सुन्दरबजार(लमजुङ)– HDCS– नमूना सामुदायिक अस्पतालमा पहिलो पटक Appendectomy शल्यक्रिया गरिएको छ । बेसीशहर नगरपालिका– १ निवासी किसान तामाङको शल्यक्रिया भदौ ३ गते गरिएको सो अस्पतालले बताएको छ ।
३१ वर्षीय तामाङको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको हो । एचडिसिएस नमुना सामुदायिक अस्पतालमा शल्यक्रिया गरिएको यो पहिलो पटक भएको सो अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार एपेन्डिसाइटिस भएर यस अस्पतालमा उपचारका लागि आउनु भएका बेसीशहर नगरपालिका– १ का ३१ वर्षका किसान तामाङको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको हो ।
उहाँले भन्नुभयो, ‘अस्पतालले पहिलो पटक एपेन्डिसाइटिसको सफलतापूर्वक आकस्मिक शल्यक्रिया गरी सफल उपचार गरिएको छ ।’ यो सफलताले हामीलाई थप उत्साहित बनाएको श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सो शल्यक्रिया गर्ने कार्यको नेतृत्व एमडिजिपी डा. रोशन यादवले लिनु भएको हो । उहाँका अनुसार शल्यक्रिया गर्नको लागि डा. विजय शाह, डा. आषिश गिरी, एनेस्थेसिया असिस्टेण्ट रामचन्द्र ढकाल, डा. याकुव गुरुङ र स्टाफ नर्स मुना राई सहभागी हुनुहुन्थ्यो ।
अचनाक पेट दुखेर अस्पतालमा उपचारको लागि पुग्नु भएका तामाङको तत्कालै शल्यक्रिया गरिएको थियो । एपेन्डिसाइटिस एक गम्भीर स्वास्थ्य समस्या भएकाले समयमै उपचार नगराए यसले ज्यान पनि लिन सक्ने अस्पतालका डा. रोशन यादवले बताउनुभयो । उहाँ अनुसार उक्त रोगको लक्षण देखिने वित्तिकै शल्यक्रिया गर्नुपर्ने हुन्छ । उहाँले भननुभयो, ‘एपेन्डिक्समा संक्रमण भएपछि यो रोग लाग्ने गर्छ ।’ पेटको दुखाई सहनै नसक्ने लामो समयसम्म दुःखीरहेमा एपेन्डिक्स फुट्ने संभावना हुने भएकोले छिट्टै शल्यक्रिया गर्नुपर्ने डा. यादवले उल्लेख गर्नु भएको छ ।
एपेन्डिसाइटिस हुँदा व्यक्तिको पेट पटक– पटक दुःखी रहन्छ । एपेन्डिसाइटिस हुने व्यक्तिमा भोक कम लाग्ने, वाकवाकी लाग्ने, पेट दुखिरहने र अनुहार रातो देखिने समस्या आउँछ । एपेन्डिसाइटिसको लक्षण थाहा भएमा छिटो शल्यक्रियाको आवश्यकता पर्छ ।
अब एचडिसिएस नमूना सामूदायिक अस्पताल सुन्दरबजारमा एपेण्डेक्टोमोसँगै हर्निया, हेमोराईड लगायतको शल्यक्रिया सेवा समेत गर्न सकिने अस्पतालले जनाइएको छ ।
प्रकाशित मिति २०८० भाद्र ५, मंगलवार ०८:३२ गते