लमजुङ– मर्स्याङ्दी गाउँपालिकाले लम्पी स्किन रोगका कारण पीडित किसानलाई राहत दिने भएको छ । सो वडाका वडा अध्यक्ष हरिश्चन्द्र थापाले वडामा भएको भेलामा त्यस्तो जानकारी दिनु भएको हो । भेला गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको प्रमुख आतिथ्यतामा भएको थियो ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले सो भेलामा किसानहरूलाई हामी सबै वडामार्फत लम्पीस्किन पीडित किसानहरूलाई राहत वितरणको तयारीमा छौं भन्नुभयो । उहाँले अब निर्वाहमुखी नभई व्यवसायिक रूपले लाग्न अनुरोध गर्नु भयो । उहाँले लगनशील र धैर्यताका साथ व्यवसायिक कृषिमा लाग्न आग्रह गर्दै भन्नुभयो, ‘कृषि पशुको लागि पालिकाले २ करोड विनियोजन गरेकोमा कृषि एम्बुलेन्सका लागि २० लाख, कृषि उपज संकलन केन्द्रका लागि ५ लाख र अन्य रकम सबै वडामा वितरण गरिएको छ ।’
सो वडाका अध्यक्ष हरिश्चन्द्र थापाले वडामा भएको अगुवा कृषक भेलामा लम्पी स्किनबाट मरेका पशु चौपायलाई कम्तिमा ५ हजारका दरले राहत दिने प्रस्ताव राखेको जानकारी दिनुभयो । उहाँका अनुसार लम्पी स्किन रोगका कारण पशु चौपाए मरेका किसानलाई क्षतिपूर्ति स्वरूप केही राहत र रोगी पशुको उपचार गरेका किसानलाई खर्चको ५० प्रतिशत राहत दिने सम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ । यस्तै किसानले नै उपचार गरिरहेका पशुचौपायलाई ५० प्रतिशत खर्च सहयोग गर्ने वडाअध्यक्ष थापाले जानकारी दिनु भएको थियो । वडाअध्यक्ष थापाले वडास्तरीय कृषि सञ्जाल र वडाको बैठक बसेर राहत घोषणा गरिने जानकारी दिनु भयो ।
कार्यपालिका सदस्य मधुमाया बगालेले वडा नं. ९ लाई कृषिमा १४ लाख र पशुतर्फ ८ लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
पालिकास्तरीय किसान सञ्जालका अध्यक्ष भिष्मकान्त कुईकेल तथा किसानहरू तेजबहादुर गुरूङ, टिकाराम पौडेल, वसन्त पाण्डे, आनन्द सुवेदीलगायतले लम्पी स्किन पीडितलाई राहत दिन माग गर्नु भएको थियो ।
भेलामा किसानहरूले लम्पी स्किन रोगले केही पशुचौपाय मर्न थालेका र धेरै विरामी पर्दा पनि पशु प्राविधिकको सहयोग नपाएको गुनासो गरेका थिए ।
सो किसान भेलाले टिकाराम पौडेलको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको छ । मस्र्याङ्दी गाउँपालिका– ९ ले थोरै भए पनि राहतको घोषणा गर्दा किसानहरू खुसी भएको पौडेलले बताउनु भयो ।
गाउँपालिकामा आजका मितिसम्म लम्पि स्किन रोगका कारणले ३१ वटा पशु मरेको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख जिवनमाया ओलीले बताउनु उहाँका अनुसार वडानं– २ बाहेक सबै वडामा पशु मरेका छन् । उहाँले भन्नुभयो, ‘वडानं– १, ५ र ७ मा एक÷एक वटा, वडानं– ३ का छ वटा पशु लम्पिस्किन रोगका कारण मरेका छन् ।’ त्यस्तै, वडानं– ४ मा १० वटा, वडानं– ६ र ९ मा ८÷८ वटा तथा वडानं– ८ मा दुई वटा पशु मरेको जानकारीमा आएको उहाँको भनाइ छ ।
के हो लम्पी स्किन रोग ?
लम्पि स्किन रोग पशु चौपाया खासगरी गाईभैंसीलाई लाग्ने एकदमै सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ ।
सङ्क्रमित गाईभैंसीको ओसारपसार, सामुदायिक चरण क्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोग आदि कारणबाट पनि यो रोग सर्ने गर्छ ।
त्यस्तै, गर्मीयाममा लामखुट्टे र किर्ना आदिको संख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिने गरेको पशु चिकित्सकहरूको बताउने गर्दछन् ।
लम्पी स्किन रोग महामारीका रुपमा देशव्यापी फैलिएको छ । यो रोगको औषधि नभएको हुँदा भ्याक्सिन आनिवार्य छ ।
प्रकाशित मिति २०८० श्रावण ३२, बिहीबार ०९:४४ गते