बेसीशहर(लमजुङ)– राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङको परिणाममुखी कार्यले सुन्दरबजार नगरपालिकामा गति लिएको छ । सुन्दरबजार नगरपालिकामा लालपूर्जा वितरणका ७ दिने सूचना निकालेसँगै त्यस्तो खुलासा भएको हो ।
सो कार्यका लागि नापी कार्यालय लमजुङको नापी टोली नं. १ बाट नापनक्शा सम्पन्न गरी कित्ता नं. र क्षेत्रफल उल्लेख गरी अन्तिम सूचना प्रकाशन गरेको छ । जारी सूचना अनुसार आउँदो भदौको पहिलो हप्ता भित्रमा पहिलो चरण सुन्दरबजारका भूमिहीनहरूलाई पूर्जा बितरण गर्ने तयारी आयोगले गरेको आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा सुन्दरबजार नगरपालिका– ६, ७ र ९ का भूमिहीनहरूलाई लालपूर्जा वितरण गर्ने तय भएको छ । उहाँले भन्नुभयो, ‘२०८० साउन ९ गते नापजाँच, अस्थायी कित्ता कोड कायम गरी भूमिहीनहरूलाई गोला प्रथामार्फत कित्ता रोजाउने काम सम्पन्न गरिएको थियो, त्यसपछि सूचना प्रकाशित गरेको हो ।’ यो ७ दिन भित्र केही कसैको दाबा बिरोध भए लिखित रुपमा पेश गर्नुपर्ने हुन्छ । कोही कसैको दाबा बिरोध नपरेको र परेको दाबा बिरोध माथि निर्णय गरी टोलीले आयोगलाई प्रतिवेदन बुझाउने छ ।
सुन्दरबजार नगरपालिका भित्रका भूमिहीनहरू बसोबास गरेको जमिन तथा सार्बजनिक, पर्ति जमिन, नाप जाँचको लागि सोही टोलीले २०७९ पुस ११ गते सूचना जारी गरि नाप जाँचको काम गरिरहेको थियो । नापी टोलिले प्रतिबेदन बुझाएको दिनमै पालिकामा जग्गा दर्ताको सिफारिस गरिदिन परिपत्र गरि जग्गा दर्ता गर्ने
तयारीमा आयोग रहेको अध्यक्ष अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार सुन्दरबजार नगरपालिकाका ४५ जनालाई भूमिहीन प्रमाणित गरे पनि पहिलो चरणमा ३३ जनाले मात्र पूर्जा पाउने भएका छन् ।
पूर्जा पाउनेहरूमा वडा नं. ६ का २ जना, वडा नं. ७ का १४ जना र वडा नं. ९ का १७ जना रहेका छन् । त्यस्तै वडा नं. ३ का २ जना, वडा नं. ४ का १ जना, वडा नं. ७ का ३ जना, वडा नं. ११ का ३ जना को नापजाँच हुन सकेको छैन । ती वडाहरूमा पनि छिटो समस्या समाधान गरेर पूर्जा वितरण गर्ने छौं । वडा नं. ३ चन्द्रेश्वरमा सार्बजनिक पर्ति जग्गा नभेटिएको र भूमिहीनहरूले पनि जग्गा कमोत गरी नबसेको भनि वडाले सिफारिस गरेको छ । वडा नं. ४ दुराडाँडामा वडा कार्यालयले सत्रसयको ढाँटी र बगैंचा सिफारिस गरि पढाएको तर ढाँटी आयोगको नियममा नकारात्मक जग्गा हुँदा, बगैंचामा नापजाँज गर्न लाग्दा स्थानीयहरूको राय विभाजित भएको छ । त्यसैले हाललाई सो नापजाँचको काम रोक्कोएको, वडा नं. ११ सिन्दुरेमा वडा कार्यालयले कालिका मन्दिर नजिकको जमिन र भागुँको जमिन सीफारिस गरी पठाएता पनि भागुँको जमिन चिहानडाँडा र अर्को जमिन मन्दिर परिसर वरिपरि पर्ने भएका कारणले नापजाँच गर्न नसकिएको समितिको भनाइ छ । वडा नं. ७ मै ३ जना भूमिहीनहरूको व्यवस्थापनमा थप परामर्श गरी निर्णय गर्नु पर्ने भएको हाललाई उनीहरूको काम स्थगित गरीदिनुहुन वडा कार्यालयले पत्राचार गरेपछि काम स्थगित गरिएको हो ।
साविक सुन्दरबजार गाविस– ८ हाल सुन्दरबजार– ७ मा रहेको टुनीपाटोमा प्रति भूमिहीन १३० बर्गमिटर र साविक भोटेओडार गाविस– ६ हाल सुन्दरबजार– ८ मा रहेको पिपलपाटामा प्रति भूमिहीन १५८.३८ बर्गमिटरको दरले कित्ता निर्धारण गरिएको आयोगका सदस्य सचिव ई. हेलिना श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार नापी क्षेत्रीय किताब (फिल्ड बुक)मा उहाँहरूको कित्ता नं. कायम गरिसकिएको छ, यो सूचना पश्चात फिल्ड बुकमा सम्बन्धित जग्गा धनीको हस्ताक्षर गराईनेछ ।
सुन्दरबजार नगरपालिकाका प्रशासन शाखा प्रमुख एवम् आयोगका सेवा केन्द्र प्रमुख विवेककुमार पण्डितका अनुसार वडा नं. ६ र ७ का १६ जनालई वडा नं. ७ टुनीपाटो र वडा नं. ९ का १७ जनालाई वडा नं. ८ को पिपलपाटामा व्यवस्थापन गरिने भएको छ । वडा नं. ७ का बाँकी ६ जना मध्ये २ जनालाई सहकाले र ३ जना लाई टुनीपाटोमा नै व्यवस्थापन गरिने छ, १ जनाको हकमा कित्ता छनोट नगर्ने उहाँको भनाइ छ । बाँकी सम्बन्धित वडाका लागि सोही वडामा नै व्यवस्थापन गर्न पालिका लागिपरेको छ ।
अब ७ दिने सूचना पश्चात एक हप्ता भित्र पूर्जा बनाउने काम सम्पन्न गर्ने आयोगले जनाएको छ ।
प्रकाशित मिति २०८० श्रावण २७, शनिबार २२:५४ गते