लमजुङमा परीक्षण गरिएको खानेपानी ७५ प्रतिशतमा इकोली    

 लमजुङमा परीक्षण गरिएको खानेपानी ७५ प्रतिशतमा इकोली    

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन २२ गते सोमबार ०६:५७

‘इकोली फेला पर्दैमा त्यस्तो खानेपानी खानै हुन्न भन्ने होइन, खानका लागि सुरक्षित हुँदैन भन्ने हो ।’
यो आवदेखि गण्डकी प्रदेश सरकारले ‘खानेपानी गुणस्तर निगरानी तथा समुदाय क्लोरिनेसन अभियान’ सञ्चालन गर्ने भएको छ । यस्तो कार्यक्रम अन्य छ प्रदेशमा छैन खनालले बताउनु भयो । 

जिल्लाका आठमध्ये तीन पालिकाको मात्र खानेपानी परीक्षण

बेसीशहर । लमजुङको शहरी क्षेत्रमा वितरण गरिएको खानेपानीमा ७५ प्रतिशत पानीमा इकोली अर्थात दिसाजन्य पदार्थ फेला परेको छ । स्वास्थ्य कार्यालयले गरेको खानेपानीको परीक्षण अवधिमा त्यस्तो स्थिति फेला परेको हो ।
स्वास्थ्य कार्यालयले वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष कम्तिमा छ वटा खानेपानी आयोजनाको वितरणको स्थितिका बारेमा परीक्षण गर्नु पर्ने सो कार्यालयको भनाइ छ । गत आवमा गरिएको परीक्षण प्रतिवेदन हालै सार्वजनिक गरिएको प्रतिवेदन अनुसार लमजुङको शहरी क्षेत्रमा वितरण खानेपानीमा ७५ प्रतिशत इकोली फेला परेको हो । स्वास्थ्य कार्यालयले खानेपानी सुरक्षा योजना लागू भएका छ वटा योजनामा सो परीक्षण गरेको र तीमध्ये दुई वटा योजनाको खानेपानीमात्र पिउन योग्य भएको पाइएको सो कार्यालयका ल्याव टेक्निसियन निरोजकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति र भोटेओडार तार्दी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरण गरिएको खानेपानी सो परीक्षणमा पिउन योग्य फेला परेको हो । उहाँले भन्नुभयो, ‘जिल्लाका आठ पालिका मध्ये तीन नगरपालिकामा सञ्चालन गरिएका खानेपानी योजनामा मात्र खानेपानी सुरक्षा योजना लागू भएको छ ।’
खानेपानीको परीक्षणका लागि १८ घण्टा समय लाग्छ । एक पटकमा २० वटासम्म नमूना  परीक्षण गर्न सकिन्छ भनिन्छ तर हामीले १०– १५ वटा मात्र राखेर गर्ने गरिआएका छौं श्रेष्ठले जानकारी दिनुभयो ।
सो अवसरमा खानेपानी आयोजनाहरूका २४ वटा नमूना र अव्यवस्थित, परम्परागत कुवाहरूको खानेपानीका २९ वटा नमूनाको परीक्षण गरिएको थियो । तीमध्ये खानेपानी आयोजनाहरूका छ वटा नमूना पिउनका लागि उपयुक्त भएको र १८ वटाको खानेपानी सुरक्षित नभएको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख प्रवीणकुमार खनालले बताउनु भयो । उहाँका अनुसार खानेपानी आयोजनाहरूका २४ वटा नमूनामध्ये पाँच वटाको योग्य र २२ वटाको पिउन सुरक्षित नभएको पाइएको स्वास्थ्य कार्यालयले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।
