लमजुङ– वरिष्ठ पत्रकार एवम् सामाजिक व्यक्तित्वका धनी नवराज पहाडी अन्ततः राजनीतिमा फर्कनु भएको छ । लामो समय उहाँ स्वतन्त्र रहनु भएको थियो । उहाँले अब राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध रहेर राजनीति गर्ने हुनु भएको हो । सो दलको पोखरामा साउन २७ गते सम्पन्न भएको दुई दिने गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भाग लिदै सो दलमा आवद्ध भएको जनाउ दिनु भएको हो ।
पहाडी कुशल संगठनकर्ता तथा भिजन भएको व्यक्तित्वसमेत मानिनु हुन्छ । कुनै पनि काममा लागेपछि त्यसलाई सफलताको शिखरमा नपुर्याउँदासम्म विश्राम नलिने स्वभाव छ उहाँको । सोही कारणले पनि उहाँले नेतृत्व गरेका संस्थाहरू सफल रहेको पाइने गरेको छ । विद्यार्थीकालमै राजनीतिमा होमिनु भएका उहाँ पछिल्ला धेरै वर्ष राजनीतिक पृष्ठमा देखिनु भएको थिएन तर उहाँलाई त्यसबाट अलग भएको रुपमा भने कमैले मात्र देख्ने गरेका थिए ।
२०३६– ३७ अवधिमा नेविसंघको जिल्ला सचिव, २०३८– ४१ मा संघको जिल्ला अध्यक्षको अनुभव हासिल गर्नु भएका उहाँ त्यही बेलादेखि पत्रकारितामा समेत छिर्नु भएको हो । २०३७ सालमा प्रकाशित ‘वेग’को सहसम्पादक रहनु भएका उहाँ २०३९ मा प्रकाशित ‘क्रान्ति’को सम्पादक हुनुहुन्थ्यो । सोही पत्रिका प्रकाशन गरेको अभियोगमा तत्कालीन सत्ताले उहाँलाई २०४० सालको पुस १६ गते काँग्रेसले आयोजना गरेको मेलमिलाप दिवसको कार्यक्रमबाट पक्राउ गरी करिब साढे पाँच महिना जेलमा कोचेको थियो । त्यस्तै, २०४१ सालमा सञ्चालित शिक्षक आन्दोलनका क्रममा पनि ‘शिक्षकहरूलाई भड्काएको’ अरोप लगाउँदै तत्कालीन सत्ता(प्रशासन)ले जेल कोच्ने काम गरेको थियो ।
२०४९ सालमा जिल्ला सहकारी समन्वय समितिको संयोजक भएर सहकारी भित्रका विकृति विसंगति अन्त्य गरी ती संस्थामा सुशासन कायम गर्नका लागि विशेष कदम चाल्नु भएका उहाँ जिल्ला सहकारी संघको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।
२०५० सालमा नेपाल रेडक्रस सोसाइटीको जिल्ला सदस्य भएर समाजसेवाको मर्म र भावना अनुसार क्रियाशील हुने क्रममा उहाँलाई लमजुङमा तत्कालीन द रेयुकाई नेपालको संस्थापक संयोजक, अध्यक्ष, शाखा निर्देशक हुने अवसर मिल्यो । उहाँकै कुशल नेतृत्वका कारण लमजु्ङको डडुवा, भोर्लेटार र घेर्मुमा रेयुकाईका इकाई स्थापना भई सञ्चालनमा आएका थिए भने दोलखाको जिरीमा समेत उहाँकै नेतृत्वमा रेयुकाईको उपशाखा स्थापना भएको थियो । तिन ताका कुनै पनि सामाजिक कार्यक्रमसँग रेयुकाई जोडिने गरेको थियो ।
‘आफ्नै जिल्लामा बसेर पत्रकारिता गर्नु पर्छ’ भन्ने अवधारणालाई व्यवहारिक रुप दिने क्रममा उहाँले २०४९ सालमा विधिवत दर्ता गरी सञ्चालनमा ल्याउनु भएको अन्तरङ्ग आउँदो भदौदेखि ३२ औं वर्षमा प्रवेश गर्दैछ । पहाडी परिवारबाट सञ्चालन गरिएको लमजुङ रत्न साप्ताहिक आउँदो भदौबाट नवौं वर्षमा र अन्तरङ्ग न्यूज डटकम यही साउन महिनाबाट तेस्रो वर्षमा प्रवेश गरेका छन् ।
