्नु हुन्छ ।

प्रकाशित मिति २०८० श्रावण २१, आईतवार ०६:३७ गते
हजुरको प्रतिक्रिया