
जनकपुरधाम– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय भ्रष्टाचार र तस्करीको अखडा बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले भदौ ७ गते त्यस्तो चिन्ता व्यक्त गर्नु भएको हो ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताउनु भएको हो । नेता कोइरालाले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थीलगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाण दिने जिकिर गर्नु भयो ।
उहाँले अहिले सरकारले जुन प्रकारले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी लगायतका घटनामा छानबिन र सम्बन्धित निकायका पदाधिकारीलाई सरुवा गरिरहेको छ त्यसले भ्रष्टाचार र तस्करीलाई मलजल दिइरहेको संकेत देखिएको समेत उहाँको तर्क छ ।
अहिले देखिएका घटनाहरूले विश्वस्तरमा नेपालको साख गिर्दै गएको भन्दै उहाँले नेपालमा एकपछि अर्को अपराधको घटना आउन थालेको र अपराधको घटनामा विदेशी नागरिकसमेत देखिनुले अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको आफूले बुझेको उल्लेख गर्नु भयो ।
अपराध र भ्रष्टाचार रोक्न नेपाली कांग्रेसले राजनीतिकरूपमा अग्रसरता लिएर अघि बढ्नुपर्नेमा जोड दिदै नेता कोइरालाले राजनीतिकरूपमा अग्रसरता लिएर अघि बढ्ने काम कांग्रेसबाहेक अरूले गर्न नसक्ने दावी समेत गर्नु भयो ।
उहाँले भन्नुभयो, ‘जुन प्रकारले अहिले नेपालमा अपराधको काण्डैकाण्ड भइरहेको छ त्यसलाई आफूले अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको मैले पाएको छु, यसले विश्व स्तरमा नेपालको साख छोड्दै गएको छ, यसलाई नेपाली कांग्रेसले नै सुधार गर्नुपर्छ ।’
पत्रकारहरूको जिज्ञासामा उहाँले भन्नुभयो, ‘साढे तीन महिनामा सरकारको मूल्यांकन के गर्नु ? तर जुन रूपले प्रथम ग्रासरुट गइरहेको छ त्यसले नेपाल भ्रष्टाचार र अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको प्रष्ट हुन्छ । यसमा भारतीय, चिनियाँ तस्कर, देशीविदेशी र अध्यागमन विभाग लगायतका निकाय संलग्न छन् । त्यसलाई चिर्न सबैलाई मिलाएर अघि बढ्नुपर्छ र यो काम नेपाली कांग्रेसले नै गर्नुपर्छ ।’
एक अर्को प्रसंगमा नेता डा. कोइरालाले वर्गीय संगठनका सभापतिले कार्यसमिति भङ्ग गरेको र त्यसले गर्दा विभिन्न ९ वटा वर्गीय समानान्तर कमिटी गरिएको उल्लेख गर्नुभयो ।
सो पत्रकार सम्मेलनमा पार्टीको गुटगत चिरा गहिरिदै गएको प्रष्ट झलक देखिन्थ्यो । उक्त अवसरमा पार्टी जिल्ला सभापति योगेन्द्र पजियार, प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव, धनुषा क्षेत्र नम्बर २ का सांसद रामकृष्ण यादव लगायतका कोइराला पक्षका नेता तथा कार्यकर्ताहरूको सहभागी भएबाट त्यस्तो पुष्टि भएको हो ।
स्मरणीय छ, यसअघि उहाँले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताउनु भयो । नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै सोच्यौं हामीले ? भन्दै पार्टी नेतृत्व उपर प्रश्न उठाउनु भएका उहाँले भन्नुभयो, ‘नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी छ ।’
प्रकाशित मिति २०८० भाद्र ८, शुक्रबार ०७:१० गते