धादिङको गजुरी बस दुर्घटना : चार जनाको सनाखत

धादिङको गजुरी बस दुर्घटना : चार जनाको सनाखत

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ ६ गते बुधबार ०७:२५


बसका सहचालक रोशन तामाङ सकुशल छन् । तामाङले दिएको जानकारी अनुसार १९ जनाले काउण्टबाट र दुई जनाले ‘इ–सेवा’बाट टिकट लिएका थिए । कलंकीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका थिए ।

दुर्घटनामा दुई महिलासहित छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको थियो ।

गजुरी(धादिङ)– धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहरा नजिक भएको बस दुर्घटनामा मृत्यु हुने आठ जनामध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेमा म्याग्दी रघुगंगा– ३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी– १ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी– ८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी– ११ का अन्दाजी २४ वर्षीय सुमन थापा रहेको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा दुई महिलासहित छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनु भयो । उहाँका अनुसार सहचालक रोशन तामाङ सकुशल रहेका छन् । तामाङले दिएको जानकारी अनुसार १९ जनाले काउण्टबाट र दुई जनाले ‘इ–सेवा’बाट टिकट लिएका थिए । कलंकीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका थिए ।
काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको
दुर्घटनामा घाइते भएका मध्ये १३ जनाको उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक मिश्रको भनाइ छ । उहाँका अनुसार सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन् । उहाँले भन्नुभयो, ‘अन्य घाइतेमा एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।’
बस विपरीत दिशातर्फ खसेको छ । त्यसैले साँघुरो सडकमा ‘ओभर्टेग’ गर्ने क्रममा अनियन्त्रित भएको प्रहरीको अनुमान छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले दुर्घटनामा फसेकाहरूको उद्धार गरेका थिए ।
बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशंकामा खोजी जारी राखेको प्रहरी उपरीक्षक मिश्रले बताउनु भएको छ । उहाँका अनुसार बिहान सवा ११ बजे बस दुर्घटनामा परेको हो ।
उक्त बस बिहान ७ बजे काठमाडौंबाट छुटेको थियो ।

प्रकाशित मिति २०८० भाद्र ६, बुधबार १९:२५ गते
हजुरको प्रतिक्रिया