विराटनगर– मोरङमा १३ वर्षीया बालिका आमा बनेकी छन् । आठ महिनाअघि गर्भवती बनेकी बालिकाले छोराको जन्म दिएकी हुन् ।
एक बालकसँगको शारीरिक सम्पर्कबाट उनी आमा बनेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताउनु भयो । उहाँका अनुसार विराटनगरकै सुविधा सम्पन्न अस्पतालमा ‘नर्मल डेलिभरी’ (सामान्य प्रसूति) बाट ती बालिका आमा बनेकी हुन् । उहाँले भन्नुभयो, ‘बालिकाले बिहान २.७ किलोग्रामको बच्चा जन्माएकी हुन्, बालिकाले पेट दुखेको महसुस गरेपछि अभिभावकले चेकजाँचका लागि भदौ १२ गते अस्पताल भर्ना गरेका रहेछन् ।’
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गत पुसमा १६ वर्षीय बालकसँग बालिकाको शारीरिक सम्पर्क भएको खुलेको छ । परीक्षण गराउँदा गर्भ रहेको पत्ता लागेको थियो ।
आमा तथा बच्चा दुवैको अवस्था सामान्य रहेको र अस्पतालले डिस्चार्ज दिइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका र उनले जन्माएको शिशुलाई संरक्षण गृहमा राखिएको छ ।
कोशी अस्पताल विराटनगरका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अशोक मेहताले अहिलेको खानपान तथा वातावरणको असरका कारण बालिकाहरूमा सानै उमेरबाट महिनावारी सुरु हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो ‘खानपान र वातावरणको प्रभावका कारण हर्मोनहरू विकास भएर चाँडै महिनावारी सुरु हुन थालेको छ, कतिपयमा ११ वर्षकै उमेरमा महिनावारी हुने गरेको पाइन्छ ।’ महिनावारी सुरु भएपछि शारीरिक सम्पर्क गर्दा गर्भ बस्ने डा. मेहताको भनाइ छ ।
उहाँका अनुसार १८ वर्ष भन्दा कम उमेरमा सन्तान जन्माउँदा महिलामा स्वास्थ्य सम्बन्धी अनेक समस्या देखा पर्छ । डा. मेहताले भन्नुभयो, ‘१८ वर्ष पूरा नभइकन महिलाको शारीरिक तथा मानसिक अवस्था परिपक्व भइसकेको हुँदैन, त्यो बेलामा गर्भधारण गरेर बच्चा जन्माउनु एकदमै जोखिमपूर्ण हुन्छ ।’ उमेर पुगिसकेपछि भने महिलाहरूले स्वस्थ्य बच्चा जन्माउन सक्ने र जोखिम पनि कम हुने हुन्छ ।
डीएसपी दाहालका अनुसार लामो समयदेखि बालिकाको महिनावारी रोकिएको र उनी गर्भवती भएको थाहा नभएको अभिभावकले बताएका छन् । उहाँले भन्नुभयो, ‘एक्कासी पेट दुखेको महसुस गरेपछि अस्पताल लगेको पाइयो, ‘परीक्षण गराउँदा मात्रै गर्भ रहेको खुलेको जानकारी अभिभावकले गराएका छन् ।’
बालिकालाई गर्भवती बनाउने बालकलाई नियन्त्रणमा लिएर ‘बाल निगरानी कक्ष’मा राखी घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि बालकविरुद्ध बालबालिका सम्बन्धित ऐन २०७५ अनुसार बाजबिच्जाइँ अन्तर्गतको जबरजस्ती करणी मुद्दा चलाउन आज भदौ १५ गते अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी दाहालको भनाइ छ ।
पीडित र पीडक दुवैको पहिचान गोप्य राखेर प्रहरीले डीएनए परीक्षणको तयारी पनि गरेको बताइन्छ ।
स्मरणीयछ, सर्वोच्च अदालतले केही हप्ता अघि सहमतिमा हुने शारीरिक सम्पर्कलाई बलात्कार भन्न नमिल्ने भन्ने व्याख्या गरिसकेको छ । तर प्रहरी भने सहमतिमा भएको शारीरिक सम्पर्कलाई पनि ‘जबरजस्ती करणी मुद्दा चलाउन’ उद्दत देखिन्छ ।
प्रकाशित मिति २०८० भाद्र १५, शुक्रबार १९:४२ गते