र्‍यान्डम रिडर्सको पाँचौं अध्यक्षमा रुपिन्द्र सर्वसम्मत चयन : पलायो आशा

र्‍यान्डम रिडर्सको पाँचौं अध्यक्षमा रुपिन्द्र सर्वसम्मत चयन : पलायो आशा

नवराज पहाडी

@antaranganews

२०८० भदौ ६ गते बुधबार ०३:४०

पोखरामा स्थापना भई पठन संस्कृतिको विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको सोसाइटी कोरोनाको महामारीपछि सुस्ताएको थियो । अब त्यो कार्यक्रमले निरन्तरता पाउने भएको छ ।

कर्णप्रिय स्वरका धनी अध्यक्ष प्रभावी शिक्षणसँगै साहित्य सिर्जना, कला तथा सञ्चारका क्षेत्रमा समेत रहँदै आएको क्रियाशीलता लोभ लाग्दो छ ।

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीको नयाँ समिति साहित्य एवम् कलाकर्मी रुपिन्द्र प्रभावीको नेतृत्वमा सर्वसम्मत रूपमा चयन भएको छ । प्रभावी सोसाइटीको पाँचौं अध्यक्षका रूपमा चयन हुनुभएको हो ।
सोसाइटीका सदस्यहरूको भेलाले नयाँ कार्यसमिति गठन गरेसँगै सोसाइटीले आफ्नो यात्रालाई पुनः निरन्तरता दिने आशा पलाएको छ । नवनिर्वाचित अध्यक्ष प्रभावीको सक्रिय स्वभावले लामो समयदेखि सुस्ताएको र्‍यान्डम रिडर्स सोसाइटी पुनः जगाउनुहुने आशा पलाएको हो ।
यसअघि सोसाइटीको उपाध्यक्ष रहनुभएका उहाँ सो संस्थाको संस्थापक (२०६७ साल) समेत हुनुहुन्छ । नवनिर्वाचित अध्यक्षले स्थापना कालदेखि नै विभिन्न पदमा रही अनुभव सँगाल्दै आउनुभएको छ । गजल सन्ध्या, पोखराका पूर्वअध्यक्ष तथा ठाडोभाकाक लोककला प्रतिष्ठान नेपालको निवर्तमान महासचिवसमेत रहनुभएका उहाँ हाल शिवालय मा.वि., रूपा-२, थुम्की, कास्कीको प्रधानाध्यापक हुनुहुन्छ । शिक्षणसँगै साहित्य सिर्जना, कला तथा सञ्चारका क्षेत्रमा समेत उहाँको क्रियाशीलता लोभ लाग्दो छ । त्यसैले पनि उहाँको नेतृत्वकालमा संस्थाले नयाँ उचाइ लिने आम बुझाइ छ ।
संस्थालाई थप गतिशील बनाउने उद्देश्यले नव गठित कार्यसमितिको उपाध्यक्षमा अनुपमणि अधिकारी र गौरी तमु, सचिवमा नेपाल प्रकाश अधिकारी, कोषाध्यक्षमा ध्रुव केसी र सहसचिवमा दीपक पराजुली चयन हुनुभएको छ । समितिको सदस्यहरूमा अमृत सुवेदी, रामजीप्रसाद आचार्य, विष्णु सुवेदी, बाबुराम सुवेदी, दुर्गा राना र एलिसा विक चयन हुनु भएको छ । एक महिला सदस्य पछि थपिने सचिव नेपाल प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
त्यसै गरी, समितिको पहिलो बैठकले सल्लाहकारहरूमा पूर्वअध्यक्षत्रय गनेस पौडेल, उपेन्द्र पौडेल र केशवशरण लामिछाने तथा पूर्वकोषाध्यक्ष मीरा ढकाललाई चयन गरेको छ । सोही बैठकले निवर्तमान अध्यक्ष केशवशरण लामिछानेको संयोजकत्वमा हसिना बस्नेत र विजय भण्डारी सदस्य तथा संस्थाका अध्यक्ष र सचिव पदेन सदस्य रहने गरी पुस्तक छनोट समिति पनि गठन गरेको छ ।
पोखरामा स्थापना भई पठन संस्कृतिको विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको सोसाइटी कोरोनाको महामारीपछि सुस्ताएको थियो ।
यसै बिच, नयाँ कार्यसमितिले पहिलो कार्यक्रम यही भदौ ३० गते शनिबार डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ माथि गणेश कार्कीको परिचर्चासहित सञ्चालन गर्ने बताइएको छ । हरेक महिनाको अन्तिम शनिबार बिहान ८ बजे हिमालयन रिडर्स कर्नरमा कार्यक्रमलाई निरन्तरता दिनुका अलावा केही नयाँ योजनासहित समिति अघि बढ्ने संस्थाले जनाएको छ ।

प्रकाशित मिति २०८० भाद्र ६, बुधबार १५:४० गते
हजुरको प्रतिक्रिया