१३८ जनाले सय दिन रोजगारी पाए मस्र्याङ्दीमा

१३८ जनाले सय दिन रोजगारी पाए मस्र्याङ्दीमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ १ गते शुक्रबार ०६:५३

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गत आर्थिक बर्ष २०७९/८० मा ८२ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको पालिकाले जनाएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत उनीहरूलाई रोजगारी दिइएको हो

लमजुङ– मस्र्याङ्दी गाउँपालिकामा १३८ जनाले एक सय दिन रोजगारी पाएका छन् । गत आब २०७९÷८० को अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत पालिकामा बेरोजगार सूचिमा दर्ता भएका मध्ये १३८ जनाले रोजगारी पाएका हुन् ।
पालिकामा सुचिकृत बेरोजगारको संख्या एक हजार ५१३ जना रहेको छ । तीमध्ये पालिकाका अति विपन्न घरपरिवारका सदस्यहरुलाई प्राथमिकता आधारमा १३८ जनालाई रोजगार दिइएको गाउँपालिकाले जनाएको छ । १३८ जनालाई एक सय दिनको रोजगार प्रदान गरिएको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार एक जनालाई दैनिक ५७ रुपैयाँका दरले एकमुष्ट ५७ हजार ७ सय रुपैयाँ बैंक खातामा जम्मा गरिएको छ ।
गत आब २०७९÷८० मा गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत ३२ वटा पुर्वाधार विकासका योजनाहरुमा काम भएको गाउँपालिकाका रोजगार संयोजक नन्दराज गुरुङले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत वडा नं– १ मा नाँयु फ्रेजो सडक सोलिङ ८५.५ मिटर र नाली ४० मिटर निर्माण भएको छ । जसमा २ लाख ८८ हजार ५ सय रुपैयाँ बजेट विनियोजन भएकोमा ५ जनाले रोजगार पाएका छन् ।
वडा नं– २ घनपोखरामा घिम्राङ सामुदायिक भवनको पर्खाल निर्माणका लागि ३ लाख ४६ हजार २ सय रुपैयाँ र तम्रो गोरेटोबाटो निर्माणका लागि ४ लाख ६१ हजार ६ सय रुपैयाँ बजेट विनियोजन भएकोमा १४ जनाले रोजगार पाएका छन् । वडा नं– ३ मा नयाँ गोरेटो बाटो निर्माण ७ सय ३३ मिटर र मर्मत ८ वटा, सुख्खा पर्खाल २ घनमिटर, सडक सोलिङ ५३.४ मिटर भएकोमा १८ जनाले रोजगार पाएको संयोजक गुरुङले बताउनुभयो । वडा नं– ४ मा नयाँ गोरेटो बाटो निर्माण, ग्याभिन जाली निर्माण, सडक सोलिङ र मेसिनरि पर्खाल निर्माण गरिएको छ जसमा २२ जनाले रोजगार पाएका छन् ।
त्यस्तै, वडा नं– ५ मा नयाँ गोरेटो बाटो निर्माण, सडक ग्राबेल, सडक सोलिङ, ग्याबिन जाली र नाली निर्माण गरिएको जसमा २० जनाले रोजगार पाएका छन् । वडा नं– ६ मा नयाँ गोरेटो बाटो निर्माण र सुख्खा पर्खाल निर्माण गरिएको छ जसमा ८ जनाले रोजगार पाएका छन् । वडा नं– ७ मा सडक सोलिङ, ग्याबिन जाली, नयाँ बाटो निर्माण गरिएको छ जसमा १४ जनाले रोजगार पाएका छन् । वडा नं– ९ मा सडक सोलिङ, नाली निर्माण, नयाँ गोरेटो बाटो निर्माण गरिएको छ जसमा २० जनाले रोजगार पाएका छन् । यसैगरी वडा नं– ८मा १७ जनाले रोजगार पाएका थिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गत आर्थिक बर्ष २०७९÷८० मा ८२ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको पालिकाले जनाएको छ ।

प्रकाशित मिति २०८० भाद्र १, शुक्रबार १८:५३ गते
हजुरको प्रतिक्रिया