बाँझाखेत(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बेसीशहर नगर समितिले सो नगरपालिका– १० वडामा पार्टीको तदर्थ समिति गठन गरेको छ । रास्वपाका नगर सभापति कृष्णबहादुर राउतको अध्यक्षतामा भएको भेलाले वडाको तदर्थ समिति भदौ ९ गते गठन गरेको हो ।
सोही वडाको बेसीभाचोक स्थित सामुदायिक भवनको सभाहलमा आयोजित सो भेलाको रास्वपाका निर्वाचन क्षेत्र समितिका सदस्य एवम् बेसीशहर नगरपालिका– ६ का वडाध्यक्ष प्रकाश थापाले सञ्चालन गर्नु भएको थियो । सो क्रममा उहाँले स्वागत मन्तव्य सहित भेलाको उद्देश्यमा प्रकाश पार्नु हुँदै वडा समिति गठन प्रक्रियाका बारेमा जानकारी दिनु भएको थियो ।
भेलामा निर्वाचन क्षेत्र समितिका अर्का सदस्य एवम् सो दलको लमजुङ– काठमाडौं सम्पर्क समितिका संयोजक भोला शर्माले आज गठन हुने वडा समितिले वडामा छायाँ सरकारको रुपमा काम गरी खबरदारी गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले रास्वपा देशका लागि केही गर्नका लागि जन्मिएको पार्टी हो, त्यसैले यसप्रति विश्वास गर्नु होस्, हामी धोका दिने छैनौं भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
रास्वपाका सदस्य एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न रास्वपाको आवश्यकता छ भन्ने पुष्टि भइसकेको छ भन्ने उल्लेख गर्नु भयो । उहाँले २०४६ सालमा लौहपुरुष गणेशमानसिंहले प्रधानमन्त्री पदसमेत त्याग गरेर कृष्णप्रसाद भट्टराईलाई दिएको स्मरण गर्नु हुँदै आजका नेताले प्रधानमन्त्री हुनका लागि कति मरिहत्ते गर्ने गरेका छन् ? भन्दै त्यसको कारण भ्रष्टाचारमा लिप्त हुनु हो भन्नुभयो । उहाँले आफूले सुशासनका पक्षमा कलम चलाउदा एक्लो बृहस्पतिको जस्तो भएकोले बेला बेलामा निरिह प्रतीत हुने र एक्लो आवाज नसुन्ने स्थिति भएको हुँदा समूहको खाँचो महसुस गरी आफूले रास्वपा रोजेको जानकारी दिनुभयो ।
सो अवसरमा बेसीशहर नगरपालिका– ६ का वडासभापति चेतबहादुर भण्डारीले यसभन्दा अघि आफू आवद्ध रहेको पार्टीले हामी कार्यकर्ताहरूलाई भरियामात्र बनाउने, हाम्रा कुरा केही नसुन्ने र नेताहरूको आदेश मात्र मान्न बाध्य गराएको कारणले आफूले स्वतन्त्र पार्टी रोजेको उल्लेख गर्नु भयो ।
यसैगरी, सोही वडा चनौटे निवासी होमबहादुर राउतले यसअघिको पार्टीमा हामीले राखेका मागहरूको पटक पटक वेवास्ता गर्दै हामीलाई तिरस्कार गरेको कारणले हामीले नयाँ बाटो रोज्दै स्वतन्त्र पार्टी अंगालेका हौं भन्नु भयो ।
बेसीशहर नगरपालिका– ८ का सभापति धु्रव ढकालले देशमा व्याप्त बेथितिको अन्त्य गर्नका लागि आफू यो पार्टीमा लागेर वडासभापति भएको उल्लेख गर्नु भयो । त्यस्तै, पूर्णबहादुर पौडेलले आजसम्मका नेताहरूले आफू र आफ्नो घर परिवारमात्र सुधार गरे देश बिगारे, हामी गरिबको कुरा सुनेनन् भन्नुभयो । उहाँले भूकम्पको बेलामा हाम्रै गाउँमा नेताका नजिक हुनेले नभत्केको घरको पनि बनाउने खर्च पाए तर हामी कोही नभएकाले घर पूरै ध्वस्त हुँदा पनि सरकारले दिने घर बनाउने खर्च पाउन सकेनौं स्वतन्त्र पार्टी त्यस्तो नहोस् भन्नुभयो । यसैगरी, कृष्ण परियारले यसअघिको पार्टीका नेताले हामीलाई हतियार मात्र बनाउने काम गरे, हाम्रा लागि केही गरेनन् त्यसैले त्यस्तो पार्टीमा बस्नुको औचित्य नदेखेर स्वतन्त्र पार्टीमा प्रवेश गरेको उल्लेख गर्नु भयो । त्यस्तै, विष्णुमाया न्यौपानेले महिलाका समस्या ज्यूँका त्यूँ रहेका छन्, अबका दिनमा त्यस्तो नहोस् भन्ने चेतावनी दिदै शुभकामना दिनु भएको थियो ।
भेलाद्वारा छ जना नगरसदस्य चयन गर्नुका साथै सुलजङ्ग तामाङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
समितिको उपसभापतिमा कृष्ण परियार, सचिव निवास घिमिरे, सदस्यहरूमा बलबहादुुर राना, चन्द्रबहादुर कार्की, प्रित्तम गुरुङ, विष्णुमाया न्यौपाने, कुलबहादुर तामाङ, डम्बरजङ्ग गुरुङ, दुर्गाबहादुर बसौला र कृति खत्री चयन हुनुभएको छ ।
सो अवसरमा कार्यक्रमका बयोबृद्ध अतिथि/अभिभावक ९५ वर्षीय खड्गबहादुर घिमिरेले नवनिर्वाचित वडाका पदाधिकारी तथा सदस्यहरूलाई रातो टीका पहिरएर आर्शीवाद सहित बधाई दिनु भएको थियो ।
प्रकाशित मिति २०८० भाद्र ९, शनिबार १९:३० गते