काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सदन हाइज्याक भएको दावी गर्नु भएको छ । एमालेले प्रतिनिधिसभा बैठक साउन २९ गते सातौं पटक संसद चल्न नदिएपछि रविले सामाजिक सञ्जालमार्फत सदन हाइज्याक भएको उल्लेख गर्नु भएको हो ।
सभामुख समेत निष्पक्ष हुन नसकेको रास्वपाका सांसदहरूको जिकिर छ ।
एमालेले साउन ३ गते समातिएको एक सय किलो सुन तस्करीमा प्रकरणमा छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको र सो क्रममा साउन २९ गते सातौं पटक सदन अवरुद्ध गरको हो । एमालेले साउन १० गतेदेखि सदन अवरोध गर्न थालेको हो ।
एमालेले सरकारमा रहेकै उच्च तहका व्यक्तिहरूको संलग्नता रहेको दाबी गर्दै छानबिनका लागि उच्चस्तरीय समितिको माग गरिरहेको छ । एमालेको मागलाई सरकारले अस्वीकार गर्दै प्रहरी अनुसन्धान ब्युरोले नै छानबिन गर्न सक्षम रहेको अडान राखेको छ । सांसद सुनिल शर्मा र आफ्ना सांसद मानबहादुर राईलाई बोल्न दिएको एमालेले कार्यसूचीमा प्रवेश गर्न खोज्दा नाराबाजी गरेपछि संसद एक हप्ताका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक भदौ ३ गतेका लागि डाकिएको छ ।
यसैबीच, सत्तारूढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने फेरि निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनु भयो ।
उहाँका अनुसार गठबन्धनले उच्चस्तरीय आयोग बनाए अहिले भइरहेको अनुसन्धानमा अवरोध पुग्ने निष्कर्ष निकालेको छ ।
उहाँले भन्नुभयो, बैठकमा सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको प्रसंगमा पनि छलफल भएको छ ।’ उहाँका अनुसार गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर महरालाई दोषी करार गर्न नसकिने र बाँकी अनुसन्धान जारी रहेको बताउनु भयो ।
स्मरणीय छ, यसअघि गठन भएका उच्चस्तरीय कतिपय समितिका प्रतिवेदन समेत सार्वजनिक गरिएका छैनन् । त्यस्तै, प्रवृत्ती सुन काण्डमा पनि दोहोर्याउने दाउमा एमालेको रहेको भन्ने सत्ता पक्षको धारणा रहेको बताइन्छ ।
प्रकाशित मिति २०८० श्रावण ३०, मंगलवार ०६:०९ गते