१६औं पुस्तकालय दिवसमा अन्तर मावि निवन्ध लेखन प्रतियोगिता

१६औं पुस्तकालय दिवसमा अन्तर मावि निवन्ध लेखन प्रतियोगिता

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ १५ गते शुक्रबार ०८:३९

कोड नंबर राखेर निर्णायकहरूलाई मूल्यांकनका लागि दिइएको थियो । नतिजा लिएर उहाँहरू कार्यक्रम स्थलमा आउनु भएपछि यो यो कोड नंबरले यो यो स्थान हासिल गर्यो भन्नुभएपछि त्यो कोड नंबरको नाम र स्कूल उहाँहरूलाई बताएपछि मात्र निर्णायकहरूले पुरस्कृत व्यक्ति र विद्यालय थाहा पाउनु भएको हो ।

विद्याविकास आमाविका अपूर्वराज पहाडी पहिलो

बेसीशहर– लमजुङमा १६औं राष्ट्रिय पुस्तकालय दिवस एक विशेष कार्यक्रमका साथ मनाइएको छ । बेसीशहर नगरपालिका– ८ स्थित लक्ष्मीनारायण सामुदायिक पुस्तकालयद्वारा आफ्नै सभाहलमा आयोजित उक्त कार्यक्रममा निवन्ध लेखन प्रतियोगिताका साथ दिवस भदौ १५ गते मनाइएको हो ।
पुस्तौं पुस्तामा पुस्तकालय विषयमा गरिएको निवन्ध लेखन प्रतियोगितामा स्थानीय विद्या विकास आमाविका छात्र अपूर्वराज पहाडी पहिलो भए । प्रतियोगिताका सहभागीहरूलाई एक घण्टाको समय दिएर तत्कालै निवन्ध लेख्न लगाइएको थियो ।
सो पुस्तकालयका अध्यक्ष नाराइनबहादुर सुयलको अध्यक्षतामा भएको जिल्लाव्यापी अन्तर मावि निवन्ध लेखन प्रतियोगिताका निर्णायक संयोजक साहित्यकार शालिग्राम अधिकारीले निवन्ध लेखनको नीति नियम र पुरस्कृत गरिने विधिका बारेमा जानकारी दिनु भएको थियो । त्यस्तै, पुस्तकालयका उपाध्यक्ष सुशीलचन्द्र अधिकारीले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा पुस्तकालयका सल्लाहकार समितिका संयोजक तेजनारायण अधिकारी, वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे लगायतले पुस्तकालयका दिवसका बारेमा प्रकाश पार्नु हुँदै लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले गरेका राम्रा कार्यक्रमहरूको व्यख्या तथा विश्लेषण गर्नु भएको थियो ।
प्रतियोगितामा विद्या विकास आमाविका छात्र अपूर्वराज पहाडी पहिलो, मनकामना बोर्डिङ स्कूलका प्रतीक अधिकारी दोस्रो, सोही विद्यालयकी मिष्मा तिवारी तेस्रो तथा युनिभर्र्सल एकेडेमीका आयुष केसीले सात्वना स्थान हासिल गरेको निर्णायक समितिका संयोजक शालिग्राम अधिकारीले नतिजा घोषणा गर्नु भएको थियो । सो प्रतियोगितामा ९ माविका १७ जनाले भाग लिएको सो कार्यक्रमको पुस्तकालयका प्रमुख मधुसुधन अधिकारीले बताउनु भयो । उहाँका अनुसार उत्तर पुस्तिकामा कोड नंबर राखेर मूल्यांकनका लागि निर्णायकहरूलाई दिइएको थियो । अधिकरीले भन्नुभयो, ‘कार्यक्रममा पुगेपछि निर्णायकहरू यो यो कोड नंबरले यो यो स्थान हासिल गर्यो भन्नु भएपछि त्यो कोड नंबरको नाम र स्कूल मैले नै झिकेर उहाँहरूलाई यो, यो हो भनेर बताएपछि पुरस्कृत व्यक्ति र विद्यालय उहाँहरूले थाहा पाउनु भएको हो ।’ उहाँले थप भन्नुभयो, ‘अन्यथा ०.६ अंकले फरक परेको तेस्रो र सान्त्वनाको अंकमा सायद एउटै विद्यालयका छात्रछात्राले दोस्रो र तेस्रो स्थान हासिल गर्न कठिन हुन्थ्यो ।’
सो अवसरमा विजयी छात्रछात्राहरूलाई पुस्तकालयका अध्यक्ष सुयल, निर्णायक समितिका संयोजक शालिग्राम अधिकारी, पुस्तकालयका सल्लाहकार तेजनारायण अधिकारी, वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे उपाध्यक्ष सुशीलचन्द्र अधिकारीलगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको लक्ष्मीनारायण सिकाई केन्द्रकी सहजकर्ता कान्ता घिमिरेले बताउनु भयो । उहाँका अनुसार पुरस्कृत हुनेहरूलाई क्रमशः तीन, दुई, एक हजार पाँच सय र एक हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो कार्यक्रमको सञ्चालन पुस्तकालयमा महासचिव अमृतबहादुर थापाले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० भाद्र १५, शुक्रबार २०:३९ गते
हजुरको प्रतिक्रिया