काठमाडौं– नेपालको बहुचर्चित सुन काण्डमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका पुत्र राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । उनलाई प्रहरीले भदौ १३ गते पक्रेको हो ।
सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले राहुल आफ्नो नियन्त्रणमा रहेको जानकारी दिनु भएको छ ।
‘एसपी अधिकारीले भन्नुभयो, ‘हामीले उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौं ।’ उहाँका अनुसार उनको पाँच दिनका लागि अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको इलेक्ट्रिक सिगरेट (भेप) साटेर सुन बेचबिखन गर्ने समूहसँग महराको साँठगाँठ रहेको आरोप छ ।
इलेक्ट्रोनिक भेप प्रकरणमा राहुलका पिता कृष्णबहादुर महरालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने आवाज उठिरहेको छ ।
स्मरणीय छ, राहुल आफैंले सिआइबी जान लागेकोबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । उनले सामाजिक सञ्जालमा ‘हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सिआइबीमा उपस्थित भै अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु ।’
६० किलो सुन प्रकरणमा थप दुई व्यक्ति पक्राउ :
यसैबीच, आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिन्धुपाल्चोकका किशोर बस्नेतलाई पक्राउ गरिएको प्रहरीका केद्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले बताउनु भएको छ ।
प्रवक्ता कडायतका अनुसार विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा कनेक्सन देखिएकाले उनलाई नियन्त्रणमा लिएका हौं । अहिले उनको भूमिका खुलिसकेको छैन । उहाँले भन्नुभयो, ‘नेपाल आएको सूचना पाएपछि हामीले उनलाई एयरपोर्टबाटै पक्राउ गरेका हौं ।’
आज दिउँसो प्रहरीले काठमाडौंबाट पाल्पाका गणेश पौडेललाई समेत पक्राउ गरेको थियो ।
योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।
स्मरणीय छ, सुन प्रकरणमा भारतमा पनि प्रहरीले अपरेसन चलाएपछि बस्नेत नेपाल आएका थिए ।
प्रकाशित मिति २०८० भाद्र १३, बुधबार १९:१८ गते