काठमाडौं– नेकपा (एकिकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले फेरि काँग्रेस वर्ग दुष्मन किटान गरी अघि बढ्नु पर्ने, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन गर्न अमेरिकीहरूले दबाब दिइरहेको बताउनुभएको छ । पार्टीको जारी स्थायी कमिटी बैठकमा १६ पेजको लिखित दस्तावेज प्रस्तुत गर्दै नेता खनालले साउन २१ गते त्यस्तो बताउनु भएको हो ।
नेता खनालले बैठकमा १६ पेज लामो लिखित ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ नामक दस्तावेजमा त्यस्ता विषय उल्लेख गर्नु भएको हो ।
नेता खनालले कांग्रेससँगको गठबन्धनले दक्षिणपन्थीहरूलाई लगातार फाइदा पुगेको भन्दै यसबाट उनीहरू वामपन्थीहरूलाई विभाजन गर्न र त्यसको एक हिस्सालाई उपयोग गरेर आफ्नो शक्ति वृद्धि गर्न सफल भइरहेकोसमेत दावी गर्नु भयो । खनालले नेपाली कांग्रेस दलाल पुँजीवादको मुख्य प्रतिनिधि रहेकाले कम्युनिस्ट पार्टीसँग उसको प्रधान अन्तरविरोध रहने उल्लेख गर्नु भएको छ ।
एकीकृत समाजवादीको जारी बैठकमा खनालले कांग्रेसलाई वर्गशत्रु किटान गर्नु भएको हो । उहाँले समाजवादी मोर्चा बनाउँदा पनि उनले पछिल्लो गठजोडको वर्गशत्रु को हो ? भने नेतृत्वलाई प्रश्न गर्नु भएको थियो । जारी स्थायी कमिटीमा भिन्न दृष्टिकोण राख्दै कांग्रेसलाई वर्गशत्रु ठम्याएर अघि बढ्नुपर्ने निचोड सुनाउनु भएको हो ।
‘कुनै पनि देश वा वर्गीय समाजमा क्रान्तिलाई अघि बढाउन प्रधान वर्गीय अन्तरविरोध पत्ता लगाएर मात्र पुग्दैन, त्यसबेलाको प्रधान राजनीतिक अन्तर्विरोध पत्ता लगाउनै पर्छ, त्यो पत्ता नलगाएसम्म हाम्रो क्रान्तिकारी संघर्ष निशानाविहीन कुहिराको काग जस्तै हुन्छ,’ उहाँले भन्नुभयो, ‘अझ कार्यनीतिक हिसाबले प्रधान राजनीतिक अन्तरविरोध पत्ता लगाउने कुरा क्रान्तिका निम्ति पहिलो प्राथमिक महत्त्वको कुरा हो ।’
कुनै पनि देशमा दलाल पूँजीवादको पनि एउटै मात्र प्रतिनिधि नहुने भनाइ राख्दै उनीहरूका पनि गुटहरू हुने र त्यसमध्ये दलाल पूँजीवादको मुख्य प्रतिनिधि जो छ, त्यहीसँग कम्युनिस्टहरूको प्रधान अन्तरविरोध रहने उहाँको धारणा छ । उहाँले ठोकुवा साथ भन्नुभयो, ‘यतिबेला मुख्यतः दक्षिणपन्थी शक्ति नेपाली कांग्रेसको नेतृत्व र व्यापक जनताको बीचको अन्तर्विरोध प्रधान राजनीतिक अन्तरविरोध हो ।’
एमालेको नेतृत्वसँग पार्टीको वैचारिक अन्तरविरोध चर्को भए पनि त्यो मित्रतापूर्ण भएको खनालको दावी छ ।
उहाँले थप प्रष्ट्याउँदै भन्नुभएको छ, ‘राजनीतिक शक्तिको हिसाबले त्योसँगको अन्तरविरोध पनि मित्रतापूर्ण अन्तरविरोध नै हो। एमालेलाई शत्रु शक्ति जस्तो ठानेर दक्षिणपन्थी शक्तिलाई मित्र ठान्ने र एमालेलाई मुख्य निशाना ठान्ने दक्षिणपन्थी दृष्टिकोणबाट हाम्रो पार्टी सर्तक रहनु पर्छ । आजको मुख्य संघर्ष नै दक्षिणपन्थी र वामपन्थी बीचको संघर्ष हो ।’
त्यस्तै, एमसीसीको कार्यान्वयनमा अमेरिकाले दबाब दिइरहेको र लागू भए राष्ट्रलाई दुरगामी प्रभाव पार्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, यही २०२३ अगस्ताट अमेरिकनहरू एमसीसी लागू गर्दैछन् । डोनाल्ड लूले अस्ति र्भखर आएर सबै नेताहरूलाई ‘खबरदार ! लागू नगरेमा’ भनेर औंला ठड्याएर गएको स्मरण गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमसीसी सम्झौतामा पार्टीले सहयोग गरेर नेपाल र नेपालीको स्वाभीमानमा सदाका निम्ति कलंक लगाउने काम गरेको जिकिर समेत गर्नु भएको छ । एमसीसीबारे शीर्ष राजनीतिक पार्टीहरूले पनि व्याख्यात्मक घोषणा नगरेको उनको भनाइ छ। ुयतिलामो समयसम्म न अमेरिकाले न नेपाली कांग्रेसले न माओवादी पार्टीले न कसैले त्यो व्याख्यात्मक घोषणा बारेमा चर्चा गरेका छन् । सबैले त्यसलाई बिर्सिदै गएका छन् । त्यस संझौतामा दर्जनौं अपमानजनक शर्तहरू छन् । कमसेकम कथित व्याख्यात्मक घोषणामा भएको हुँदा मात्र सच्चिए पनि सकारात्मक कुरानै हुने थियो । तर यति गम्भीर राष्ट्रिय सवालमा कसैले मतलब राखेका देखिदैन उहाँले दस्तावेजमा उल्लेख गर्नु भएको छ ।
‘१९५० को सन्धि र महाकाली सन्धिले हामीलाई के दियो ? भन्ने प्रश्न उठाउँदै एमसीसी लागू भए संघर्ष र प्रतिरोधका नयाँ झिल्काहरू देखा पर्न सक्ने उहाँले आशंका छ । त्यसलाई लागू गर्दा संघर्ष र प्रतिरोधका नयाँ झिल्काहरू देखा पर्न सक्ने छन् । हामी गर्न सक्छौं के ? आज त्यही नियति दोहोरीले खतरा हाम्रा सामु छ, यस्तो संवेदनशील विषयका बारेमा हामीले राम्ररी समीक्षा गर्नुपर्छ ।’
उहाँले सम्मानपूर्ण ढंगले अमेरिकाले ५५ अर्ब डलर दिए स्वीकार्ने पनि बताउनु भयो । तर एमसीसी संझौतामा अमेरिकाले अघि सारेका विषय वस्तुहरू आफूलाई स्वीकार्य नहुने उहाँको भनाइ छ ।
नेकपा (एकीकृत समाजवादी)ले स्वतन्त्र पहिचान बनाउन असफल भएको खनालको गुनासो छ । एमालेबाट विद्रोह गरेर बनेको पार्टी दक्षिणपन्थी बनेको उहाँको ठम्याइँ छ । नेपाली कांग्रेस र माओवादीले एकीकृत समाजवादीलाई मतदाता बनाइ धोखा दिएको दावी छ । नेता खनालको निष्कर्ष छ, ‘हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि नराम्ररी गिराइदियो । कार्यकर्ताहरू निराश भए ।’ कार्यशैलीमा एमाले र जबजकै धङधङी रहेको भन्दै खनालले पार्टी फुटेपछिको दुई वर्ष बित्दासम्म विद्रोहको औचित्य पुष्टि गर्न किन सकिएन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने उल्लेख गर्नु भयो । एमालेबाट फुटेर नयाँ पार्टी बनाउँदा बेलाको उत्साह उमङ्ग यति बेला नरहेको भन्दै कतिपय नेता कार्यकर्ता नै पुरानो दलमा फर्किन थालेको उहाँको टिप्पणी छ ।
खनालले ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता–कार्यकर्ताहरू वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिएकाले गम्भीर समीक्षा हुनुपर्ने खनालको भनाइ छ । उनले वैचारिक तथा संगठनात्मक दुवै क्षेत्रबाट देखिएका कमजोरीलाई हटाएर पार्टीलाई एउटा सबल, सशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्ने समेत उल्लेख गर्नुभयो ।
माघमा महाधिवेशन, पार्टी सदस्य एक लाख पुर्याइने :
यसैबीच, नेकपा एसका नेता गंगालाल तुलाधरले आउँदो माघको दोस्रो साता पार्टीको महाधिवेशन गर्ने र त्यस अवधिसम्म एक लाख सदस्य बनाउने लक्ष्य पुरा गर्नेगरी अघि बढेको जानकारी दिनुभयो ।
सैद्धान्तिक र नीतिगत सवालमा एमाले भन्दा भिन्न पार्टी देखाउनुपर्ने र पार्टी तथा सङ्गठन विस्तार गर्नुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण भएको भन्दै स्थायी कमिटी बैठकमा भाद्रमा हुने केन्द्रीय कमिटीमा पेश हुने विभिन्न राजनीतिक, संगठनात्मक प्रतिवेदन लगायतका विषयमा सुझाव लिइएको बताउनुभयो ।
उहाँले सचिवालय, स्थायी कमिटी र पोलिट्व्युरो बैठकमा धारणा राख्नेहरूले केन्द्रीय कमिटीमा धारणा राख्न नपाउने व्यवस्था गरिएकाले बैठक केही लामो भएको जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८० श्रावण २१, आईतवार १९:२३ गते