एक क्विनटल सुन प्रकरणले नयाँ मोड लिदै : १७ आरोपितलाई विभागबाट सीआईबीको हिरासतमा ल्याइयो

एक क्विनटल  सुन प्रकरणले नयाँ मोड लिदै : १७ आरोपितलाई विभागबाट सीआईबीको हिरासतमा ल्याइयो

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन २२ गते सोमबार ०९:२०



राजस्व विभागले अनुसन्धान फाइल र सबै आरोपितहरू र अनुसन्धानका लागि हालसम्म भएका सबै फाइलको जिम्मा आफूहरूलाई दिइएको, अब सबै कोणबाट हामी अनुसन्धान गर्छौं सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले बताउनु भयो ।

उक्त काण्डमा संलग्न रहेको आरोपमा १८ जना पक्राउ परेका हुन् । तीमध्ये एकजना बिरामीका कारण उनलाई तारिखमा छाडिए पछि १७ जना हिरासतमा छन् ।

काठमाडौं– राजस्व अनुसन्धान विभागले एक क्विनटल सुन तस्करी प्रकरणको अनुसन्धानले नयाँ मोड लिने भएको छ । सो काण्डमा पक्राउ परेका १७ जना आरोपितलाई साउन २१ गते साँझ राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा ल्याइएसँगै त्यस्तो संकेत मिलेको हो ।
राजस्व अनुसन्धान विभागबाट थप मिसिल अध्ययन र अनुसन्धानका लागि पत्र आएसँगै सबै अनुसन्धानको मिसिल र आरोपितहरूलाई सीआईबीमा ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आरोपितसहित मिसिलहरू आइपुगेको छ, भोलिबाट अनुसन्धान अधिकृत तोकेर मिसिलको अध्ययन तथा थप अनुसन्धान अघि बढ्छ ।’
साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक सू’मा हालेर ल्याइएको उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।
उक्त काण्डमा संलग्न रहेको आरोपमा १८ जना पक्राउ परेका छन् । तीमध्ये एकजना बिरामीका कारण उनलाई तारिखमा छाडिए पछि १७ जना हिरासतमा छन् ।
विभागबाट एक चरणको अनुसन्धान सकिएको र अब बाँकी अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिइएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिनु भयो ।
सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले विभागले अनुसन्धान फाइल र सबै आरोपितको जिम्मा आफूहरूलाई लगाएको बताउनु भयो । उहाँका अनुसार अनुसन्धानका लागि हालसम्म भएका सबै फाइल र आरोपितहरूलाई हामीले ल्याएका छौँ । अब सबै कोणबाट हामी अनुसन्धान गर्छौं ।

प्रकाशित मिति २०८० श्रावण २२, सोमबार ०९:२० गते
हजुरको प्रतिक्रिया