काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको छैठौँ बैठक तीन दिवसीय रुपमा भदौ ७ गते सम्पन्न भएको छ । बैठकले विभिन्न १६ वटा निर्णय र २२ बुँदे निर्देशन जारी गरेको छ ।
सो पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा भएको बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालसहित १३१ केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणाहरू बैठक समक्ष राख्नु भएको सो दलका महासचिव घनश्याम भूसालले बताउनु भयो । उहाँका अनुसार बैठकमा पार्टी अध्यक्ष नेपालले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उहाँले भन्नुभयो, ‘सम्मानित नेता झलनाथ खनालले राजनीतिक प्रतिवेदनलाई परिष्कृत गर्न आफ्ना धारणाहरू प्रस्तुत गर्नु भएको थियो ।’ पार्टी अध्यक्ष नेपालले सम्मानित नेता झलनाथ खनालले प्रस्तुत गरेका धारणाहरू पार्टीले आत्मसात गरेको, पार्टीलाई राजनीतिक तथा वैचारिक रुपले समृद्ध गर्न वैचारिक तथा राजनीतिक बहसहरू अनिवार्य हुने तथा बहस र सम्वादहरूले नै पार्टीलाई जीवन्त बनाउँने धारणा राख्दै पार्टीले सबै खाले विचारहरूको स्वागत गर्दछ ।’
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकले आउँदो माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
बैठकले महाधिवेशन अगाडि नै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने, भदौभित्र सबै जनवर्गीय सङ्गठनका अधिवेशन सम्पन्न गर्ने र आउँदो असोजमा मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा एमालेसँग अलग हुनुको औचित्य, अन्तर्राष्ट्रिय तथा भूराजनीतिक परिस्थिति, विद्यमान राजनीतिक अवस्थालगायत चर्चा गरिएको खतिवडाले बताउनुभयो । बैठकमा नेता झलनाथ खनालले राजनीतिक प्रतिवेदनमा असन्तुष्टि जनाउँदै फरक मतसहित जबजको चरण समाप्त भएको विचार व्यक्त गर्नुभएको थियो ।
सो बैठकले एमसीसी सम्झौताअनुसार कार्यान्वयन भए÷नभएको अनुगमन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्नुका साथै सन् १९५० को सन्धिमा भएको असमान सम्झौता खारेज गरी नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउन सरकारलाई आग्रह गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो । उहाँका अनुसार बैठकले रुस र युक्रेन युद्धले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक असर पारेकाले त्यसको अन्तका लागि सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ ।
उहाँले भन्नुभयो, ‘पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना, सङ्गठन विस्तारका लागि आवश्यक रणनीति, पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमा बैठकमा छलफल गरिएको छ ।’
बैठकमा पार्टीका उपाध्यक्ष एवम् नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले गठबन्धन सरकार सञ्चालनका राम्रा नराम्रा पक्ष, कार्ययोजना तथा सम्पादित कामहरूबारे बैठकमा जानकारी गराउनु भयो । साथै, पार्टीका उपमहासचिव एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि आप्mनो मन्त्रालयले गरेका काम र योजनाहरूबारे केन्द्रीय सदस्यहरूलाई जानकारी गराउनु भएको थियो ।
उपमहासचिव डा. गंगालाल तुलाधरले पार्टी कार्यालय सञ्चालनको कार्ययोजनाको विषयमा, उपमहासचिव डा. विजय पौडेलले पार्टीले आगामी दिनमा सञ्चालन गर्ने राष्ट्रिय अभियानका विषयमा र उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी तथा जनसंगठनका सबै तहका विभागहरू सञ्चालन गर्ने योजना तथा कार्यपद्धतिका विषयमा बैठकमा प्रस्तावहरू राख्नु भएको थियो । बैठकले प्रस्तुत प्रस्तावहरू सुझावहरू सहित पारित गरेको छ ।
सो बैठकको सञ्चालन महासचिव घनश्याम भूसालले गर्नु भएको थियो । प्रस्तुत छ, उक्त बैठकको निर्णय र निर्देशनको पूर्ण विवरण : Ssmajwadi 2
प्रकाशित मिति २०८० भाद्र ८, शुक्रबार २०:०७ गते