अनेसासद्वारा ठाडोभाका लोककला प्रतिष्ठानलाई सम्मानका लागि छनोट

अनेसासद्वारा ठाडोभाका लोककला प्रतिष्ठानलाई सम्मानका लागि छनोट

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन ३२ गते बिहिबार ०६:५९

महासमालोचक वरिष्ठ साहित्यकार, प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यतामा हुने सो अधिवेशनमा अनेसासको नयाँ कार्य समितिको निर्वाचन गर्ने कार्य तालिका समेत रहेको आयोजकको भनाइ छ ।

अनेसाससँग प्रतिष्ठानले ‘साहित्यका लागि पर्यटक काव्य यात्रा’ कार्यक्रममा सहकार्य गरेको थियो ।

बेसीशहर– ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङ सम्मानका लागि छनोट भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास), नेपाल च्याप्टरले आफ्नो तेस्रो अधिवशेनका अवसरमा प्रतिष्ठानलाई सम्मानका लागि साउन ३१ गते छनोट गरेको हो ।
अनेसासको आज राजधानी काठमाडौंमा बसेको कार्यसमितिको बैठकले प्रतिष्ठानलाई सम्मान गर्ने निर्णय गरेको सो संस्थाका महासचिव एवम् कवि ऋषभदेव घिमिरेले बताउनु भएको छ । उहाँका अनुसार अनेसास नेपाल च्याप्टरले आफ्नो अधिवेशनका अवसरमा आफ्नो संस्थासँग सहकार्य गर्ने दुई संस्था, दुई स्थानीय तहलाई सम्मान गर्ने गरी आएको छ । उहाँले भन्नुभयो, ‘त्यसमा सम्मानित हुने संंस्थाहरूमा ठाडोभाका लोककला प्रतिष्ठान नेपाललाई सम्मान गर्ने निर्णय भएको छ ।’ अर्को संस्था नेपाल सांस्कृतिक विश्वविद्यालय रहेको उहाँले जानकारी दिनुभयो ।
सम्मानित हुनुहुने स्थानीय तहमा जनकपुर उपमहानगरपालिका धनुषा र गोरखाको गोरखकाली नगरपालिका चयन भएको अनेसासका महासचिव घिमिरेले जानकारी दिनुभयो । यसैगरी, दुईजना स्रष्टालाई सो अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्रदान गरिने भएको घिमिरेको भनाइ छ । उहाँका अनुसार सो पुरस्कारबाट सम्मानित हुनुहुनेमा यादव खरेल र प्रेमध्वज प्रधानलाई (मरणोपरान्त) हुनुहुन्छ ।
अनेसासको नेपाल च्याप्टरका साथ टाडोभाका लोककला प्रतिष्ठान नेपालले कोभिडकाल अघि ‘साहित्यका लागि पर्यटक काव्य यात्रा’मा सहकार्य गरिएको थियो । उक्त कार्यक्रम राष्ट्रकविको जन्म थलो रहेको मर्स्याङ्दी गाउँपालिका– ६ स्थित भीरपुस्तुन अर्थात हालको बाहुनडाँडामा दुई दिवसीय कार्यक्रमका साथ गरिएको थियो ।
अनेसासद्वारा चन्द्रोदय माविको हातामा आयोजना गरिएको उक्त कार्यक्रमको युटुभ समेत निर्माण गरिएको छ ।
ऐतिहासिक रुपमा सम्पन्न भएको ‘साहित्यका लागि पर्यटक काव्य यात्रा’ कार्यक्रमका अवसरमा अनेसासको टिमलाई सोही गाउँपालिका– ५ स्थित खानीगाउँको रकगार्डेनमा समेत अवलोकन गराइएको थियो ।
महासमालोचक वरिष्ठ साहित्यकार, प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यतामा हुने सो अधिवेशनमा अनेसासको नयाँ कार्य समितिको निर्वाचन गर्ने कार्य तालिका समेत रहेको आयोजकको भनाइ छ ।
उक्त सम्मान ग्रहण गर्नका लागि ठाडोभाका लोककला प्रतष्ठिान नेपालका अध्यक्ष नवराज पहाडी भोलि भदौ १ गते राजधानी प्रस्थान गर्ने हुनुभएको प्रतष्ठिानले जनाएको छ ।

प्रकाशित मिति २०८० श्रावण ३२, बिहीबार ०६:५९ गते
हजुरको प्रतिक्रिया