काठमाडौँ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’को क्षमतामा प्रश्न उठिरहेको बेलामा उसले आफ्नो सक्रियता ह्वात्तै बढाएको छ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे अनुसन्धान गरिरहेको अनुसन्धानको क्रममा ब्यूरोको टोलीले काठमाडौँ उपत्यकाका विभन्नि १० ठाउँमा छापा मारेसँगै भदौ ११ गते त्यस्तो खुलासा भएको हो ।
सो सुन तस्करी प्रकरणमा अहिलेसम्म १० ठाउँमा छापा मारेको छ । परिणाम स्वरुप चिनियाँ नागरिक ३ जनाको मुख्य भूमिका देखिन आएको छ । ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग र ‘अलि’ भनेर चिनिने ली वेन सुङ्ग र जिक्वान लिन अहिलेसम्मको अनुसन्धानबाट मुख्य भूमिकामा देखिएको अनुसन्धान अधिकृत बताउँछन् ।
राजस्व अनुसन्धान विभागले पनि तस्करले संचालन गरेको टोखास्थित सुन गाल्ने कारखाना र गोदामहरूमा छापा मारेको थियो ।
आरोपीत चिनियाँहरूले स्मार्ट वाच, रेजर र ब्रेक प्याडमा लुकाएर कार्गोको सामानको रुपमा सुन ल्याउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । दुबई र हङकङबाट सुन काठमाडौँमा ल्याएपछि उनीहरूले इलेक्ट्रिक सामानबाट निकालेर गाल्ने र भारतमा पठाउने गरेको अनुसन्धानबाट खुलेको हो ।
‘काठमाडौँमा सञ्चालित कारखानामा सुनलाई आधा केजी र १ केजीको बिस्कुट आकारमा बनाउने गरेको देखिन्छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘बिस्कुट आकारको सुन तस्कर समूहले भारतमा पठाउने गरेको भेटिएको छ ।’
‘रेडी ट्रेड प्राली’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट बरामद सुन संगठित तरिकाले तस्करी भएको भन्दै विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सिआईबीलाई हस्तान्तरण गरेको थियो । ब्यूरोले अनुसन्धान सुरु गरेपछि चिनियाँ नागरिक बस्ने डेरा र गोदामसहित १० ठाउँमा छापा मारिएको अनुसन्धान संलग्न एकजना अधिकृतले जानकारी दिएको छ ।
सुन तस्करी काण्डमा संलग्नहरूमध्ये हालसम्म पक्राउ पर्नेहरूमा रामकुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली– नेङकाई, याओ पुचेङ्ग र ली वेन सुङ्ग रहेका छन् ।
प्रकाशित मिति २०८० भाद्र १२, मंगलवार ०९:३४ गते