नेपाल प्रेस युनियन, पत्रकार महासंघको संस्थापक जिल्ला अध्यक्ष हुनुभएका पहाडी स्वतन्त्र पत्रकार संघ नेपालको पूर्व राष्ट्रिय महासचिवको समेत अनुभव हासिल गर्नु भएको व्यक्तित्व हो । उहाँ महासचिव हुँदै गर्दा जम्मा १२ जिल्लामा रहेको स्वतन्त्र पत्रकार संघको संगठनलाई उहाँले दुई वर्षको कार्यकाल अवधिमै शाखा विस्तार गरी २५ जिल्ला पुर्याउनु भएको थियो ।
रासस, कान्तिपुर जस्ता पत्रिकामा समेत लामो समय काम गरेको अनुभव संगाल्नु भएका उहाँले खासगरी, सुशासन, मानवअधिकार, न्यायका साथै राष्ट्रियताका पक्षमा दह्रोसँग कलम चलाई निर्भिक एवम् कर्मठ पत्रकारको परिचय स्थापित गर्न सफल हुनु भएको छ ।
यसैगरी, पछिल्ला वर्षमा लमजुङमा लोपोन्मुख अवस्थामा पुगेको ‘ठाडोभाका’को संरक्षणका लागि ठाडोभाका लोककला प्रतिष्ठान नेपाल स्थापना(२०७२मा) गरी संस्थापक अध्यक्ष भएर अविछिन्न नेतृत्व गर्नु भई आजका दिनमा आउँदा जिल्लामा अब ठाडोभाका मर्दैन भन्ने सुनिश्चित गर्न सफल हुनु भएको छ । त्यो उपलब्धी पहाडीसँग भएको कुशल नेतृत्व क्षमताका साथै भिजन(दुर दृष्टि) समेत हो भन्दा अतिशयोक्ति नहोला । कुनै पनि संस्थाको क्षमता वा हैसियत नेतृत्वमा निर्भर रहने हाम्रो समाजको प्रवृत्ती छ । पहाडीसँग भिजन नभएको भए ठाडोभाका लोककला प्रतिष्ठानले आजको उचाई प्राप्त गर्न सक्दैनथ्यो ।
उहाँकै भिजन अनुसार प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’लाई ठाडोभाका महानायक उपाधिबाट विभुषित गरिएको छ । त्यतिमात्र हैन ठाडोभाकाको स्थायित्वका लागि नयाँ पुस्तामा हस्तान्तरण गर्न ४० वर्षसम्मको उमेरका ठाडोभाकामा क्रियाशील युवाहरूलाई पुरस्कृत गर्न ‘सुवे. सन्तबहादुर गुरुङ स्मृति पुरस्कार’ स्थापना गरिएको छ भने ४० वर्ष माथि उमेरका ठाडोभाकामा समर्पित व्यक्तित्वको सम्मानका लागि ‘ठाडोभाकाका सर्जक देउबहादुर दुरा स्मृति पुरस्कार’ स्थापना गरिएको छ । दुवैको पुरस्कारको राशि कम्तिमा २५ हजार रुपैया, दोसल्ला र सम्मान पत्र हुने बताइएको छ । यसैगरी, राष्ट्रियस्तरमा ख्याति कमाएका कलाकर्मीलाई सम्मान गर्नका लागि स्थापित ठाडोभाका– टीकाकुमारी ढुंगाना स्मृति पुरस्कार विगतको चार वर्षदेखि वितरण गरिदै आएको छ । सो पुरस्कारको राशि १० हजार पाँच रुपैयाँ, सम्मानपत्र र दोसल्ला रही आएको छ ।