लमजुङमा खानेपानी सुरक्षा योजना लागू भएका योजनाहरूमा बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति बेसीशहर नगपालिका, लसुने खानेपानी सरसफाई तथा उपभोक्ता समिति सुन्दरबजार नगरपालिका– ९, सुन्दरबजार खानेपानी सरसफाई तथा उपभोक्ता समिति सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिका– ४ स्थित रम्घा खानेपानी सरसफाई तथा उपभोक्ता समिति रहेको स्वास्थ्य कार्यालयका प्रमुख खनालले बताउनु भयो । उहाँका अनुसार खानेपानीमा इकोली फेला परेपछि त्यस्तो पिउनका लागि सुरक्षित हुँदैन । उहाँले भन्नुभयो, ‘इकोली मान्छेको हो कि चौपायाको छुट्टिएको छैन र त्यो सजिलै छुट्टिदैन पनि ।’
इकोलीले आजका दिनसम्म मानिसलाई बिरामी बनाएको थाहा छैन तर त्यसमा अन्य ब्याक्टेरिया मिसिए पछि भने त्यो खतरनाक हुन सक्छ स्वास्थ्य कार्यालयका प्रमुख खनालले जानकारी दिनु भयो । उहाँका अनुसार खासमा स्वास्थ्य कार्यालयको काम अनुगमन गरी ठीक भएमा प्रमाणपत्र दिने हो खानेपानी परीक्षणको कार्य उपभोक्ता समितिहरूले नै गर्ने हो तर यहाँ त त्यस्तो कामको थालनी नै नभएको हुँदा परीक्षणको काम पनि स्वास्थ्य कार्यालयले गर्नु पर्ने बाध्यता छ । यो अलिक महंगो पनि हुन्छ खनालले उल्लेख गर्नु भयो ।
यौटा आयोजनाको फिल्टरेसन स्थलदेखि वितरण टंकी र उपभोक्ताको धारासम्म तीन ठाउँमा परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयका ल्याबटेक्निसियन श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार हामीले खानेपानीका नयाँ आयोजनाहरू र स्थानीय अव्यवस्थित, परम्परागत कुवाहरू समेत खानेपानी परीक्षण गर्ने गर्दछौं । अव्यवस्थित, परम्परागत कुवाहरू समेत खानेपानीमा आधुनिक योजनाको तुलनामा थप एक प्रतिशत इकोली फेला परेको छ । उहाँले भन्नुभयो, ‘इकोली फेला पर्दैमा त्यस्तो खानेपानी खानै हुन्न भन्ने होइन, खानका लागि सुरक्षित हुँदैन भन्ने हो ।’
यो आवदेखि गण्डकी प्रदेश सरकारले ‘खानेपानी गुणस्तर निगरानी तथा समुदाय क्लोरिनेसन अभियान’ सञ्चालन गर्ने भएको छ । यस्तो कार्यक्रम अन्य छ प्रदेशमा छैन खनालले बताउनु भयो ।
खानेपानी पूर्ण सुरक्षित गर्नेतर्फ सरकारको योजना गरेको जानकारी दिदै खनालले भन्नुभयो, ‘हाम्रो प्रदेशमा खानेपानी गुणस्तर सर्भेलियन समिति जिल्लास्तरमा रुपमा समेत गठन गरिएको छ ।’ उहाँका अनुसार सो समितिमा स्वास्थ्य कार्यालयका प्रमुख संयोजक रहने गरी ९ सदस्यीय समितिको तर्जुमा गरिएको छ । उहाँले भन्नुभयो, ‘यो समितिलाई पालिकास्तरमा पनि गठन गर्न अनुरोध गरिएको छ ।’
खानेपानी पिउनका लागि योग्य वा सुरक्षित बनाउन उमालेर पिउनै उत्तम उपाय भएको स्वास्थ्य कार्यालयका प्रमुख खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यही विधिलाई प्रयोग गर्नका लागि उपभोक्ताहरूलाई अनुरोध गर्दै आएको छौं ।’
प्रकाशित मिति २०८० श्रावण २२, सोमबार १८:५७ गते
हजुरको प्रतिक्रिया