नक्कली भुटानी शरणार्थी प्रकरणमा उजुरी दिनेको संख्या १३१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उजुरी दिनेको संख्या १३१

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन २९ गते सोमबार ०८:५३

विभिन्न किसिमका प्रलोभनमा पारी लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौ लगायतका जिल्लाहरूका १८ जना पीडितहरूबाट करिव १ करोड ८५ लाख ९२ हजार भन्दा बढी ठगी गरेको भनि ३ वटा छुट्टा छुट्टै किटानी जाहेरी दरखास्त परेको प्रहरीको खुलासा ।

दोस्रो चरणको अनुसन्धानमा प्रवेश गर्ला प्रहरी ?

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले फेरि अनुसन्धान गर्नुपर्ने देखिएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध थप १८ जनाले उजुरी दिएपछि प्रहरीमाथि फेरि अनुसन्धान गर्न दबाब साउन २९ गते परेको खुलासा भएको हो । तर दोस्रो चरणको अनुसन्धानमा प्रवेश गर्ला प्रहरी ? भन्ने आशंका पनि उत्तिकै मात्रामा देखिन थालेको छ ।
प्रहरीले गरेको पहिलो चरणको अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सांसद टोपबहादुर रायमाझी, सचिव तथा पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । ती मध्ये हाल सो मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न १८ जना जेल चलान भएका छन् । १० जना अझै फरार भएको बताइन्छ । उनीहरूविरुद्ध थप १८ जनाले ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । यसअघि ११३ जनाको उजुरी परेको थियो । आज १८ जनाले उजुरी दिएसँगै कुल उजुरीकर्ताको संख्या १३१ पुगेको हो ।
आज उजुरी दिएकाहरूलेसमेत यसअघि नै पक्राउ परेका सानु भण्डारी, केशव दुलालले आफूलाई ठगी गरेको किटानीसहितको उजुरी दिएका हुन् । भण्डारी र दुलाल हाल पुर्पक्षका लागि थुनामै छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप १८ वटा उजुरी प्राप्त भएको सूचना अधिकारी प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले बताउनु भयो । उहाँद्वारा जारी विज्ञप्तिमा १८ जना पीडितहरूसँग करिव १ करोड ८५ लाख ९२ हजार भन्दा बढी ठगी गरेको उल्लेख छ ।
सो रकम ठगी गरेको दावी सहित ३ वटा छुट्टा छुट्टै किटानी जाहेरी दरखास्त परेको हुँदा उक्त सक्कल जाहेरी दरखास्त लगायतका कागजातहरू आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, पठाईएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
‘काठमाडौंमा सानु भण्डारी केशव दुलाल समेतको संयुक्त मिलेमतोमा विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनि विभिन्न किसिमका प्रलोभनमा पारी लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौ लगायतका जिल्लाहरूका १८ जना पीडितहरूबाट करिव १ करोड ८५ लाख ९२ हजार भन्दा बढी ठगी गरेको भनि ३ वटा छुट्टा छुट्टै किटानी जाहेरी दरखास्त परेको हुर्दा उक्त सक्कल जाहेरी दरखास्त लगायतका कागजातहरू आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरूद्ध सरकारी वकिलको कार्यालयले ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधको कसुरको मुद्दा २०८० जेठ १० गते दर्ता गराएको थियो । जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने र धरौटीमा छाड्ने विषयमा असार १ गते आदेश दिएको थियो ।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व सभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी पुर्पक्षका लागि थुनामा छन् ।
स्मरणीय छ, जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनामध्ये ३ जनालाई पुर्पक्षका लागि धरौटीमा छोडेको छ भने बाँकी १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो ।

प्रकाशित मिति २०८० श्रावण २९, सोमबार २०:५३ गते
हजुरको प्रतिक्रिया