लमजुङ अस्पतालमा पेनलेस डेलिभरीको परिक्षण सफल

लमजुङ अस्पतालमा पेनलेस डेलिभरीको परिक्षण सफल

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन २३ गते मङ्गलबार १०:३७

लमजुङ अस्पताललाई प्रदेश सरकार मातहत ल्यएपछि खत्तम हुन्छ भन्ने भ्रम चिर्न सफल भएका छौँ । पछिल्लो पटक इएमआर प्रविधि सेवा, ल्यावको सुविधा थपिए सगैँ दुखाइ रहित सुत्केरी सेवाको परिक्षण सफल भएको छ । यसले हामीलाई थप उत्साहित बनाएको र काम गर्ने उर्जा थपेको अध्यक्ष तामाङले बताउनु भयो ।

अस्पतालमा एकपछि अर्के सेवा थपिदैँ

बेसिशहर– लमजुङको जिल्ला सदरमुकाम स्थित लमजुङ अस्पतालमा दुखाई रहित सुत्केरी सेवाको परिक्षण सफल भएको छ । मुटु रोगी लमजुङकै ३० बर्षीया प्रेमकुमारी गुरुङलाई पेनलेस डेलिभरी गराइए सँगै उक्त परिक्षण सफल भएको हो ।
लमजुङ अस्पतालमा एक पछि अर्को सुविधा थप हुन थालेको छ । सो अस्पताल सञ्चालनका लागि पछिल्लो २२ वर्षपछि सामुदायिकस्तरबाट प्रदेश सरकारले गत कार्तिक महिनामा आफ्नो मातहतमा ल्याएको हो । यसरी अस्पतालको सेवा प्रदेश सरकार मताहतमा आए पछि बर्षदिन नबित्दै विभिन्न सेवाहरू थप भएका छन् । केही दिन अघिमात्र इएमआर प्रविधि सेवा र ल्याबसेवा सुरु गरेको लमजुङ अस्पतालले पछिल्लो उपलब्धीका रुपमा ‘पेनलेस डेलिभरी’ अर्थात दुखाई बिना सुत्केरी सेवाको सफल परिक्षण गरेको लमजुङ अस्पतालका प्रमुख डा. रमेश आचार्यले बताउनु भयो । उहाँका अनुसार मस्र्याङदी गाउँपालिका– १ नायूँ गाउँकी मुटुको बिरामी भएकी ३० बर्षीया प्रेमकुमारी गुरुङलाई सो परिक्षण गरी छोरी जन्माइएको छ । उहाँले भन्नुभयो ‘प्रेमकुमारी ८ बर्षपछि आमा बन्नु भएको हो ।’
प्रेमकुमारी पहिलो पटक ८ बर्षअघि पनि छोरीकी आमा बन्नु भएको थियो । त्यसपछि उहाँलाई मुटुको समस्या अर्थात ‘कार्डियोमायपेथी’ देखिन थाल्यो । उपचारका क्रममा उहाँलाई स्वास्थ्य परीक्षण पछि डाक्टरले मुटुमा समस्या रहेको भन्दै अर्को सन्तान जन्माउन नहुने सल्लाह दिएका थिए ।
प्रसब पीडा हुँदा मुटुमा थप समस्या आउन सक्ने भएको कारण उहाँको ज्यान जोगाउन डाक्टरले यस्तो सल्लाह दिएका थिए । आमा बन्न पाउनु सौभाग्य पनि हो तर यो सामान्य भने हुदैन । आमा बन्ने क्रममा पीडा खप्न नसकेर कतिको ज्यानै जान्छ । सुत्केरी पीडा निकै कष्टपूर्ण मानिन्छ लमजुङ अस्पतालकी स्त्रीरोग बिशेषज्ञ डा. गोमा रिमालले भन्नुभयो । उहाँका अनुसार ‘मुटुका विरामीलाई सुत्केरी हुँदा मुटुमा दबाब बढ्छ र यसले मुटुमा असर गर्छ । पेनलेस डेलिभरी गर्दा मुटुमा कम लोड हुने भएकाले प्रेमकुमारीको हकमा त्यसरी सुत्केरी गराउन सफल भयौं ।’
उक्त परिक्षण स्त्रीरोग बिशेषज्ञ डा. गोमा रिमाल, एनेस्थेसियोलोजिस्ट डा. शिशिर खड्काको विशेष पहलमा सफल भएको लमजुङ अस्पतालका प्रमुख डा. आचार्यले बताउनु भयो । ‘पेनलेस डेलिभरी’मा प्रसव पीडा सुरु भएपछि ढाडमा एउटा क्याथेटर राखेर त्यसबाट दुखाइ कम गर्ने औषधि दिइने लमजुङ अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. शिशिर खड्काले बताउनु भयो । उहाँका अनुसार यसलाई लेवर एनल्जेसिया भनिन्छ । उहाँले भन्नुभयो, ‘सुत्केरी ब्यथा लागेका महिलाले बच्चा नजन्माएसम्म अवस्था हेरेर लगातार दुखाई कम हुने औषधी दिइरहनु पर्छ । महिलाको इफोर्ट हेर्न अवस्था हेरेर केहीबेर औषधी रोक्न सकिन्छ ।’ उहाँले थप जानकारी दिनुभयो, ‘प्रसव पीडा सहन नसक्ने र प्रेमकुमारीको जस्तै मुटुको समस्या भएका महिलालाई ‘पेनलेस डेलिभरी’ बरदान साबित हुन्छ ।’
यस्तो सेवा सबै अस्पतालमा छैन र यस्तो सेवा दिन सबैलाई सम्भव पनि हुदैन डा. आचार्य बताउनु हुन्छ । उहाँका अनुसार यस्तो अवस्थाको उपचार खर्च काठमाडौँका अस्पतालले ५०–६०,००० रूपैयाँ सम्म लिने गरेका छन् यो पद्धति विषेश अवस्थाका महिलाका लागिमात्र प्रयोग गरिन्छ कनकि यस्ता बिरामीलाई लगातार कम्तिमा १२ घण्टा डाक्टरको निगरानीमा राख्नु पर्ने हुन्छ । त्यसैले पनि यो असम्भव जस्तै हुन्छ कनकि १२ घण्टा एउटै डाक्टरले काम गर्दैनन् । एक दिनमा ३।४ जनासम्मको पनि डेलिभरी गराउनु पर्ने हुन्छ उहाँले उल्लेख गर्नुभयो । तर पनि हामी लमजुङ अस्पतालमा यो सेवा निःशुल्क रूपमा दिनुपर्छ भनेर सल्लाह गरिरहेका छौँ डा. आचार्यले भन्नुभयो ।
लमजुङ अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङले अस्पतालको सेवा सर्वसाधारणको पहुँचमा पुग्नुपर्छ भनेर स्रोतको खोजीमा जुटी रहेको बताउनु भयो । उहाँका अनुसार लमजुङ अस्पताललाई प्रदेश सरकार मातहत ल्यएपछि खत्तम हुन्छ भन्ने भ्रम चिर्न सफल भएका छौँ । पछिल्लो पटक इएमआर प्रविधि सेवा, ल्यावको सुविधा थपिए सगैँ दुखाइ रहित सुत्केरी सेवाको परिक्षण सफल भएको छ । यसले हामीलाई थप उत्साहित बनाएको र काम गर्ने उर्जा थपेको अध्यक्ष तामाङले बताउनु भयो ।

प्रकाशित मिति २०८० श्रावण २३, मंगलवार २२:३७ गते
हजुरको प्रतिक्रिया