कुनै दिन काँग्रेसका नेता रामचन्द्र अधिकारीलाई लमजुङलाई ‘काँग्रेसको नमूना जिल्ला बनाउनु पर्छ, अन्य ७४ जिल्लाले लमजुङबाट सिक्ने काम गरी देखाउनु पर्छ’ भन्दै सुझाव दिएको स्मरण सुनाउनु हुने पहाडी, त्यहाँ आफ्नो कुरा सुनुवाई नभएपछि त्यो पार्टी त्याग गरेको बताउनु हुन्छ । समाज सुधारका लागि आफूसँग केही ‘भिजन’ भएको र त्यो आफ्नै नेतृत्वमा कार्यान्वयन गर्ने सोच रहेको विगतका केही वर्षदेखि उहाँले बताउने गर्दै आउनु भएको छ ।
सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीलाई तह लगाउनका लागि भन्दै तत्कालीन सरकारद्वारा जारी गरिएको ‘आतंककारी तथा विध्वंसात्मक ऐन’ अन्तरगत उहाँलाई पनि ‘आतंककारी अर्थात माओवादी’ नै हो भन्ने बिल्ला भिराउँदै प्रशासनद्वारा तीन महिने पूर्जीदिएर नजरबन्द भन्दै जेल कोच्ने काम(२०६० मा) भएको थियो । पहाडीको सुझबुझ एवम् चतुर्याइँपूर्ण खेलका कारण एक महिनामै उहाँ नजरबन्द मुक्त हुन सफल हुनुभयो । तर उहाँ कुन स्तरको माओवादी नेता हुनुहुँदो रहेछ ? भन्ने त्यसपछि आजसम्मका दिनमा छर्लङ्ग हुँदै आएको छ । त्यसै कारणले पनि उहाँ प्रशासन र प्रहरीका गलत रबैयाप्रति खरो रुपमा उत्रने गरी आउनु भएको छ । उहाँ भन्नुहुन्छ ‘प्रहरी, प्रशासन सत्ताको दास हो, त्यो जनताको हित वा पक्षमा कहिल्यै भएन र सायद हुँदैन, आजका दिनमा पनि प्रहरीकोमा पीडितका पीडा सुन्ने वातारण बन्न सकेको छैन ।’
जस्तोसुकै प्रतिकुल अवस्थामा पनि विचलित नहुने पहाडीको अर्को तारिफ गर्न लायक स्वभाव रहेको छ । ‘पार्टीमा कुन तहको नेतृत्वमा रहने सोच छ ?’ भन्ने हाम्रो जिज्ञासामा उहाँले भन्नुभयो, ‘निमुखाका लागि न्याय, मुलुकको सबै तहमा पारदर्शीता र सुशासन, लोकतन्त्रको स्थायित्व एवम् राष्ट्रियताको पक्षपोषण मेरो मूल चाहना हो । एक्लो आवाजको सुनुवाई नहुने, हेप्ने, नगन्ने, आफ्नो आवाज नसुन्ने प्रवृत्तीको पटक– पटक शिकार हुनु परेका कारण त्यसका विरुद्धमा समूहको आवश्यकता महसुस गरी आफ्नो स्वभावसँग ठ्याक्कै मिल्ने काम रास्वपाको पाएको हुँदा यो पार्टीमा प्रवेश गरेको हुँ । मलाई काम गर्ने मौका दिए पुग्छ, आजसम्म कुनै पदमा नबसी यहाँसम्म आएँ, म पदको त्यस्तो आकांक्षी छैन’ उहाँले भन्नुभयो । अब पत्रकारिता के गर्नु हुन्छ ? भन्ने अर्को जिज्ञासामा रास्वपाले उद्यम गर्नु पर्छ भनेको छ, भएको पेशालाई छाडेर राजनीतिमा आउ भनेको छैन, म कुनै पदमा छेन । पद नलिदासम्म यो प्रश्नको अर्थ छैन । पदमा गए र काम गर्न असहज स्थिति बन्यो भने विकल्प सोच्नेछु उहाँले बताउनु भयो । उहाँले भन्नुभएको छ, ‘अब कसैले पनि अन्याय गर्ने र सहन काम नगर्नु होला, अन्यायमा परेकाहरूले सम्पर्क गर्नु भएमा न्यायका लागि लड्ने जिम्मा म लिन्छु ।’
राष्ट्रिय स्वतन्त्र पार्टीमा पहाडीको प्रवेशले लमजुङमा त्यो पार्टीका गतिविधिले पक्कै पनि नयाँ गति लिने र थप उचाई प्राप्त गर्ने आशाको मार्ग प्रशस्त भएको आम अनभूति छ ।
प्रकाशित मिति २०८० श्रावण २८, आईतवार १९:१२ गते